६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेस संसदीय दल नेता २१ गते छानिने

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि आगामी सोमबार निर्वाचन हुने भएको छ । पार्टी केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्वाचन समितिको मंगलबारको बैठकले नेता चयनका लागि निर्वाचन फागुन २१ गते गर्ने निर्णय गरेको हो।

फागुन १८ गते बस्ने बैठकले संसदीय दलको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने सहमति पनि बैठकले गरेको छ । ‘पार्टी नेतासँग परामर्श गरेर शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछौं,’ समिति संयोजक श्रेष्ठले नागरिकसँग भने, ‘प्रतिनिधिसभाको पहिलो बैठकअघि नै दलको नेता छनोट गर्नेछौं।’

फागुन २० गते मतदाता नामवली प्रकाशन गर्नुका साथै सोही दिन दलको नेताका लागि मनोनयन दर्ता गर्ने तयारी समितिले गरेको छ । ‘संघीय संसद्का सदस्यको शपथ हुने दिन (फागुन २० गते) दलको नेताका लागि दरखास्त लिने समितिको आन्तरिक तयारी छ,’ श्रेष्ठले भने। 

पार्टीको संसदीय दलको कार्यालयलाई नै समितिको कार्यालय तोकिएको छ भने पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजाललाई सचिवको जिम्मेवारी तोकिएको छ । समितिले दलको नेता छनोटका लागि मतपत्र नै प्रयोग गर्ने भएको छ । ‘धेरै सांसद नभएकाले मतपत्र नै प्रयोग गर्नेगरी निर्वाचनसम्बन्धी कार्यविधि बैठकले पारित गरेको छ,’ संयोजक श्रेष्ठले भने । 
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन् । सभापति देउवा पक्षको स्पष्ट बहुमत देखिएको संसदीय दलमा महामन्त्री कोइरालाले सर्वसम्मति भएमात्र आफू दलको नेता बन्ने घोषणा गरेका छन् । पूर्वमहामन्त्री सिंह भने सभापतिविरोधी धारको नेतृत्व गर्दै दलको नेतामा प्रतिस्पर्धा गर्ने पक्षमा छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ६३ सांसदमात्र रहेको कांग्रेसमा सभापति देउवा पक्षको ३६, रामचन्द्र पौडेल निकटका २४ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका ३ सांसद् छन् । सिटौला समूहका तीन सांसदको मत पनि देउवाको पक्षमा परेमा ३९ मत हुनेछ भने उक्त मत सिंहको पक्षमा परे २७ पुग्ने आन्तरिक विश्लेषण छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठक फागुन २१ गतेका लागि आह्वान गरेकी छन् ।

प्रकाशित: १६ फाल्गुन २०७४ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App