coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शौचालयको पैसा उठाउँछन् सरकारी कर्मचारी

ललितपुर- सरकारी कार्यालयमा काम लिएर गएका सेवाग्राहिले निशुल्क रुपमा शौचालय प्रयोग गर्न पाउनुपर्ने हो तर काठमाडौं उपत्यकामा सञ्चालित कतिपय सरकारी कार्यालयहरु यस्ता पनि छन् जसले कार्यालय भित्रकै शौैचालय प्रयोग गर्दा शुल्क उठाउँछन्।

यसको ज्वलन्त उदाहरण हो ललितपुरको लगनखेलमा रहेको नापी कार्यालय र मालपोेत कार्यालय। 'सरकारी कार्यालयमा यसरी बाहिरी व्यक्ति गएर शौचालयको रकम उठाएका पक्कै होइनन्' सोमबार मालपोत कार्यालयमा भेटीएका हात्तीवनका सन्तवहादुर घर्तिमगरले भने, 'कार्यालय प्रमुखले नै शुल्क उठाउने स्विकृति दिएका छन्।'

कार्यालयमा शौचालय सरसफाई गर्नको लागि दुईजना कर्मचारी पनि राखिएको छ। तर सरकारी तलबमा बसेका ती कर्मचारीहरुले शौचालय  सरसफाई गर्नुको साटो उल्टै  शौचालयको पैसा असुल्दै आएका छन्।

शौचालय सफासुग्घर राख्नका लागि सरकारी कर्मचारी नै नियुक्ति गरिएको छ। तर सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्राहिको लागि बनाइएको शौचालयको पैसा असुल्दा पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन। यस विषयमा नापी कार्यालयका नापी अधिकृत विनोद कुमार शाहले कार्यालयमा त्यसरी राखिएको शौचालयमा पैसा उठाएकोबारे आफूलाई कुनै जानकारी नभएको बताए। उनले सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको लागि शौचालय प्रयोग गरेमा कुनै शुल्क लिन नपाउने व्यवस्था भएको भन्दै यदि कसैले यस्तो गरेको रहेछ भने तुरुन्त कारवाहि गरिने बताए।

त्यस्तै मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत नारायण आचार्यले तल्लो दर्जाका कर्मचारीको तलब अत्यन्तै थोरै भएकोले उनीहरुले यसबाट प्राप्त रकम बाँड्ने गरेको बताए।

मालपोत र नापी कार्यालय त उदाहरण मात्रै हुन्। यस्तो समस्या एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा पनि छ। सोमबार लाइसेन्स बनाउन यातायात कार्यालय एकान्तकुना पुगेका सन्तोष घिमिरेले पनि यातायात कार्यालयभित्रको सौचालय प्रयोग गर्दा पैसा तिर्नु परेको गुनासो गरे। उनी भन्छन्, 'यसरी सरकारीका सेवा लिन जाँदा कहिल्यै पैसा तिर्नुपरेको थिएन तर यातायात कार्यालयमा भने शौचालय प्रयोग गर्दा पैसा तिर्नु पर्दो रहेछ।'

हरेक दिन हजारौ सर्वसाधारणको भिड लाग्ने यातायात व्यवस्था कार्यालयमा दैनिक हजारौ सेवाग्राहि भिड लाग्ने स्थानमा समेत शौचालयको लागि शुल्क लिँदा सेवाग्राहि ठगिएका छन्। सेवाग्राहिले कार्यालयको शौचालय प्रयोगवापत ५ देखि १० रुपैयाँ शुल्क तिर्नुपरेको छ। दिनभरी सेवाग्राहिको भिड लागिरहने यातायात कार्यालयमा दिनहुँ ३ देखि ६ हजारसम्म शुल्क उठ्ने गरेको नाम नबताउने सर्तमा यातायात कार्यालयका एक कर्मचारीले नागरिकलाई बताए। उनका अनुसार कार्यालयभित्र शौचालय सफा गर्ने कर्मचारी पनि छन् तर माथिल्लो तहमा कार्यरत कर्मचारीले नै शौचालयबाट उठेको रकम कुम्ल्याउने गरेको जानकारी दिए।

नगर क्षेत्रभित्र सञ्चालनमा आएका सार्वजनिक शौचालय हेरचाह गर्ने र त्यसको राजस्व लिने काम सम्बन्धित नगरपालिकाले गर्छ तर दिनहुँ घुइचो लाग्ने सरकारी कार्यालयमा सञ्चालित शौचालयबाट  सेवाग्राहिबाट गैर कानुनी रुपमा उठाएको लाखौँ रकम कहाँ जान्छ यसबारे सम्बन्धित निकायमा कुनै रेकर्ड छैन। त्यसो त सरकारी कार्यालयमा सञ्चालित शौचालयबाट त्यसरी शुल्क लिन पाउने व्यवस्था पनि छैन।

त्यस्तै काठमाडौंको शिक्षण अस्पताल, पाटन अस्पताल, एयरपोर्ट लगायतका कार्यालयमा पनि शौचालय प्रयोग गरेवापत सेवाग्राहिले शुल्क तिनुपर्ने हुन्छ।

सरकारी कार्यालयको सेवा सुविधा पाउनको लागि नागरिकले कर तिर्ने गरेका हुन्छन्। नागरिकले तिरेको करबाटै सरकारी कर्मचारीले तलब पाउने गर्दछन्। तर यसरी सरकारी कार्यालयहरुले सेवाग्राहिले शौचालय प्रयोग गरेवापत शुल्क लिनु गैर कानुनी हो भन्छन् ललितपुर उपमहानगरपालिकाका प्रवक्ता रुद्र गौत्तम। उनले सरकारी कार्यलयले यसरी शुल्क लिनु नसुहाउँदो भएको बताए।

प्रकाशित: २ भाद्र २०७३ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App