coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

न्यु डायमन्ड र आर्मी अन्तिम चारमा

काठमाडौं – नेपाली महिला भलिबलको चर्चित टोली शिवम न्यु डायमन्ड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दोस्रो खेलसम्म विजयी अभियानलाई निरन्तरता दिँदै मंगलबार चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको समूह ‘ए’ मा मंगलबार न्यु डायमन्डले कलिला खेलाडीहरूको टोली ढोरपाटन स्पोटर्स क्लब तथा आर्मीले चितवनको पद्मोदय युथ क्लबलाई हराउँदै समूहको एक खेलअघि नै अन्तिम चारको टिकट काटेका हुन् । न्यु डायमन्डले सोमबार पद्मोदय तथा आइतबार आर्मीले ढोरपाटनलाई पराजित गरेका थिए।

समूहको अन्तिम खेलमा बुधबार सेमिफाइनल प्रवेश गरिसकेका न्यु डायमन्ड र आर्मीबीच हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ। यसै गरी लगातार दुई हार भोगेसँगै समूह चरणबाटै बाहिरिइसकेका ढोरपाटन र पद्मोदयले सान्त्वना जितको खोजीमा बुधबारै एक–अर्काको सामना गर्नेछन्।

सोझो सेटमा जित हासिल गर्ने क्रममा मंगलबार न्यु डायमन्डले ढोरपाटनमाथि २५–६, २५–१६, २५–१५ को नतिजा निकाल्यो । आर्मीले पनि पद्मोदयलाई २५–१०, २५–७, २५–१३ को सोझो सेटमै हरायो।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, एपिएफ र आर्मीले आआफ्नो समूहबाट क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्।

हेल्प नेपालले मंगलबार पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई २५–१२, २५–२३, २५–१४ को सोझो सेटमा हराउँदा पुलिसले काभ्रे जिल्ला भलिबल संघमाथि २५–१४, २५–१४, २५–९ को जित हासिल ग¥यो । यसै गरी एपिएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१५, २५–१२, २५–१४ को को नतिजामा पराजित गरेको थियो।

प्रकाशित: १६ फाल्गुन २०७४ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App