६ वैशाख २०८१ बिहीबार
समाज

अव्यवस्थित सडक निर्माणले दुर्घटना बढे

रोल्पा- रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ।

ग्रामीण सडकका रुपमा रहेका जिल्लाका भित्री सडक साँघुरा र अव्यवस्थित हुँदा दुर्घटना बढिरहेको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७२-०७३ मा भएका २० वटा सवारी दुर्घटनामा सातजनाको मृत्यु, १२ जना घाइते र २२ जना समान्य घाइते भएका थिए।

यसैगरी, आव ०७३-७४ मा भएका ३६ वटा सवारी दुर्घटनामा पाँचको मृत्यु, २७ जना घाइते र २७ जना सामान्य घाइते भएका थिए । चालू आवको फागुन १५ गतेसम्म भएका आठवटा सवारी दुर्घटनामा तीनजनाको मृत्यु, दुईजना घाइते र १० जना सामान्य घाइते भएका थिए।

भित्री सडकमा ट्र्याक्टर दुर्घटनाको संख्या बढिरहेको देखिएको छ । ट्र्याक्टर दुर्घटनामा केही दिन अगाडि रोल्पाको ह्वामाका एक स्कूले विद्यार्थीको मृत्यु भएको थियो । बिहेको जन्ती बोकेको सो ट्र्याक्टर दुर्घटना हुँदा स्कूले बालकको मृत्यु हुनुका साथै जन्तीसमेत घाइते भएका थिए । यसैगरी, पूर्वी रोल्पाको सिर्पमा गत हप्ता भएको ट्र्याक्टर दुर्घटनामा समेत दुईजनाको ज्यान गएको थियो।

विद्यालय कक्षा सञ्चालन, चालकसँग एक मिनेट कार्यक्रम, चालकको व्यवहारबारे यात्रुसँग छलफलजस्ता कार्यक्रम सञ्चालन गरी दूर्घटना न्यूनीकरणको प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रहरी जवान दिवाकर ओलीले जानकारी दिए।जिल्लाका कालोपत्रे भएका मुख्य सडकमा दुर्घटनाको दर निकै कम रहेपनि भित्री र कच्ची सडकमा बढी मात्रामा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाले बताएको छ।रासस

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App