४ वैशाख २०८१ मंगलबार
अर्थ

ह्यांगरबाट बोइङ हटाउन बिबीलाई पत्राचार

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफ्नो ह्यांगरबाट एकथान ठूलो जहाज हटाउन बिबी एयरवेजलाई पत्राचार गरेको छ।

सञ्चालनमा नरहेको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबीले गत माघ पहिलो साता निगमको तीन दशक पुरानो एकथान ठूलो बोइङ जहाज खरिद गरेको थियो । त्रिभुवन विमानस्थलमा दुई वर्षदेखि ‘ग्राउन्डेड’ निगमको ‘बि७५७–२००’ सिरिजको उक्त जहाजलाई बिबीले १४ लाख ६० हजार अमेरिकी डलर (१४ करोड ७४ लाख ६० हजार रुपैयाँ) मा खरिद गरेको थियो । बिबीले गत असोज अन्तिम साता यो जहाज खरिद गर्न निगमलाई बैनावापत कूल मूल्यको १० प्रतिशत अर्थात १ करोड ५१ लाख ८० हजार रुपैयाँ बुझाएको थियो।

‘बिबी एयरवेजलाई एक साताभित्र ह्यांगरबाट जहाज हटाउन पत्राचार गरेका छौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले मंगलबार नागरिकसँग भने, ‘तर, उसले जहाज हटाउन थप एक महिना समय माग्दै पत्र पठाएको छ।’

बिबीले सबै रकम चुक्ता गरे पनि उसको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पाएको उडान इजाजत र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पाएको वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) खारेज भइसकेका कारण ह्यांगरबाट जहाज हटाउन सकेको छैन ।‘बिबीले उडान इजाजत र एओसी लिने प्रक्रियामा रहेको भन्दै थप एक महिना म्याद मागेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘हामी उल्टै असमन्जसमा छौं, म्याद दिँदा पनि नहुने र नदिँदा पनि नहुने ।’

बिबीले सबै रकम चुक्ता गरे पनि अहिलेसम्म जहाज निगमकै स्वामित्वमा रहेको छ । बिबीसँग उडान इजाजत र एओसी नभएका कारण जहाजको स्वामित्व परिवर्तन हुन सकेको छैन । भविष्यमा स्वामित्व परिवर्तन भए पनि जहाजको कलसाइन ‘९एन–एसिए’ भने यथावत नै रहने छ ।‘बेचिसकेको जहाज ह्यांगरमै रहँदा हामीलाई अप्ठेरो भइरहेको छ,’ श्रेष्ठले भने, ‘हामीले हालै ल्याएका दुईथान नयाँ चिनियाँ जहाज राख्न तथा अन्य उडानमा रहेका जहाजलाई तालिकाअनुसार मर्मत गर्न पनि समस्या भइरहेको छ।’

बिबीले भने निगमसँग खरिद गरिएको जहाजलाई नियमित व्यापारिक उडानमा प्रयोग गर्ने बताउँदै आएको छ । उसले जहाज मर्मत गरी पहिलो चरणमा काठमाडौंबाट मलेसिया, भारतको नयाँदिल्ली, कतारको दोहा र थाइल्यान्डको बैंकक उडाउने योजना बनाएको छ।

बिबीका एक अधिकारीले करिब ५० करोड रुपैयाँमा जहाज मर्मत गरी उडाउने योजना बनाएको बताए । तर, वायुसेवा निगमले यो जहाजको इन्जिन मर्मत गर्नमात्र करिब २ अर्ब रुपैयाँ खर्च लाग्ने भएपछि जहाजै बिक्री गर्ने निर्णय गरेको थियो । ‘खासमा बिबीले हाम्रो जहाज किन खरिद गरेको हो भन्ने नै हामीले बुझ्न सकेका छैनौं,’ निगमका एक अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने।

बिबी एयरवेज गैरआवासीय नेपाली व्यवसायी भवन भट्टको टिबिआई ग्रुपअन्तर्गतको कम्पनी हो । उनी गैरआवासीय नेपाली (एनआरएन) संघका अध्यक्ष हुन् । बिबीले कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एकथान ‘बोइङ ७५७–२००’ सिरिजको जहाज भाडामा लिई २०६९ भदौ २८ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो तर, सञ्चालनको तीन महिनामै सबै उडान बन्द गरेको थियो । पाँच वर्षपछि फेरि अन्तर्राष्ट्रिय उडान गर्ने उद्देश्य लिएर बिबीले वायुसेवा निगमको जहाज तीन दशक पुरानो भए पनि खरिद गरेको हो ।
निगमले बेचेको जहाज १ सय ९० सिट क्षमतायुक्त हो ।

यो जहाज निगमले सन् १९८७ मा अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग खरिद गरेको थियो । यसको नाम ‘कर्णाली’ हो । यो जहाज बेच्न निगमले दुईपल्ट ‘ग्लोबल टेन्डर’ आह्वान गरेको थियो।निगमका अनुसार उक्त जहाज जे जस्तो अवस्थामा छ त्यहीअनुसार बिक्री गरिएको हो । जहाजमा ‘आरबी२११–५३५इ४’ मोडेलका दुईथान इन्जिन छन् । तीमध्ये एउटा इन्जिनको आयु शून्य छ भने अर्कोको आयु जम्मा १ सय घन्टामात्र छ।

जहाज खरिद गर्ने कम्पनीले उडाएर लैजान त्यति अवधि राखिएको हो ।निगमले बोइङ एसिए जहाज पुरानो भएको र मर्मत खर्च अत्यधिक लाग्ने भएपछि बिक्री गर्ने निर्णय गरेको थियो । यसको दुईथान इन्जिन मर्मत गर्नमात्र करिब २ अर्ब रुपैयाँ लाग्ने भएपछि ‘बनाउनभन्दा बेच्न फाइदा’ भन्दै निगम जहाज बिक्री गर्ने निर्णयमा पुगेको थियो ।निगमसँग रहेको यस्तै अर्को एउटा जहाज भने उडानमा प्रयोग भइरहेको छ । निगमका दुईथान बोइङले उडान गरिरहँदा वार्षिक २ अर्ब रुपैयाँ आम्दानी गर्थे । तर, ती जहाजले जति आम्दानी गर्थे, त्यसको अधिकांश हिस्सा मर्मतमै खर्च हुने गरेको थियो।

त्यसबाहेक बि७५७ जहाज उडाउँदा प्रतिउडान जति आम्दानी हुने गर्छ, त्यसको करिब ४५ प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेको थियो । अहिले निगमसँग रहेका एयरबस कम्पनीमा निर्मित नयाँ जहाजले भने यसको आधामात्र इन्धन खपत गर्ने गर्छन् । पुरानो हुँदै जानु र मर्मत खर्च उच्च हुँदै गएपछि निगमसँग बिक्रीको विकल्प थिएन।  

तीन दशक पुरानो उक्त जहाज ६ महिनादेखि लिलाम बढाबढमा बेच्न गरेको प्रयास असफल भएपछि निगम सञ्चालक समितिले जहाजको भाउ १७ लाख १० हजार डलरबाट २ लाख १० हजार घटाएर १५ लाख डलरमा बिक्री गर्न व्यवस्थापनलाई अनुमति दिएको थियो ।  
 

प्रकाशित: १६ फाल्गुन २०७४ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App