ललितपुर- राजधानीलाई तराईसँग जोड्ने सबैभन्दा छोटो रुट कान्तिराजपथ निर्माण योजना तोकिएको समयमा नसकिने भएको छ। २०१३ सालमा सुरु भएर सुस्ताएको योजनालाई सरकारले पछिल्लोपटक आर्थिक वर्ष २०६५/६६ देखि प्राथमिकतामा राखेको थियो। सो अनुसार प्रयाप्त बजेटसमेत विनियोजन भए पनि काम समयमा सकिने अवस्था छैन।
उक्त योजनाका लागि ३ अर्ब ३१ करोड ७० लाखका लागत अनुमान गरिएकोमा ८ वर्षमा लागत अनुमानको २६ प्रतिशत रकमको मात्रै काम भएको छ। ८ वर्षमा कुल कामको ३३ प्रतिशत मात्रै पूरा भएको आयोजनाका प्रमुख दिपक केसीले बताए।
२०१६ सालमै सेनाले ट्रयाक खोलिएको सडकमा चौडा गर्ने कामसमेत आधा बाँकी छ। पछिल्लो पटक सक्ने योजना राखिएको दुई वर्षमा सडक चौडा गर्ने, ढल निर्माण, पर्खाल लगाउनेदेखि कालोपत्रसम्मको काम सक्ने कुनै संभावना नभएको आयोजनाका अधिकारीहरु नै बताउँछन्।
सडक चौडा गर्ने कामसमेत आधामात्रै सकिएकोले तोकिएको समयमा काम सक्न कठिनाई भएको कान्तिराजपथ सडक विस्तार आयोजना प्रमुख दिपक केसीले बताए। केसीका अनुसार यही गतिमा काम हुँदा बाँकी दुई वर्षभित्र सक्ने अवस्था छैन। २०६५ सालमा सरकारले प्राथमिकतामा राखेर अघि बढाएको सडक योजनाको पहिलो चरणमा गत बर्ष चौडा गर्ने कार्यक्रम थियो, तर हालसम्म पनि सडक चौडा गर्ने काम सकिएको छैन।
२०६५ सालदेखि सरकारको प्राथमिकतामा परेको उक्त योजना निर्माणका लागि सरकारले ०६५/६६ देखि ०७० सम्म हरेक वर्ष मा ५ करोडका दरले बजेट विनियोजन गर्दै आएको थियो। पछिल्लो पटक ०७१/७२ मा १९ करोड, ०७२/७३ मा ४० करोड ९२ लाख ३० हजार र यो बर्ष बजेट व्क्तव्यमा ६० करोड रकम विनियजन गरेको छ। ०६५ देखि अघिल्लो वर्षसम्म सरकारले छुट्याएको जम्मा ८९ करोड ९२ लाख ३० हजार छ।
उक्त रकममध्ये हालसम्म ८६ करोड रकम खर्च भएको योजना प्रमुख दिपक केसी बताउँछन्।
कान्तिराजपथ सडक विस्तार योजनालाई २ वर्षको समयसीमा राखेर सडक निर्माणको काम ९ जना ठेकेदारलाई परिचालनगरी सडक निर्माण अगाडि बढाएको जनाएको छ। यो वर्षका लागि मात्रै ६० करोडबाट मकवानपुर बुद्धचोकदेखि जितपुर भञ्ज्याङसम्म २२ किमी सडकको नाली बनाउने, चौडा बढाउने र कालोपत्रे गर्ने गरी २२ वटा एक्जाभेटर प्रयोग गरिएको कान्तिलोकपथ सडक विस्तारका इन्जिनियर विरेन्द्र गौतमले बताए।
सरकारले उक्त सडक निर्माणको लागि सडक छेउछाउका घर तथा पार्टीहरु भत्काउनको लागि पनि चिन्ह् लगाएपनि सडक छेउका अग्ला भवन भत्काइएको छैन।
काठमाडौं–हेटौंडा वैकल्पिक सडकको योजनाका रूपमा २०६५ सालमा सरकारले तत्कालीन कान्ति राजपथलाई 'लोकमार्ग' नाम दिई छुट्टै योजनाका रूपमा काम अघि बढाएको थियो। यसका लागि सुरुमा ३ अर्ब ३१ करोड ७० लाखको बजेट लागत अनुमान गरिएकेा थियो।
अघिल्लो बर्ष सरकारले बजेट बक्तब्यमै उक्त योजना को लागि ४० करोड रकम छुट्याएको थियो।
कान्तिरापथ योजनाका इन्जिनियर विरेन्द्र गौतमका अनुसार सडक निर्माणको लागि सातदोबाटोबाट टिकाभैरवसम्म ११ किमी जिल्ला सडक डिभिजन कार्यालयको जिम्मा लिएको छ भने टिकाभैरवाट हेटौडासम्म ७९ किमीको योजना कान्तिराजपथ योजनाले जिम्मा लिएको छ।
तर जिल्ला सडक डिभिजनले अहिलेसम्म सडक विस्तारका काम सुरु गरेको छैन। भूकम्प र नाकाबन्दीका कारण अघिल्लो वर्ष सडक विस्तारको काम हुन नसकेकोे जिल्ला सडक डिभिजन कार्यालयकी प्रवक्ता आरती शाहले बताइन्।
