coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीमामा भारतको दादागिरी : महाकालीमा एकतर्फी पुल, नेपाली भुमिमा बाटो खन्दै

भारतले अनुमति विना महाकाली नदीमा दोपखे क्षेत्रमा लगाएको काठेपुल । तस्बिर : नागरिक

दार्चुला  – कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको दार्चुला जिल्लामा भारतीय पक्षले फेरि सीमामा ज्यादती गरिहेको खुलेको छ। भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल लगाई नेपाली भूमिमै आएर बाटो बनाएको छ। भारतीय पक्षले नेपालतिर मानव बस्ती नै नभएको तथा राज्यको उपस्थिति  नै नभएको  व्यास गाउँपालिका–२  ताम्पाकु, घाटबगर, दोपखे नज्यग क्षेत्रमा काठे पुल निर्माण गरेको छ। भारतीय पक्षले नेपाली पक्षलाई जानकारी नै नगराई बस्ती विहिन स्थानहरुमा  महाकाली नदीमाथि तम्बाकु र लखनपुर, घाटबगर र माल्पा तथा दोपखे र लामारी जोड्ने पुल बनाएको स्थानीय हरक सिह बुढाथोकीले बताए। सोही क्षेत्रमा नेपाली भूमि भएर मेसिनहरु आफ्नो भूमिमा लैजान भारतीय पक्षले नेपाली भूमिमै बाटोसमेत बनाएको छ। 

यता  स्थानीय प्रशासनले भने भारतीय पक्षले एकतर्फी रुपमा दुई ठाउँमा त्यस्ता पुल निर्माण गरेको जानकारी आएको  जनाएको छ। हाल महाकाली नदी किनारको उत्तरतिर दुम्लिङ मात्रै नेपाल प्रहरीको उपस्थिति रहेको छ। पुल निर्माण गरिएको क्षेत्र प्रहरी चौकीबाट अढाई घण्टादेखि चार घण्टासम्मको दूरीमा पर्छ।

व्यास गाउँपालिका–२ राप्लाको दुम्लिङभन्दा माथिको क्षेत्रमा भारतले दुईवटा काठेपुल र २ किलोमिटर लामो गोरेटो बाटो निर्माण गरेको जानकारी आफूले पाएको व्यास गाउँपालिका २ का वडाअध्यक्ष धीरनसिंह बुढाथोकीको भनाइ छ। एउटा पुल भने भारतले पहिलेदेखि बनाउँदै आएको उनी बताउँछन्।

भारतीय पक्षले दुईवटा काठेपुल बनाएको दार्चुला प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए।  सीमा नदीमा पुल बनाएको खबर आएपछि दुम्लिङमा रहेको प्रहरी चौकीबाट फागुन १० गते प्रहरी टोली पुल बनाएको क्षेत्रमा पठाइएको र  फागुन ११ गते जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समेत पुल बनाएको क्षेत्रमा पुगेको डिएसपी शाहीले बताए।

नेपाली भूमिमा बाटो खनेर समान ढुवानी 

भारतीय पक्षले महाकाली नदीवारी  नेपालको भुमीका आफु अनुकुल बाटो खनेर समान तथा उपकरण समेत ढुवानी गरेको छ। सो सम्बन्धमा नेपालको स्थानीय प्रशासनसँग पत्राचार गरी भारतले सडक निर्माणका लागि डोजर लगायतका मेसिन ढुवानी गर्न महाकाली किनारको नेपाली भूमि प्रयोग गर्न  केही समय  अगाडी अनुमति मागेको खुलेको छ तर भारतीय पक्षले अनुमती विनै नेपाली भमीको प्रयोग गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले यसबारे गृह मन्त्रालयलाई पत्राचार समेत गरिसकेको छ थियो  गृहको जवाफ नआउदै उसले नेपाली पक्षको निर्णय पर्खेन। अन्तर्राष्ट्रिय सीमाको विषय भएकाले आफू यसबारे निर्णय गर्न नसक्ने भएकाले  गृह मन्त्रालयको अनुमति माग गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। गृहको अनुमति अहिलेसम्म प्राप्त भएको छैन। उनले भने, ‘उता  भारतले त नेपाली पक्षलाई पत्राचार गर्ने र सडक निर्माणका लागि नेपाली भूमिको प्रयोग गरी डोजर ढुवानी गर्ने काम एकसाथ गरेको छ।’

