७ वैशाख २०८१ शुक्रबार
खेल

मार्टाको स्वर्ण जित्ने सपना अधुरै

रियो दी जेनेरियो- ब्राजिल महिला फुटबल टोलीकी कप्तान मार्टाको ओलम्पिकमा स्वर्ण जित्ने सपनालाई स्विडेनले असफल पारिदिएको छ। स्विडेनले बुधबार घरेलु मैदानमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो। ओलम्पिकको स्वर्ण पदकका लागि स्विडेनले जर्मनीसँग फाइनल प्रतिस्पर्धा गर्नेछ।

पाँचपटककी फिफा वर्ष खेलाडी मार्टा घरेलु रंगशाला माराकानामा पराजित भएपछि आँसु झार्दै मैदानबाट बाहिरिइन्। २००६ देखि २०१० सम्म लगातार फिफा महिला वर्ष खेलाडीको पुरस्कार जितेकी उनी चारपटक दोस्रो भएकी थिइन्। तर उनले बुधबार स्तब्धपूर्ण नतिजा सामना गर्नुपर्‍यो।

करिब ७० हजार दर्शक उपस्थित रंगशालामा घरेलु टोली पेनाल्टी सुटआउटमा पराजित भएपछि ब्राजिली समर्थक निराश बनेका थिए। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो। समूह चरणमा ब्राजिलले स्विडेनलाई ५–१ ले हराएको थियो। तर सेमिफाइनलमा भने स्विडेनले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित समयभित्र ब्राजिललाई गोल गर्न दिएन।

तर क्वार्टरफाइनलमा ब्राजिल सडन डेथमा अस्टे्रलियालाई ७–६ ले हराउँदै अगाडि बढेका ेथियो। अस्टे्रलियालाई हराउँदै सेमिफाइनलमा पुगेपछि मार्टाले करिअरमा महत्वपूर्ण सफलता पाउने विश्वास गरिएको थियो। तर उनको मुख्य प्रतियोगिताको उपाधि जित्ने महत्वाकांक्षा पनि तहसनहस भयो।

हारपछि ब्राजिलका प्रशिक्षक भाडाओले निराशाजनक अवस्थाको बयान गर्न कठिन भएको बताए। उनले भने, 'बयान गर्न गर्ने कुनै बाटो छैन  हामीले अनुभव गरिरहेको निराशाजनक क्षणको।'

ब्राजिलियन कप्तान मार्टा स्विडेनबाटै पछिल्लो चार वर्षयता व्यावसायिक फुटबल खेल्छिन्। उनलाई स्विडिस खेलाडीले सान्त्वना दिएका थिए। माराकाना मैदानको विशाल समूहले पनि आफ्नो पराजित घरेलु टोलीलाई सान्त्वना दिए। पेनाल्टी सुटआउटमा स्विडेनकी गोलकिपर नायिका बनिन्। उनी दुई प्रहार रोक्न सफल भइन्।

ओलम्पिकमा सर्वाधिक गोल गर्ने क्रिस्टियानी र एन्डरिजाको प्रहार गोलकिपर हिडभिग लिनडाहलले रोकेकी थिइन्। 

स्विडेनलाई ऐतिहासिक सफलता नजिक पुर्‍याउन लिजा डाहल्कभिस्टले निर्णायक गोल गरिन्। उनले गोल गरेपछि फाइनल पुगेको स्विडेनले ओलम्पिकमा पहिलोपल्ट कम्तीमा रजत पदक पक्का गरेको छ।

अर्को सेमिफाइनलमा जर्मनीले क्यानडालाई २–० ले हराउँदै दाबेदारी प्रस्तुत गरेको छ।

जितसँगै समूह चरणमा भोगेको हारको बदलासमेत लिएको छ जर्मनीले। ओलम्पिक महिला फुटबलको समूह 'एफ' मा क्यानडाले जर्मनीलाई २–१ ले हराएको थियो। बुधबार जर्मनीलाई फाइनलमा पुर्‍याउँदा प्रतियोगिताको सर्वाधिक गोलकर्ता मिलानिइ बिहरिन्जेर र सारा डाइब्रिटिजले गोल गरेका थिए।

माराकाना रंगशालामा ब्राजिली महिला फुटबल टोलीले दोस्रोपटक मात्र खेलेको थियो। यो मैदानलाई ब्राजिलको महत्वपूर्ण मैदानमा लिने गरिन्छ। मार्टाले उक्त मैदानमा टोलीले लय समाउने आशा थिइन्। तर फुटबललाई माया गर्ने देश ब्राजिलले निराशाजनक नजिता टार्न सकेन।

'महिला फुटबलका लागि यो भव्य क्षण थियो। यहाँ खेल्ने सबैको सपना हुन्छ,' ब्राजिली प्रशिक्षक भाडाओले भने, 'यो मैदान परम्पराले भरिएको छ। ब्राजिलका लागि यो संस्कृति हो। संकेत पनि हो। माराकाना भनेको ब्राजिल हो। ब्राजिल भनेको फुटबल हो। हामीले त्यो क्षण गुमायो। र, फाइनलमा पुग्न नसकेकोमा म क्षमा माग्न चाहन्छु।'

स्विडेनका प्रशिक्षक पिइए सुनडाहगीले जितलाई गर्वको पक्ष भएको बताए। सन् २००८ र २०१२ मा अमेरिकाले स्वर्ण पदक जित्दा नेतृत्व गरेका प्रशिक्षक लगातार तेस्रोपटक करिअरकै महत्वपूर्ण उपलब्धि नजिक पनि पुगेका छन्। पिइएले भने, 'यो धेरै भावनात्मक छ। चीन र लन्डन ओलम्पिकको फाइनलमा थिए। र सबैले राम्रो नतिजा आउछ भनेर आशा गरिरहेको छन। हामीले फरक बाटोबाट हिडिरहेको छौं। एक पछि अर्को सफलता पाउनु अद्धुत यात्रा हो।'

प्रकाशित: २ भाद्र २०७३ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App