५ वैशाख २०८१ बुधबार
खेल

युएईमाथि नेपालको जित

तस्बिर सौजन्य : रमन सिवाकोटी

काठमाडौं – आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराउँदै नेपाल विजयी भएको छ। जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा युएईले दिएको १७२ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पुरा गरेको हो।

टस हारेर जवाफी ब्याटिङ गरेको नेपालका लागि शरद भेष्वाकर र दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१–४१ रन बनाए। शरद ५४ बलमा १ छक्कासहित नटआउट रहे भने ३२ बल खेलेका दिपेन्द्रले ४ चौका र १ छक्का प्रहार गरे। कप्तान पारस खड्काले १ चौकासहित २८ रन जोडे भने आरिफ शेख २ चौका, १ छक्कासहित २३ रनमा नटआउट रहे। उपकप्तान ज्ञानेन्द्र मल्ल १२, अनिल शाह ११ र दिलीप नाथले ४ रन बनाए।

बलिङतर्फ युएईका अमिर ह्यातले नेपालका २ विकेट लिए। मोहम्मद नाभिद, अहमेद राजा, रोहन मुस्तफाले समान १ विकेट लिए।

यसअघि वर्षाले प्रभावित हुँदा २९ ओभरमा छोट्याइएको खेलमा टस जितेर व्याटिङ गरेको युएई २८.५ ओभरमा १७१ बनाउँदै अलआउट भयो।

युएईका लागि असफाक अहमदले सर्वाधिक ४२ रन बनाए। अदनान मुफ्ती ३७, घुलाम साब्बर ३२, मोहम्मद उसमान २६ र साइमन अनवरले १६ रन जोडे।

नेपालका ललितसिंह भण्डारीले सर्वाधिक ४ विकेट लिए। करण केसी र ललितनारायण राजवंशीले समान २–२ विकेट लिए। कप्तान पारस खड्काले एक विकेट लिए। 

आजको अभ्यास खेलमा नेपालका शरद भेष्वाकर म्यान अफ द म्याच घोषित भए।

यही फागुन २० गतेदेखि जिम्बावेमा हुने विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा आयोजक जिम्बावेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन्। 

नेपालले फागुन २० गते जिम्बावेसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। विश्वकप छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले सन् २०१९ मा इङ्ल्याण्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन्। 

प्रकाशित: १५ फाल्गुन २०७४ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App