coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘संघबाट अवरोध भए अनशन’

जनकपुरधाम – मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार मातहत प्रहरी–प्रशासन ल्याउने प्रक्रियामा लागेको बताएका छन्। 

जनकपुरमा मंगलबार आयोजित एक कार्यक्रममा सर्लाहीका एक नगर प्रमुखले जननिर्वाचित प्रतिनिधिलाई प्रहरीले नटेरेको गुनासो गरेपछि मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । ‘तपार्इंहरु नआत्तिनुस्, प्रदेशसभाबाट चाँडै ऐनकानुन बनाएर प्रहरी–प्रशासनलाई मातहतमा ल्याउने तयारीमा छौं,’ मुख्यमन्त्री राउतले भने।

‘प्रहरी प्रशासनलाई चाँडै कानुनसम्मत प्रक्रियाबाट प्रदेश सरकारको मातहत ल्याउँदैछौं,’ गरिबी निवारण कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राउतले भने, ‘यसका लागि संघीय सरकारले अवरोध गरे जानकी मन्दिरमा अनशन बस्न तयार छु।’ 

‘प्रहरी प्रशासनलाई चाँडै प्रदेश सरकार मातहत ल्याउँछौं । यसमा संघीय सरकारले अवरोध गरे अनशन बस्छु ।’ 

राउतले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेर संघीय प्रशासनले नटेरेको गुनासो गरेका थिए । आफूसमेत मन्त्रीहरुको सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन र प्रहरीले नटेरेको मुख्यमन्त्रीको भनाइ छ । प्रदेश सरकारलाई काम गर्न कुनै प्रकारको अवरोध हुने खालेको निर्देशन संघीय मन्त्रालयबाट नगर्न पनि उनले चिठीमार्फत प्रधानमन्त्रीलाई खबरदारी गरेका थिए। 

मंगलबारै एक अर्को कार्यक्रमलाई सम्बोधन क्रममा मुख्यमन्त्री राउतले मुलुक संघीयतामा गए पनि संघीय सरकारको मातहतमा रहेका निजामती कर्मचारीबाट संघीयता कार्यान्वयनका पक्षमा सकारात्मक व्यवहार नदेखिएको टिप्पणी गरे । यद्यपि यत्तिका दिनदेखि बिग्रेको संरचना र कर्मचारीको शैली सुधार्न स्वाभाविक रुपमा केही समय लाग्ने भनाइ उनले राखे । उनले भने, ‘संघीयताको जन्म दिने यसै प्रदेशले त्यसको रक्षा पनि गर्नुपर्ने हुन्छ । यसका लागि राज्य सञ्चालनको हरेक तत्त्वलाई प्रदेश अनुकूल ढाल्दै जानेछौं ।’
 
सोही कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशसभा निर्वाचन गराउँदैमा राजनीतिक संक्रमण समाप्त भइनसकेको दाबी गरे। ‘चुनाव गराउँदैमा मधेसको अधिकारको लडाइँ समाप्त भएको भ्रममा कसैले नपरे हुन्छ,’ उनले भने, ‘हामीले प्रदेश सरकार त बनायौं तर ६ वटा मात्रै मन्त्रालय राख्ने पाउने व्यवस्था केन्द्रबाट लादिएको छ । हामी केन्द्र सरकारको भरिया होइनौं ।’ मधेसको सम्पूर्ण अधिकार प्राप्ति नभएसम्म आन्दोलनको स्वरुप मात्रै फेरिएको बताउँदै उनले आन्दोलन निरन्तर जारी रहेको जिकिर गरे। 

‘आफ्नो प्रदेश आफैँ बनाऔं’
मन्त्री सोनलले दुई नम्बर प्रदेशको स्वास्थ्य, शिक्षा र विकासको अवस्था सुदूरपश्चिमभन्दा पनि दयनीय भएको बताए । हिजोसम्म सरकारलाई गाली गर्ने आफूहरु स्वंय प्रदेश सरकारको नेतृत्वमा पुगेपछि कर्मचारीलाई पनि यथास्थानबाट सकारात्मक परिवर्तनका लागि चिन्तन गर्ने सोनलले आग्रह गरे।

‘हिजोसम्म सरकार र जनताको बीचमा शासक र शासित वर्गको व्यवहार भयो । अब शासक र शासित दुवै हामी आपंmै हौं,’ उनले भने, ‘कुनै स्वास्थ्य चौकीमा काम गर्ने अनमी र स्वास्थ्यमन्त्रीको महत्त्व समान हो । सबै कर्मचारीले उच्च मनोबलका साथ आफ्नो गाउँठाउँको स्तर उकास्न अग्रसर हुने बेला आइसक्यो।’

मुख्यमन्त्री राउतले प्रदेशमा मन्त्रिपरिषद्को कार्यालयसमेत जम्मा सात मन्त्रालय कायम गरिनु विभेद रहेको बताए । ‘तर, मन्त्रालय थप्न पनि संघीय सरकारसँग संघर्ष गर्नुभन्दा आफैँ सबल बन्नुपर्ने हुन्छ,’ उनले भने, ‘प्रदेशमा ७ मन्त्रालय नै निश्चित भइसकेको होइन । भोलि हामी सक्षम हुँदै गएपछि आवश्यकताअनुसार मन्त्रालय र जनशक्ति थप्दै जाने हो।’

प्रकाशित: १६ फाल्गुन २०७४ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App