८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश २ मा आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै

धनुषा – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार (आज) दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै छन्। संघीय समाजवादी फोरम र राजपाले ५/५ जना मन्त्रीको नाम टुंगो लगाएपछि आज मन्त्रिमण्डल विस्तार हुन लागेको हो।

दुवै पार्टीले २/२ जना मन्त्री र ३/३ जना राज्यमन्त्रीको नाम टुंगो लगाएका छन्। फोरमबाट ज्ञानेन्द्र यादव, शैलेन्द्र साह, योगेन्द्र यादव, सरोज सिंह र उषा यादवले आज पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री राउतका प्रेस सल्लाहकार आतिष मिश्रले बताए। शपथ ग्रहण कार्यक्रम आजका लागि तय गरिएको छ।

यता राजपाले आज शपथ लिने मन्त्रीको नाम सार्वजनिक गरेको छैन। राजपाको समर्थनमा फोरमले मुख्यमन्त्रीसहित ४ मन्त्रालय र राजपाले सभामुखसहित ३ मन्त्रालयको बाँडफाँड गरेका छन्।

फोरमबाट मुख्यमन्त्री राउत र अर्थ मामिलामन्त्री विजय यादव तथा राजपाबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा जितेन्द्र सोनलले मन्त्रालय सम्हालिसकेका छन्। राजपा अध्यक्षमण्डलका सदस्यबीच निर्वाचितलाई मात्र मन्त्री बनाउने वा समानुपातिक सांसदलाई पनि बनाउने भन्नेमा विवाद रहेको बताइन्छ। राजपाबाट नवलकिशोर साह, मनीष सुमन, जयनुल राइन र डिम्पल झा मन्त्रीको आकांक्षी छन्।

त्यस्तै, परमेश्वर साह, सुरिता साहलगायत सांसद राज्यमन्त्रीका आकांक्षी छन्। राजपा प्रदेशसभा सदस्य परमेश्वर साहले कसलाई सरकारमा पठाउने भन्ने विषयमा पार्टीले आज टुंगो लगाउने बताए।  (रासस)

प्रकाशित: १६ फाल्गुन २०७४ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App