८ वैशाख २०८१ शनिबार
समाज

सडक विस्तारका लागि नगरपालिकाले किन्यो डोजर र रोलर

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रमा सडक सञ्जाल विस्तारका लागि आफ्नै डोजर र रोलर खरिद गरेको छ। सडक निर्माणमा छलाङ मार्ने लक्ष्यका साथ नगरपालिकाले खरिद गरेको डोजर र रोलर नगरपालिका भित्र्याईएको हो। एक वर्ष भित्र टोलटोलमा सडक पुर्याउने महत्वकांक्षी योजना सहित नगरपालीकाले १ करोड २४ लाखमा डोजर र ४० लाखमा रोलर खरीद गरेको नगरपालीकाका सूचना अधिकारी योग्य प्रसाद राईले बताए।

चुनावी घोषणापत्रमा जनाईएको प्रतिबद्धता र नगरसभाको निर्णय बमोजिम निर्माण सामाग्रीमा आत्मानिर्भर बन्नका लागि सामानहरु खरिद गरिएको नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले बताए। कुल एक करोड ६५ लाखको लागतमा भित्राईएका ति उपकरणले सडक विस्तारको लागि तत्काल काम शुरु गर्ने नगरपालिकाले जनाएको छ। विकासको आधारभुत आवस्यकता सडक नै भएकाले कम लागतमा जनताको घरदैलोमा मोटर बाटोको पहुँच पुर्याउन नगरपालिकाले नै निर्माणका साधन खरिद गरेको मेयर शेर्पाले बताए।  

दश वटा वडा रेहेको नगरपालिकाले एक वडामा एक महिनाका दरले डोजर, रोलर र ट्रिपर काममा खटाउने नीति लिएको छ। टोल–टोलसम्म सडक पहुँच विस्तार गर्नका लागि एउटा वडामा एक महिनासम्म लगातार ट्रयाक खन्ने र सम्याउने काम गर्दा एक बर्ष भित्र दुर दारजसम्मै सडक पुर्याउने योजना रहेको मेयर शेर्पाको भनाई छ। सडक विस्तारको लागि बजेट छुट्याएर ठेक्का वा उपभोक्ता समिति मार्फत काम गर्दा करोडौँ बजेटमा पनि सडक विस्तार सम्भव नहुने भएकाले आफ्नै साधनमा कर्मचारी तलब र तेल खरिद गरेकै भरमा बस्ति–बस्तिसम्म सडक पहुँच पुर्याउने लक्ष्य नगरपालिकाले लिएको छ। 

एक महिनासम्म एउटा वडाका लागि तीन वटै साधनका चालक र आवश्यक ब्यवस्थापन नगरपालिकाले गर्ने जनाईएको छ। यो सँगै नगरपालिकाको आफ्नै पुँजि पनि थपिएको छ। नगपालीकाले डोजर र रोलर ल्याएपछि स्थानीय थप आसा पलाएको छ। नगरपालीका भित्रै पुग्न नसकेको स्थानमा अब सडक पुग्नेमा स्थानीय आसावादी बनेका छन्। टप्टीङका फुला शेर्पाले अब गाउँपालीकाको सवै स्थानमा सडक पुग्नेमा आफु विश्वस्त रहेको र यसले नगरपालीकाको समृद्धिका लागी थप टेवा पुर्याएको बताए। अर्का उत्रमान राई भन्छन, ‘सदरमुकाम जान हिड्नुपर्ने बाध्यता हट्छ कि अब केहि आस पलायो, नगरपालीकाको कार्यलयमा पुग्न एक दिनको माया मारेर हिड्नुपर्ने अवस्था छ।’

नगरपालीकाको सवै स्थानमा सडक विस्तार भए कृषकहरुले उब्जाएको कृषि उपजहरुले सहजै बजार पाउने छ। अहिले कृषकहरु हरेक हप्ता शनीबार नगरपालीका सल्लेरीमा रहेको दोर्पु बजारमा बोकेरै सामानहरु ल्याउन बाध्य छन्। कतिपय स्थानमा सडकको पँहुच पुगेपनि अधिकांस स्थानमा सडकको सहज पँहुच नभएकाले नगरपालिकाले ल्याएको डोजर र रोलरले सडक बिस्तार हुने भन्दै खुसी भएका छन्। डोजर र रोलर सन्चालनका लागी करारमा कर्मचारी नियुक्ति समेत राखीसकेको नगरपालिकाले जनाएको छ।  

प्रकाशित: १५ फाल्गुन २०७४ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App