coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

प्रधानमन्त्रीज्यूलाई खुलापत्र

प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, नमस्कार !
सर्वप्रथम नेपालको ३८ औँ प्रधानमन्त्री हुनुभएकामा बधाइ र शुभकामना । शुभकामनासँगै एउटा गैरराजनैतिक घटना कोट्याउँछु । सत्तरीको दशकमा कोड्याक क्यामेरा कम्पनी संसारको एक नम्बरको कम्पनी थियो । क्यामरालाई उसले स्टुडियोबाट घरघर पुर्‍याएको थियो । उसको प्रतिस्पर्धी नै थिएन । कोड्याकले तीनवटा कुरा बेच्थ्यो— क्यामेरा, फिल्म अनि फोटो छाप्ने पेपर । उसलाई क्यामेरा बेच्दा त्यति फाइदा हुँदैन थियो तर कम्पनीलाई फिल्मको रिल अनि पेपर बेच्दा धेरै नाफा हुन्थ्यो । नब्बेको दशकको अन्त्यसँगै डिजिटल क्यामेरा उदाउन सुरु गर्‍यो । कोड्याक कम्पनी घाटामा गयो। उसका ठूलाठूला रिल अनि पेपरको कम्पनी भएकाले पनि उसलाई एक्कासि आएको परिवर्तन थेग्न गाह्रो भयो । १९७५ मा कोड्याकले एउटा ठूलो भूल गरेको थियो। उसकै एकजना इन्जिनियरले डिजिटल क्यामेरा १९७५ मै बनाइसकेको थियो तर उसले डिजिटल क्यामेरालाई बाहिर ल्याउन खोजेन किनकि उसलाई रिल अनि पेपरमा हुँदै गरेको फाइदा प्यारो थियो । फलस्वरूप कम्पनीले डिजिटल क्यामेरालाई बाहिर ल्याएन जसले गर्दा कम्पनीलाई त घाटा भयो भयो, तर आम नागरिकले पनि डिजिटल क्यामेरा करिब एक दशकपछि पाए।

प्रधानमन्त्री केपी ओलीज्यू, तपाईंको नाफाको जिन्दगी संयोग होइन, यो देशको आवश्यकता थियो भनेर प्रमाणित गरिदिनुहोस् । तपाईंमाथि तीन करोड नेपालीको भरोसा छ, आशा छ । तपाईं हार्नुहुन्न । तपाईं जित्नुपर्छ । देशलाई प्राथमिकतामा राखेर अघि बढ्नुहोस, तपाईंलाई कसैले छेक्न सक्दैन । भगवान्सँग तपाईंको स्वास्थ्यको प्रार्थना गर्दै नेपाललाई नयाँ समृद्धिको युगमा लानका लागि शुभकामना दिन्छु। 

कहिलेकाहीँ आफ्नो अनि संगठनको अल्पकालीन स्वार्थले पनि दीर्घकालीन रूपमा आफैँलाई घाटा हुन्छ । सम्माननीय केपी शर्मा ओलीज्यू, मलाई पनि कहिलेकाहीँ तपाईंंले एमालेको स्वार्थ अनि आफ्नो गुटको स्वार्थमा लागेर ठूलो लक्ष्य राष्ट्रको समृद्धि गुम्छ कि भन्ने डर लाग्छ । सुरुमै, तपाईंंलाई म एउटा अमिलो आग्रह राख्न चाहन्छु, कृपया एमालेको अध्यक्षबाट राजीनामा दिनुहोस् अनि ‘फुल टाइम’ प्रधानमन्त्री बनेर देशको सेवामा लाग्नुहोस् । राष्ट्र बनाउन तपाईंंले नेतृत्व गर्न सक्नुभयो भने तपाईंंलाई पार्टीमा शक्तिशाली हुनका लागि गुटगत राजनीति गर्न पर्दैन । यदि त्यसो गर्न अहिले सकिन्न भने पनि पार्टीको जिम्मेवारी आफ्नो उत्तराधिकारीलाई दिएर सम्पूर्ण ध्यान देश निर्माणमै लगाउनुहोस्। 

