coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

हरिले लक्ष्य भेट्टाएनन्

काठमाडौं- रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउने नेपाली धावक हरिकुमार रिमालको लक्ष्य पूरा हुन सकेन। बुधबार रियो ओलम्पिक ट्र्याकमा हरिकुमारले ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए। उनले आफ्नै उत्कृष्ट समयलाई पनि भेट्टाउन सकेनन्। उक्त इभेन्टमा साबिक विजेता मोहमद फराहसँगै एउटै हिटमा बुधबार साँझ दौडेका हरिले १४ मिनेट ५४.४२ सेकेन्डबाट दुरी पार गरेका थिए। नेपाली सेनाका धावक उनको उत्कृष्ट समय १४ मिनेट ३२.१८ सेकेन्डको हो।

यस मध्यम दुरीमा सेनाकै राजेन्द्र भण्डारीको नाममा १४ मिनेट ०१.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ। सन् २००४ एथेन्स ओलम्पिकमा राजेन्द्रले उक्त कीर्तिमान बनाएका थिए। 

हरिको हिटमा शीर्ष स्थानमा रहेका इथोपियाका हागोस गिम्ब्रिवेटले १३ मिनेट २४.६५ सेकेन्डमा दौड पूरा गरेका थिए। हिटको तेस्रो स्थानमा रहँदै अघिल्लो चरण पुगेका फराहको समय १३ मिनेट २५.२५ सेकेन्डको छ। फराहले केही दिनअघि ओलम्पिकमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।

हरिले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) ५ हजार मिटरमा कांस्य पदक जितेका थिए। त्यही सफलताका आधारमा उनी नेपालको तर्फबाट ओलम्पिकलाई छनोट भएका हुन्। ओलम्पिकमा युनिभर्सियाली प्लेससमा उनको सहभागिता भएको हो।

हरिले राष्ट्रिय कीर्तिमानका लागि दौड्ँदा अनपेक्षित नतिजा आएको बताए। उनले खेलपछि भने, 'राष्ट्रिय कीर्तिमान टार्गेट गरेर दौडें। व्यक्तिगत प्रदर्शनका लागि पनि ध्यान दिइँन। मेरो दिमाग राष्ट्रिय कीर्तिमानमै केन्द्रित भयो। त्यसले गर्दा ४–५ ल्यापपछि पेस सुधार्न नै सकिएन।'

उनका प्रशिक्षक पुष्पराज ओझाले भने, 'आफ्नो गतिमा दौडिएको भए हरिले व्यक्तिगत प्रदर्शन सुधार्न सक्थे। तर राष्ट्रिय कीर्तिमानमा केन्द्रित हुँदा दबाबमा परे। विश्वका उत्कृष्ट धावकहरुसँग दौडँ्दा उनीहरूको पेसमा जान सकिँदैन। उसले कोसिस गरेको हो तर सकेन।'

५ हजार मिटरका कीर्तिमानी पूर्व धावक राजेन्द्र हरिले आफ्नो पेसको जज गर्न नसकेको अनुमान गर्छन्। 'उसको हिटमा विश्वकै उत्कृष्ट धावकहरू थिए। हरिले उनीहरूलाई पछ्याउन पनि सकेनन्। आफ्नो पेसको पनि जज गर्न सकेन,' उनले भने, 'आफूभन्दा स्तरमा थोरै माथिका खेलाडीसँग दौड्न पाएको भए सम्भवतः उसले आफ्नो समयमा सुधार गर्न सक्थ्यो। मुख्यतः खेलाडीले आफ्नो पेस जज गर्न सक्नुपर्छ। सायद हरि त्यसमै चुकेको हुनुपर्छ।'

राजेन्द्रले हरिबाट व्यक्तिगत उच्च प्रदर्शनको आशा गरेको सुनाउँछन्। उनले भने, 'राष्ट्रिय कीर्तिमान तोड्दा म खुसी हुन्थे तर अहिले नै तोड्लान् भन्ने लागेको थिएन। अनुभवी र बलिया खेलाडी हुन्। नियमित अभ्यास पनि थियो त्यही आधारमा उनको आफ्नै प्रदर्शन सुधार्न सक्छन् भन्ने आशा राखेको थिएँ।'

ठूला प्रतियोगितामा हाम्रो जस्तो देशका खेलाडीले उच्च मनोबल साथ उत्रनुपर्ने राजेन्द्रको सुझाव छ। 'हामी पदक जित्न त्यहाँ पुग्ने होइन। सकेसम्म राम्रो गर्छु भन्ने हो। राष्ट्रिय कीर्तिमानको लक्ष्य बनाएरै जाने हो,' उनले अनुभव सुनाए, 'विश्वका च्याम्पियन खेलाडीको जमघट त्यहाँ हुन्छ। उनीहरूको हाउभाव, इक्विपमेन्ट, मसाजर देखेरै हामी नभर्स हुन्छौं। तर हामीले आफूलाई मानसिक रूपमा बलियो बनाउनुपर्छ। सबैले आफ्नो देशलाई प्रतिनिधित्व गर्ने हो। म पनि अरुभन्दा कम छैन भन्ने ठान्नुपर्छ। आफ्नो लक्ष्यमा दृढ रहनुपर्छ।'

धादिङको फुलखर्क गाविसमा जन्मिएका हरिको खेलजीवनको सुरुआत सेनामा प्रवेश गरेपछि मात्र भएको थियो। त्यसअघि गाउँमा फुटबल खेलेको अनुभव उनीसँग थियो। उच्च शिक्षाका लागि काठमाडौं आएपछि साथीहरूकै लहलहैमा सेनामा भर्ती हुन पुगे। त्यसपछि उनको खेलजीवनले औपचारिकता पाएको थियो।

हरिले दुई वर्षअघि ९१ औं मलेसियन ओपन एथलेटिक्स च्याम्पियनसिप अन्तर्गत ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए। त्यसै प्रतियोगिताको १० हजार मिटर दौडमा पनि उनी स्वर्ण जित्न सफल भएका थिए। हरिले बंगलादेशमा भएको ११ औं दक्षिण एसियाली खेलकुद, चीनमा भएको १६ औं र दक्षिण कोरियामा भएको १७ औं एसियाली खेलकुदमा पनि उनले अभुवन बटुलिसकेका छन्।

प्रकाशित: २ भाद्र २०७३ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App