७ वैशाख २०८१ शुक्रबार
राजनीति

सांसद्मा बाजी मारेका ११ जोडी

दाङ – वाम गठबन्धनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने योजना भताभुंग बनेपछि एमाले नेता शंकर पोख्रेल प्रदेशसभा सदस्य चुनाव लड्न पार्टी नेतृत्वसँग एउटा सर्त राखेर काठमाडौंबाट दाङ आए । उनको सर्त थियो– ‘म मुख्यमन्त्री हुनपर्छ ।’ प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी नेता कृष्णबहादुर महराले पोखरेलको ‘पकड क्षेत्र’ खोसिदिएपछि उनी प्रदेशसभा सदस्यका लागि उम्मेदवार बने । पोख्रलेको चुनाव अभियानमा पत्नी सुजिता शाक्य बलियो सारथी बनिन् । जनजाति कोटाबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा परेकी थिइन् उनी । सांसद बन्ने प्रतिस्पर्धामा होमिएको यो जोडीले अन्ततः बाजी मार्‍यो । पोख्रेल प्रदेशसभामा निर्वाचित भए भने सुजिता समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनिन्।  

२०६४ मा संविधानसभामा प्रवेश गरेका माओवादी केन्द्रका वर्षमान पुन र ओनसरी घर्तीको जोडी पछिल्लो संविधानसभामा प्रवेश गर्ने दौडमा भने चुक्यो । पहिलो संविधानसभा निर्वाचनमा पुन ललितपुरबाट निर्वाचित भए भने पत्नी घर्ती समानुपातिक कोटाबाट संविधानसभा सदस्य निर्वाचित भइन् । उनीहरु दुवै २०७० मा पनि संविधानसभामा जान चाहन्थे । रोल्पाबाट घर्ती निर्वाचित भइन् भने मोरङबाट निर्वाचन लडेका पुन भने पराजित भए । २०७० मा बाजी मार्न नसकेको यो जोडीले गत मंसिरको निर्वाचनमा जित हासिल ग¥यो । रोल्पाबाट निर्वाचन लडेका पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए भने समानुपातिक कोटाबाट घर्ती पनि प्रतिनिधिसभा सदस्यमै निर्वाचित भइन्।

माओवादीका महेश्वर गहतराजको जोडी पनि यसपट सांसद बनेको छ । २०७० मा पहिलोपटक निर्वाचनमा भिडेका गहतराज प्रतिस्पर्धामा असफल भए । उनी बाँकेबाट प्रतिनिधिसभा सदस्य चुनिए । उनकी पत्नी पार्वती पुन पनि समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भइन् । यो जोडी पहिलोपटक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य भएको हो ।  
२०४८ सालको संसदीय चुनावमा विजय माला पहिरिएका एमाले नेता कृष्ण गोपाल श्रेष्ठलाई त्यसपछिका निर्वाचनमा सफलता मिलेन । दुईवटै संविधानसभा निर्वाचनमा पराजय ब्यहोरेका उनी अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनकी पत्नी वीणा श्रेष्ठ पनि समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बन्न  सफल भइन्।   

माओवादीका कृष्णध्वज खड्का र उनकी पत्नी रेखा शर्मा पछिल्लो संविधानसभा निर्वाचनमा उम्मेदवार थिए । खड्का प्रत्यक्षबाट निर्वाचन लडेका थिए भने शर्मा समानुपातिक सूचीमा थिइन् । तर दुवैले बाजी मार्न सकेनन् । खड्काले पराजय ब्यहोरे भने पत्नी शर्मा भने समानुपातिकबाट सभासद् बनिन् । शर्मा सामान्य प्रशासनमन्त्री समेत भइन् । यसपटक भने दुवैजना सांसद भएका छन् । खड्का प्रदेशसभा सदस्या निर्वाचित भए पनि शर्मा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य भइन् । यो जोडीका लागि गत मंसिरको चुनाव फलीफाप भयो।

२०६४ सालमा एकैसाथ संविधानसभा प्रवेश गरेका शक्ति बस्नेत र सत्या पहाडीको जोडीले दोस्रो संविधानसभामा पनि निरन्तरता चाहेको थियो । दुवैजना दोस्रो संविधानसभा सदस्यका लागि उम्मेदवार भए पनि एकले मात्र चुनाव जिते बस्नेत निर्वाचित भए भने सत्या पराजित भइन् । तर यसपटक भने यो जोडी सांसद बन्न सफल भएको छ । बस्नेत प्रत्यक्षबाट र सत्य समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका छन्। 

प्रदेश तथा प्रतिनिधिसभामा अहिले ११ जोडी सांसद बनेका छन् । जसमध्ये माओवादीका देव गुरुङ र यशोदा सुवेदीको जोडी पनि प्रतिनिधिसभा सदस्य बनेको छ । यसैगरी एमालेका विरोध खतिवडा र मुनु सिग्देल पनि जोडी सांसद बनेका छन् । खतिवडा प्रतिनिधिसभा सदस्य छन् भने सिग्देल प्रदेशसभा सदस्य छिन् । एमालेकै रघुवीर महासेठ र जुलीकुमारी महतो पनि जोडी सांसद हुन् । दुवै प्रतिनिधिसभा सदस्य हुन् । एमालेकै शेरबहादुर तामाङ र उषाकला राईको जोडी पनि संसद्मा पुगेको छ । राजपाबाट अनीलकुमार झा र डिम्पल कुमारी झा पनि संसद्मा पुगेको अर्को जोडी हो। 

श्रीमानश्रीमती नै सांसद भएपछि ‘राजनीतिक पावर’ दुरुपयोग गरेको भन्दै आलोचनासमेत भएको छ । पतिपत्नी नै सांसद बन्दा पार्टीमा योगदान गरेका तर नेतृत्वसँग नजिक नभएका अन्य नेतालाई पछाडि पारिएको गुनासो सुनिएको छ । तर पार्टीमा भूमिका भएकालाई श्रीमानश्रीमती भएकै कारण अवसरबाट वञ्चित गर्न नहुने मत पनि छ । ‘पार्टीमा परिश्रम गरेकालाई श्रीमानश्रीमती भएकै कारण अवसरबाट पछि पारिनु हुन्न,’ प्रतिनीधिसभा सदस्य मेटमणि चौधरी भन्छन्, ‘पार्टीमा योगदान दिएकाहरुलाई पार्टीले ठाउँ दिनैपर्छ ।’ माओवादी केन्द्रका नेता निर्मल आचार्य अहिले सांसद बनेका जोडीहरुको पार्टीमा उल्लेख्य योगदान भएको दाबी गर्छन् । ‘सबै नेताहरुको योगदान पार्टीमा उल्लेख्य छ,’ उनले भने, ‘श्रीमानश्रीमती भएर शक्तिका आधारमा हैन, पार्टीले योगदानका आधारमा चयन गरेको हो।’ 

केही प्रभावशाली नेता भने जोडीकै रुपमा सांसद बन्ने अवसरबाट चुकेका छन् । निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा यसपटक संगै सांसद बन्न पाएनन् । देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए तर राणा पराजित भइन् । एमाले उपाध्यक्ष वामदेव गौतमको जोडी पनि यसपटक संगै सांसद बन्ने मौकाबाट चुक्यो । गौतम बर्दियाबाट प्रतिनिधिसभा सदस्यमा पराजित भए भने उनकी पत्नी तुलसी थापा भने समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी छिन्। 

प्रकाशित: १६ फाल्गुन २०७४ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App