तपाईंंलाई यति अमिलो कुरा भन्दै फेरि पनि धेरै धेरै शुभकामना दिन चाहन्छु । हुनत मैले तपाईंलाई भोट हालिनँ, म पनि अन्य ६३ प्रतिशत (समानुपातिक अनुसार) मतदाता जस्तै एमालेलाई भोट नहाल्नेमा पर्छु तर पनि मलाई लाग्छ आज १०० प्रतिशत नेपालीले तपाईंलाई साथ दिन तयार छन् । केपी ओलीज्यू, हामी समृद्धि चाहन्छौँ । तपाईंको पनि सपना समृद्धि हो विकास हो त्यसैले अधिकांश मतदाताले आआफ्नो सपनालाई तपाईंको सपनासँग जोडेर एमालेलाई मत दिएका हुन्। त्यसैले तपाईं यो इतिहासको ठूलो अवसर अनि चुनौतीको बीच उभिनुभएको छ।

प्रधानमन्त्रीज्यू, नेपाल सम्भावना नै सम्भावनाले भरिएको देश हो । यो देशमा के कुरामा सम्भावना छैन ? प्रत्येक माटोमा अनि प्रत्येक भागको हावामा सम्भावना छ तर पनि कहिले कुनै पनि प्रधानमन्त्रीले त्यसको पहिचान गर्न सकेनन् । अर्को एउटा सम्भावना अनि चुनौती पनि छ, नेपाल युवामय देश हो । अहिले आधी नेपाली २२ वर्षमुनिका छन् । अबको २० वर्षपछि बिस्तारै यो तथ्यांकले बुढ्यौली रूप लिन्छ । नेपाल युवा देश रहँदैन अनि विकास गर्न निकै गाह्रो हनेछ । तसर्थ, हामीसँग हाम्रो देशलाई पहिलो विश्वसम्म पुर्‍याउन अब २० वर्ष जति मात्र समय बाँकी छ । कुनै देशका लागि २० वर्ष भनेको निकै छोटो समय हो । तसर्थ, हामीले आजैबाट काम थाल्नुको विकल्प छैन । यदि २० वर्षमा पनि हाम्रो देश समृद्ध हुन सकेन भने मलाई लाग्दैन त्यो पछि हामी समृद्ध बन्न सक्छौँ । त्यसैले केपी ओलीज्यू, आफ्नो सम्पूर्ण ऊर्जा यो मौका गुम्न नदिन प्रयोग गर्नुहोला।

अहिले तपाईंसामु संघीयता कार्यान्वयन अनि व्यवस्थापनको समेत ठूलो चुनौती छ । अनि, ६ वटा प्रदेशमा अनुमोदित तपाईंलाई प्रदेश २ का नागरिकलाई पनि आफ्नो समृद्धिको यात्रामा सँगै हिँडाउनु अर्को ठूलो चुनौती हुनेछ । योसँगै तपाईंको आफ्नै पार्टी, गठबन्धन, गुट व्यवस्थापन समेत तपाईंका लागि मुख्य चुनौती हो । तपाईंका लागि माओवादीसँगको सहकार्य ठूलो शक्ति र कमजोरी दुवै रहनेछ । तपाईंले पहिला पनि केही फाटेका मनहरू सिउन नसकेर पछाडि हट्नुपरेको बिर्सिनु भएको छैन होला।

केपी ओलीज्यू, तपाईंको अर्को चुनौती सुस्त कार्मचारीतन्त्रमा फेरि ऊर्जा भर्नु नै हो । कर्मचारीको व्यापक आधुनिकीकरणसँगै ‘सेवक सरकार’को अवधारणामा तपाईंले काम गर्नैपर्छ । अनि, बीस वर्षभन्दा बढी सेवा प्रदान गरेका ५० वर्षभन्दा माथिका कार्मचारीलाई ‘गोल्डेन ह्यान्डसेक’सहित बिदा गरेर ऊर्जावान् नयाँ कर्मचारीतन्त्रको विकास गर्न पहल गरिन जरुरी छ । नत्र तपाईंका निर्णयहरू कार्यान्वयनमा फेरि पनि पुरानै गति दोहोरिनेछ।

यो सँगै, तत्काल ध्यान दिनुपर्ने विषय भनेको भूकम्प पीडितका लागि पुनर्निर्माणमा सहयोग अनि घर बनाउन सक्ने वातावरणको सिर्जना गर्नु नै हो । तसर्थ, पुनर्निर्माण प्राधिकरणमा फेरि प्राण भर्ने बेला आएको छ । यसमा एकजना सक्षम नेतृत्व नियुक्त गर्नुहोला । साथै, महँगी, भ्रष्टाचार, अनियमितता नियन्त्रणका लागि प्रधानमन्त्रीज्यूले मन्त्रीहरूदेखि सचिवहरूसम्म कडा निर्देशन दिन जरुरी छ । प्रधानमन्त्रीज्यू, तपाईं आसेपासेसँग जोगिनुहोला । तपाईंले एउटा नजिरको सुरुवात गर्नैपर्छ । सल्लाहकार अनि विज्ञ टोलीमा आफ्नो पार्टी कार्यकर्ता भर्तीभन्दा पनि सक्षम अनि देश बनाउने आगो भएको व्यक्तिहरूलाई स्थान दिनुहोला । विदेशमा रहेका विज्ञ नेपालीहरूलाई बोलाउनुहोला, जसले तपाईंलाई निरन्तर सही दिशामा उन्मुख गरिरहन सकून्।

