coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेलटार जोड्ने चिसापानी – बंशिलाघाट सडक उदघाटन

चिसापानी–बंशिलाघाट सडक शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई।

खोटाङ – खोटाङको दक्षिणी क्षेत्र र तराई जोड्ने सडक निर्माण गरिएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारबाट बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डीको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाट जोड्ने २५ किलोमिटर सडक निर्माण गरिएको हो।

मौवाबोटे, पौवासेरा र दिप्लुङका स्थानीयले २०६८ सालमा निर्माण सुरु गरेको सडकलाई तत्कालिन सांसद बिशाल भट्टराईको पहलमा २०७१ सालमा छुट्टिएको ५ करोड बजेटबाट पूर्णता दिइएको स्थानीय यातायात व्यवसायी निश्चल खड्काले बताए।

बंशिलाघाटतर्फबाट ३० लाखको लागतमा ३ किलोमिटर ट्र्याक खोलिए पनि बजेट अभावमा अलपत्र परेको सडकलाई तत्कालिन सांसदले एउटा सडक वा पुल निर्माण योजना रोज्न पाउने प्रावधान अनुशार भट्टराईले चिसापानी–बंशिलाघाट सडक निर्माण गर्ने योजनालाई रोजेका थिए। नुनदेखि सुनसम्मका सामान खरिद बिक्रीका लागि पैदल हिँड्नुपर्ने रुटमा चिसापानी–दिप्लुङ–मौवाबोटे हुँदै बंशिलाघाट जोड्ने सडक बनेको हो। जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र खोटेहाङ गाउँपालिका भित्रिने र बाहिरिने एक मात्र नाकाका रुपमा रहेको बंशिलाघाटसम्म यात्रु तथा मालबाहक गाडी पुग्न थालेपछि स्थानीय हर्षित भएका छन्। ‘सडकले यस क्षेत्रका जनजीवनमा ठूलो राहत मिलेको छ,’ खड्काले भने, ‘खोटाङ र उदयपुर बाहेक भोजपुरबासी समेत यो सडकबाट लाभान्वित भएका छन्।’

दक्षिणी क्षेत्रका सर्वसाधारण बंशिलाघाटबाट डुंगा तरेर उदयपुरको बेलटार हुँदै पुर्वी तराई जाने आउने गरेका छन्। दुई खण्डमा बिभाजन गरेर निर्माण गरिएको सडक प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले मंगलबार उद्घाटन गरेका छन्। ५ करोडमा खुलेको सडकलाई यसपल्ट बराहपोखरी गाउँपालिकाले छुट्याएको २० लाखले मर्मत गरेर सञ्चालनमा ल्याइएको बराहपोखरी गाउँपालिकाकी उपप्रमुख गोमा मगरले बताईन्। सो सडक खण्डको चापखोरा–च्यांखुवा खण्डको काम सन्तोषजनक देखिए पनि च्यांखुवा–बंशिलाघाट खण्डको काम गुणस्तरहिन बनेको स्थानीयको गुनासो छ। चिसापानी–बंशिलाघाट सडक कालोपेत्रका लागि सर्भे एबं डिपिआरको काम सुरु भइसकेको छ।

उदयपुरतर्फ पनि सडक बनिसकेको अवस्थामा बंशिलाघाटमा पक्की पुल निर्माण भए बिकासमा कायपलट हुने स्थानीय बताउँछन्। सो स्थानमा पक्की पुल निर्माणका लागि पहल भइरहेको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए। ‘सुनकोसीको दुबै किनारसम्म सडक बनिसकेको छ,’ भट्टराईले भने, ‘अव पुल बन्ने बित्तिकै यातायात सेवा थप सहज हुने छ।’ बंशिलाघाटमा निर्माणाधिन झोलुंगे पुल म्याद गुज्रिदा समेत पूरा हुन सकेको छैन। १५ महिनामा पूरा गर्नेगरी निर्माण कम्पनी जगदम्बा र शंकरमाली जेभीले ठेक्का लिएको झोलुंगे पुल २०७२ साल असार ८ गते शिलान्यास गरिएको थियो।

बंशिलाघाट पौवासेरा, देबिस्थान, मौवाबोटे, चिसापानी, दिप्लुङ, डम्बर्खुशिवालय, काहुले लगायतका स्थानीयको गाउँ–शहर आउजाउ गर्ने मुख्य बाटो हो। घाटबाट दैनिक स्थानीयको बाक्लो ओहोर–दोहोर भइरहन्छ। जन्तेढुंगा र बराहपोखरी गाउँपालिकामा उत्पादित सुन्तला, अलैंची, अम्लिसो, तेजपात लगायतका उपज पनि सोही डुंगामार्फत बाहिरिने गरेको स्थानीय दिपक राईले बताए।
 

प्रकाशित: १६ फाल्गुन २०७४ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App