७ वैशाख २०८१ शुक्रबार
खेल

ओमरको सनसनी, लाभिलेनीको आँशु

रियो दी जेनेरियो- छोटो दुरीका नयाँ सनसनीपूर्ण धावक ओमार म्याकलियोडले १ सय १० मिटर हर्डल्समा पदक जितेर जमैकाको गौरव थप गरेको दिन मंगलबार रियो ओलम्पिकमा दर्शकको दुर्व्यवहारका कारण फ्रान्सका पोलभल्ट स्टार रेनाउड लाभिलेनीले आँसुका साथ प्रतिस्पर्धास्थल छोडेका छन्।

ओलम्पिक फुटबलमा पहिलोपल्ट स्वर्ण पदक जित्ने ब्राजिलको आधा आशा समाप्त भएको छ। आयोजकको महिला टोली सेमिफाइनलको पेनाल्टी सुटआउटमा स्विडेनसँग पराजित हुँदै बाहिरियो। बेलायतले भने सफलताको यात्रालाई निरन्तरता दिने क्रममा साइक्लिङमा थप दुई स्वर्ण पदक जित्यो। बेलायतका लागि लाउरा ट्रोट र जेसन केनीले स्वर्ण पदक जितेका थिए। मंगलबारका दुई स्वर्णपछि यी दुई खेलाडीको कुल पदकसंख्या १० मा ६ पुगेको छ।

२२ वर्षे म्याकलियोडले १ सय १० मिटरको दौडमा सुरुदेखि अन्तिमसम्म अग्रस्थानमा रहेर १३.०५ सेकेन्डबाट स्वर्ण हात परेका थिए। जमैकाले यो इभेन्टमा पहिलो ओलम्पिक स्वर्ण जितेको हो। क्युबामा जन्मिएका स्पेनी खेलाडी ओर्लान्डो ओर्टेगाले रजत  र फ्रान्सका दिमित्री बास्काउले कांस्य जितेका थिए। म्याकलियोडले आफ्नै देशका सुपरस्टार धावक उसेन बोल्टबाट प्रेरणा मिलेको बताए। पुरुष १ सय मिटरमा स्वर्ण जितिसकेका बोल्टसँगै कांस्य जितेका सेली आन फ्रासर प्राइसले बुधबार २ सय मिटरको सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

'उनीहरूले जहिले पनि देशलाई प्रतिनिधित्व गर्दा पदक जितेका छन्। उनीहरूलाई पछ्याउँदा आफूमा पनि त्यस्तै गर्ने प्रेरणा प्राप्त हुन्छ,' म्याकलियोडले भने, 'इमान्दारीपूर्वक भन्ने हो भने मलाई पनि बोल्टजस्तै सफल खेलाडी हुने रहर छ। विश्वको सबैभन्दा ठूलो प्रतिस्पर्धामा स्वर्ण जित्नुको मजा बेग्लै हुन्छ।'

रियो ओलम्पिकमा खेलभावनाका हिसाबमा भने मंगलबारको दिन निकै दुःखद रह्यो। फ्रान्सका लाभिलेनीलाई रजत पदक दिइने क्रममा रंगशालामा उपस्थित थोरै संख्याका दर्शकले निकै अभद्र शैलीमा दुर्व्यवहार गरे। स्तब्धपूर्ण नतिजा निस्किने क्रममा ब्राजिलका थिएगो ब्राज डा सिल्भाले स्वर्ण पदक जितेका थिए। लाभिलेनीलाई अघिल्लो दिन सोमबार पनि जम्प गर्ने क्रममा दर्शकले हतोत्साही पारेका थिए।

थिएगोलाई स्वर्ण पदक पहिर्‍याउने क्रममा ब्राजिली राष्ट्रिय गीत बजिरहँदा दर्शकको दुर्व्यवहारका कारण लाभिलेनीले आँसु रोक्न सकेनन्। विजेतालाई पुरस्कृत गरेपखि एथलेटिक्सका महान खेलाडीहरू सेवास्टिन को र सर्गेइ बुक्कासँगै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाचले २७ वर्षे फ्रान्सेली खेलाडीलाई सान्त्वना दिए।

'रेनाउड लाभिलेनीमाथि दर्शकको आश्चर्यजनक व्यवहार भयो। पदक लिइरहेका खेलाडमिाथि ओलम्पिकमा गरिने यस्ता व्यवहार स्विकार गर्न सकिन्न,' बाचले टि्वटरमा लेखेका छन्।

लाभिलेनीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै भने, 'त्यो अत्यन्तै निराशाजनक व्यवहार थियो। त्यहाँ फेयर प्लेको कुनै भावना थिएन।'

यसैगरी केन्याकी फेइथ किपिगोनले अन्तिम ल्यापमा गति बढाउँदै विश्व कीर्तिमानी खेलाडी इथियोपियाकी गेन्जेबे डिबाबालाई पछि पारेर १५ सय मिटर दौडमा स्वर्ण पदक जितिन्। अमेरिकाकी टि्रपलजम्प खेलाडी क्रिस्टियन टेलर र क्रोएसियाका डिस्कस थ्रो स्टार सान्द्रा पेर्कोभिकले ओलम्पिकमा आ–आफ्नो उपाधि रक्षा गरे। अमेरिकाका विल क्लायेले टि्रपलजम्पमा रजत पदक जिते। महिला लङजम्पमा रुसकी डार्या क्लिसिनाले बुधबारको फाइनलका लागि स्थान सुरक्षित गरिन्। डोपिङ प्रकरणमा सरकारकै समेत संलग्नता देखिएपछि रुसका थुप्रै खेलाडी रियोमा सहभागिताबाट वञ्चित हुँदा क्लिसिना रियो ओलम्पिकको ट्र्याक एन्ड फिल्डमा सहभागी एकमात्र रुसी खेलाडी हुन्। अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आइएएएफ) ले प्रतिबन्ध लगाए पनि विश्व खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस (कास) मा गरेको अपिल सफल भएपछि क्लिसिनाले रियोमा प्रतिस्पर्धाको मौका पाएकी थिइन्।

जिम्न्यास्टिकमा सिमोन बिलेसले चार स्वर्ण र एक कांस्य पदकसाथ रियो ओलम्पिकको यात्रा सम्पन्न गरिन्। 'ओलम्पिकमा पहिलो पटक सहभागिता जनाउँदा चार स्वर्णसहित पाँच पदक जित्न सकेकी छु। त्यसैले म पक्कै पनि उत्साहित छु,' अमेरिकी खेलाडीले भनिन्।

प्रकाशित: २ भाद्र २०७३ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App