केही हप्ता अगाडि नेपाली पक्षलाई पत्राचार गर्दै भारतीय प्रशासनले आफ्नो तर्फको सडक निर्माणका लागि नेपाली भूमि भएर डोजर ढुवानी गर्नका लागि अनुमति मागेको थियो। त्यसको केही दिनपछि महाकाली नदीमा दुई देश जोड्ने चार झोलुंगे पुल र नेपाली भूमिमा १२ किलोमिटर लामो गोरेटो बाटो निर्माण तथा मर्मत गर्न लागत विवरण मागेको थियो। वर्षातको समयसम्म चारवटा पुल र १२ किलोमिटर बाटो बनाउने तथा तत्काल दुईटा काठेपुल र २ किलोमिटर गोरेटो बाटो बनाउने भन्दै भारतले फेरि नेपाली पक्षसंग छलफल गरेको थियो।

डोजर ढुवानीका लागि नेपाली भूमि प्रयोगको अनुमति मागेको केही दिनपछि भारतीय पक्षले अर्काे पत्राचार नेपाली पक्षलाई गरेको थियो। लखनपुर, नजंग खोला, छंनकन र बुँदीको कौथलामा गरी चारवटा झोलुंगे पुल निर्माण र नेपाली भूमिमा १२ किलोमिटर गोरेटो बाटो निर्माण तथा मर्मतको लागत विवरण भारतले मागेको थियो। भारतले पुल र बाटो निर्माणको औपचारिक प्रस्ताव नगरेको र लागत विवरण मात्रै मागेको  थियो,’ प्रमुख जिल्ला अधिकारी गौतमले भने, त्यसपछि भारतले नेपाली पक्षसँग सम्पर्क र भेटघाट गरी तत्काल दुईवटा काठेपुल र २ किलोमिटर सडक बनाउनेबारे छलफल गरेको छ।

हाम्रो पक्षबाट कुनै पनि विषयमा भारतीय पक्षलाई सहमति वा अनुमति दिइएको छैन। भारतले भने डोजर ढुवानी गर्ने, दुईवटा काठेपुल निर्माण गर्ने र नेपाली भूमिमा २ किलोमिटर गोरेटो बाटो निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ। यसको पुष्टि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थलगत भ्रमण गरेपछि भएको छ। भारतको धारचुलास्थित एसडिएम कार्यालयले फेरी अर्को एउटा प्रस्ताव गरेको छ। आगामी फागुन २१ वा २२ गते पिथौरागढमा सीमा बैठक गर्ने प्रस्ताव गरिएको छ, गौतमले भने। सो बैठकमा यो विषयका साथै नियमित एजेण्डाका  नेपाली भूमि भएर कैलाश मानसरोवर यात्राको नयाँ एजेण्डा पनि बैठकका लागि प्रस्ताव गरिएको छ।

भारतीय पक्षले नेपालसंग अनुमति वा सहमति माग्दै जाने र अनुमति मागेको विषयमा दुई देशबीच छलफल र निर्णय गर्नुअघि नै एकतर्फी काम पनि गरिरहेको छ। भारतीय पक्षबाट एकतर्फी पुल बनाइएको र नेपाली भूमि भएर डोजर ढुवानी भएको विषयमा प्रमुख जिल्ला अधिकारीमार्फत माथिल्लो निकायमा जानकारी गराइएको डीएसपी जनकबहादुर शाहीले बताए। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले काठेपुल निर्माण भएको र नेपाली भूमि भएर डोजर ढुवानी भएको जानकारी आएपछि आफूले धारचुला स्थित एसडिएमलाई सम्पर्क गरी जानकारी मागेको बताए। धारचुलाका एसडिएम आरके पाण्डेले पुल निर्माण र डोजर ढुवानीबारे आफूलाई जानकारी नभएको जवाफ दिएको प्रजिअ गौतमले बताए। सीमाक्षेत्रको पछिल्लो यो घटनाबारे आफूले गृह मन्त्रालयमा जानकारी गराइसकेको उनको भनाइ छ।

प्रकाशित: १५ फाल्गुन २०७४ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App