समृद्धिको काम तपाईंले जहाँबाट सुरु गर्नुभए पनि हुन्छ जस्तो लाग्छ तर पनि मेरो व्यक्तिगत बुझाइ चाहिँ तपाईंले शिक्षा, स्वास्थ अनि पूर्वाधारलाई केन्द्रमा राखेर नयाँ योजनासहित सुरुवात गर्नुपर्छ भन्ने हो । हाम्रो देशमा अहिले पनि सिटामोल नपाएर मृत्यु हुँदैछ अनि अहिले पनि अधिकांश बालबालिकाले उचित शिक्षा पाउन सकेका छैनन् । नेपालीको शिक्षा अनि स्वास्थको जिम्मा तपाईंको सरकारले लिन सक्नुभयो भने, सरकार अनि तपाईंको राजनीतिको जिम्मा आम नागरिकले लिने थिए । शिक्षा अनि स्वास्थ्य क्षेत्र सुधारबारे अर्को आलेखमा लेख्नेछु।

अब हामीले पूर्वाधार विकासमा पनि उचित लगानी गर्न जरुरी छ । हामीले अहिलेसम्म जहाँ मन लाग्यो त्यहीँ करोडौँ खर्च गरेर बाटो खन्यौँ अनि विकासको नाम दियौँ । यो व्यवस्थित विकास होइन। डाँडाकाँडामा बाटो पुर्‍याउनु भनेको नै विकास हो भनेर हामीले बुझ्न छाड्नुपर्छ । अब बाटो, पानी, बिजुली, इन्टरनेट आदि व्यवस्थित हिसाबमा प्रत्येक गाउँमा पु¥याउन जरुरी छ । जसका लागि स्थानीय तह, प्रदेश अनि केन्द्रले संयोजन गर्न जरुरी छ। अहिले तीनै तहमा एमालेको नेतृत्व भएकाले यो विकासका लागि सबैभन्दा राम्रो बेला हो । साथै, अब हामीले उत्तर–दक्षिण जोड्ने मार्गमा पनि ध्यान दिन जरुरी छ। 

नाकाबन्दीपश्चात् तपाईंको राष्ट्रियतामा देखिएको अडान अनि त्यो अडानले राष्ट्रको हितमा उपयोग गर्नु पनि तपाईंको यो कार्यकालको अर्को चुनौती हुनेछ । चीन र भारतबीचका बढ्दो प्रतिस्पर्धामा आफूलाई कसरी सन्तुलनमा राख्न सक्छ त्यो पनि सरकारको चुनौती हुनेछ । तसर्थ, तपाईंको कूटनैतिक सफलताको पनि कामना गर्छु। तपाईं चुनौती अनि सम्भावनाको बीचमा यात्रा गर्दै हुनुहुन्छ । सम्भावनाहरूलाई पहिल्याउनुहोला, नेपाली जनता साथमा रहनेछन्।
प्रधानमन्त्री केपी ओलीज्यू, तपाईंको नाफाको जिन्दगी संयोग होइन, यो देशको आवश्यकता थियो भनेर प्रमाणित गरिदिनुहोस् । तपाईंमाथि तीन करोड नेपालीको भरोसा छ, आशा छ । तपाईं हार्नुहुन्न । तपाईं जित्नुपर्छ । देशलाई प्राथमिकतामा राखेर अघि बढ्नुहोस, तपाईंलाई कसैले छेक्न सक्दैन । भगवान्सँग तपाईंको स्वास्थ्यको प्रार्थना गर्दै नेपाललाई नयाँ समृद्धिको युगमा लानका लागि शुभकामना दिन्छु । थप बधाइ चाहिँ तपाईंको सफल कार्यकालपछि।(लेखक काठमाडौँ–९ मा विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए)

प्रकाशित: १६ फाल्गुन २०७४ ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App