coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रियुगा बसपार्कमा ‘वेटिङ सेड’ निर्माण

बसपार्कमा भर्खरै निर्माण गरिएको वेटिङ सेड प्रतिक्षालय । तस्विर : नागरिक

उदयपुर – उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा बसपार्कमा आधुनिक तरिकाको वेटिङ सेड (यात्रु प्रतिक्षालय) निर्माण सम्पन्न भएको छ। त्रियुगा नगरपालिका १२ को त्रियुगा नदी किनारस्थित नयाँ बसपार्कमा सहरी विकास डिभिजन कार्यालय उदयपुरको लगानीमा सुविधायुक्त प्रतिक्षालय निर्माण भएको हो। 

बिभिन्न ठाउँ जानेआउने यात्रु गाडी चढ्नुअघि र ओर्लिएपछि थकाई मार्न तथा गाडी कुर्न सहज बनाउने उदेश्यले प्रतिक्षालय सेड निर्माण गरिएको हो। प्रतिक्षालय बनेपछि यात्रुलाई घाम पानीबाट बँच्दै गाडी कुर्न, आफन्त भेटघाट गर्न सहज भएको सहरी विकास डिभिजनका इन्जिनियर ब्रम्हदेव चौधरीले बताए। इन्जिनियर चौधरीका अनुसार प्रतिक्षालय ठेक्का प्रणालीबाट निर्माण गरिएको हो। 

१ करोड ४५ लाख लागत इस्टीमेट रहेको नाला र अन्य कामसहितको प्रतिक्षालयको  निर्माण कार्य बोलपत्र घटाघट प्रक्रियाद्वारा १ करोड हाराहारी लागतमा निर्माण गरिएको हो। चालु आर्थिक वर्षको योजना अन्तर्गत निर्माण गरिएको सेडसँगै लगभग ४ सय मिटर नाला पनि बसपार्क क्षेत्रमा निर्माण भएको छ। बसपार्कको पश्चिम र दक्षिणतर्फ नाला र कल्भर्ट निर्माण गरिएको तथा २ वर्षअघि निर्मित टिकट काउन्टर भवनलाई प्लास्टर र रंगरोगन पनि सोही योजनाभित्र रहेर गरिएको निर्माण कम्पनी धनसुना कन्स्ट्रक्सनका सञ्चालक मनदिप राईले बताए। 

नाफा कम भएपनि आफ्नो क्षेत्रको बसपार्क भएका कारण इमान्दार भएर निर्माण कार्य सम्पन्न गरेको राईले बताए। ‘गाईघाटलाई अति जरुरी रहेको बसपार्क आफ्नै ठाउँ भएकाले नाफा लिनुभन्दा काम गर्नेतर्फ ध्यान दिएर घटी लागतको ठेक्का लिएको हुँ’ राईले भने ‘आफ्नो बजारको बसपार्क राम्रो, दिगो र व्यवस्थित होस् भनेर लागत इस्टीमेटभन्दा झण्डै ५० लाख कम मूल्यमा जिम्मा लिएर निर्माण कार्य सम्पन्न गरियो।’ लागत घटाएर ठेक्का लिए पनि काम ठोस रुपले गरेको उनको दाबी छ।

आधा दशकअघिदेखि सञ्चालनमा आएको नयाँ बसपार्कको संरचना अझै पूर्ण हुन सकेको छैन। नयाँ बसपार्क भएकाले वर्षेनी सहरी विकास डिभिजन र नगरपालिकाले लगानी गर्दै आईरहेका छन्। बसपार्कलाई व्यवस्थित गर्न वर्षेनी करोडभन्दा बढी रकम छुट्याएर क्रमागत योजना सञ्चालन गरिदै आएको इन्जिनियर चौधरीले बताए। उनका अनुसार त्रियुगा नदी किनारमा निर्माण गरिएका कारण बसपार्कलाई खोलामा बाँध बाँध्ने, नाला तथा कल्भर्ट निर्माण गर्ने र दैनिक, रात्री गाडीलाई लामो र छोटो दूरका छुट्टाछुट्टै टिकट हाउन्टर बनाउनुपर्ने आवश्यक्ता छ। 

हालसम्म छानावाल ३ वटा काउन्टर भवन बनाइएको छ भने एउटा सार्वजनिक शौचालय निर्माण गरिएको छ। बसपार्कको दक्षिणतर्फ नदी नियन्त्रण गर्न बाँध निर्माण गरिए पनि थप लगानीको आवश्यक्ता रहेको हिमाली यातायात व्यवसायी संघ गाईघाटले जनाएको छ। त्रियुगा बसपार्कसँगै बैकल्पिक लोकमार्गअन्तरगत पर्ने बरुवा बसपार्कको पनि निर्माण थालिएका कारण बजेट बाँडिएर रकम अपुग हुने गरेको संघले जनाएको छ। यो वर्ष पनि सहरी डिभिजनबाट विनियोजित ४० लाख रकम बरुवा बसपार्कका लागि खर्च हुने भएपछि त्रियुगा बसपार्कको थप काम गर्न समस्या परेको संघको भनाई छ। 

प्रकाशित: १६ फाल्गुन २०७४ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App