२०१३ सालमा राजा महेन्›ले शिलान्यास गरेपछि यो 'राजपथ' निर्माण शुरू गरिएको थियो। तर शिलान्यास गरेको ६० औं वर्ष बितिसक्दापनि योजना 'आकाशको फल, आँखातरी मर' जस्तै भएको भट्टेडाँडाका स्थानीय मनिस थापा बताउँछन् ।
सडकको ट्रयाक २०१६ सालमै सेनाले खोलेको थियो। तर ट्रयाक खोलेपछि सरकारको ध्यानाकषर्ण नपुगेका कारण एक वर्षमै उक्त सडक बन्द भएको थियो।
केसीका अनुसार तराई जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएका दक्षिणकाली–हेटौंडा र बनेपा–सिन्धुली राजमार्गले ठूला यात्रुवाहक र मालवाहक सवारी थेग्न नसक्ने हुनाले पनि कान्ति राजपथलाई प्राथमिकतामा राखिएको थियो।
१५ मिटर चौडाइ र ९० किलोमिटर लम्बाइको कान्ति राजपथ मकवानपुरको हेटौंडा बजारबाट चौगडा, मकवानपुरगढी, वागमती हुँदै ललितपुरको बगुवा, तीनपाने, टीकाभैरव, चापागाउँ, सातदोबाटोसम्म आइपुग्छ। सडकको ५० कि.मी. मकवानपुरमा पर्छ भने बाँकी ४० कि.मी ललितपुरमा पर्छ। कालोपत्रे भएपछि ललितपुरको सातदोबाटोबाट हेटौंडा पुग्न तीन घण्टा मात्र लाग्छ।
त्यसो त दक्षिणकोरियाको हुन्डाई इन्जिनियरिङ कम्पनीले असोज २०६० मै यो योजनाको विस्तृत योजना प्रतिवेदन (डीपीआर) सरकारलाई बुझाएको थियो। योजना प्रमुख केसी काम सुस्त हुनुमा सरकार नै जिम्मेवार रहेको बताउँछन्। 'हरेक वर्ष १ अर्ब दिए काम उहिल्यै सकिन्थ्यो तर बजेट कम आउनाले काम पनि ढिला भएको हो।'
ललितपुर क्षेत्र नं १ का सांसद उदयशमशेर जबरा पनि वैकल्पिक सडकलाई सरकारले महत्व नदिएको आरोप लगाउँछन्। उनले भने, 'सरकारी बेवास्ताकै कारण डेढ वर्षमा सकिने योजना ६० वर्षसम्म पनि सकिएको छैन, हामीले संसदको विकास समितिमा यो योजनालाई प्राथमिकतामा राख्नको लागि एकसुत्रीय माग पनि राखेका थियौँ।'
दुई लेन सडकबाट साँघुरो–घुमाउरो ८५ किलोमीटरको दक्षिणकाली–सिस्नेरी मार्ग, २२३ किमीको मुग्लिङ–नारायणगढ र १५८ किमीको त्रिभुवन राजपथको जोखिमपूर्ण यात्राको बाध्यता रहने छैन। तीन घण्टामै हेटौंडा पुगिन्छ, जसले सवारी इन्धन खपत र भाडा समेत घटाउनेछ।
काठमाडौं–निजगढ द्रूतमार्ग पनि यही मार्गलाई नै छोएर जान्छ। योजनाका सिनियर डिभिजनल इन्जिनियरसमेत रहेका केसीले बगुवास्थित वागमती पुल बनिसकेपछि ग्राभेल बाटोबाटै भएपनि सवारी साधन हेटौंडा पुग्न थालेको बताउँछन्।
६ दशकदेखि अलपत्र परेको कान्तिराजपथ (लोकतन्त्रपछि लोकपथ) सडक आयोजनाले सडकको दुवैतर्फ १५/१५ मिटर सडकको क्षेत्राधिकार खाली गर्न यसअघि नै सूचना जारी गरेको थियो।
मुख्य व्यापारिक नाका वीरगञ्जलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने भएकाले यो सडक निर्माण भएपछि वीरगञ्ज नाकाबाट नेपाल तथा भारतबीचको व्यापार विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
दक्षिणकाली–सिस्नेरी मार्ग र त्रिभुवन राजपथमार्फत जोखिमपूर्ण र तुलनात्मक रूपमा लामो दूरीको यात्रा गर्न हाल सर्वसाधारण बाध्य छन्। हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म करिब साढे पाँच मिटर ट्रयाक खुलेको कान्ति लोकपथको लम्बाइ ९२ किलोमिटर छ। हाल सञ्चालनमा रहेको ८५ किलोमिटरको दक्षिणकाली–सिस्नेरी सडक साँघुरो भएकाले यो मार्गबाट यात्रा गर्दा करिब ४ घण्टा लाग्ने गरेको छ।
प्रकाशित: २ भाद्र २०७३ ०३:३९ बिहीबार