हामी शिक्षित तर अविवेकशील

मङ्गलबार, १५ फागुन २०७४, १० : ५२ नागरिक

डा. हरिप्रसाद लम्साल
आफ्नो जिम्मामा रहेको काममा ढिलासुस्ती गर्ने, कामै नगर्ने वा बदनियतपूर्ण ढंगबाट काम गर्ने व्यक्तिको मनोभावना तत्कालमा कस्तो होला ? मानव सचेत प्राणी भएकाले पक्कै पनि आफूले ठीक गरिरहेको छैन भनेर सोच्नुपर्ने हो । अर्थात्, यो मैले ठीक गरिरहेको छैन, तसर्थ अब म यस्तो गलत गर्दिनँ भनेर वाचा गर्नुपर्ने हो । तर यस्तो भइहेको छैन।

यस्ता व्यक्तिमध्ये धेरैले आफू असल नियतले काम गरिरहेको तर अरू खराब छन् भन्न सक्छन् । सबैले गरेकै छन्, म एक जनाले नगर्दैमा के हुन्छ र भन्न सक्छन । सायद हरेकको मनमा यस्तै सोच आउला, अरू सबै खराब म मात्र असल भन्ने । अनि बन्ला त नेपाल यस मनोवृत्तिबाट ?

रानीपोखरी अगाडि दर्दनाक रूपमा रहेको दरबार हाइस्कुलका शिक्षक, प्रधानाध्यापक तथा हामी शिक्षाका पदाधिकारी कोही पनि विद्यालय यस्तो हुनुमा हाम्रो पनि जिम्मेवारी छ भनेर सोचेका थियौँ होला ? सोचेका भए पनि सो बमोजिम काम गरेनौँ । यदि सही सोचेर सो बमोजिम काम गरेको भए यस विद्यालयको अवस्था आज पक्कै पनि यति दयनिय हुने थिएन होला । तर हामी सबै इमानदारी, सुशासन र सदाचारबारे लामो व्याख्या गर्न सक्छौँ र कतिपयले शिक्षक सेवा आयोग वा लोक सेवा आयोगमा भएको परीक्षामा लेखेर उत्र्तीण भएर आएका पनि छौँ । भने बमोजिम व्यवहारमा काम भएन, के भन्ने ? मुलुकमा दरबार हाइस्कुल त एउटा प्रतिनिधिमूलक पात्रमात्र हो, यस्ता बेथितिका सयौँ नमुना हामीसँग छन् । यदि सार्वजनिक जिम्मेवारीमा रहेका सबैले आफ्नो जिम्मामा रहेको काम सम्पन्न गर्न सकेको भए दरबार हाइस्कुल र अन्य निकायहरू पक्कै पनि यस्तो अवस्थामा आउने थिएनन् । सानो सानो काम जोडिँदै गएपछि ठूलो हुने हो, एकैपटक ठूलो काम त कसैले पनि गर्न सक्दैन भन्ने जस्ता भनाइ नारामा सीमित रहेपछि मुलुकको के लाग्दो रहेछ र ?

मुलुक बदल्ने हो भने हामी बदलिन जरुरी छ । सार्वजनिक पदाधिकारी मात्र बदलिने हो भने पनि नेपालमा धेरै क्षेत्रमा सुधारका लक्षण तत्कालै देखिन सक्छन्।

मुलुक विकासका लागि विगतदेखि आजसम्म धेरै योजना बने, तिनको कार्यान्वयन पनि भए । कतिपय पक्षमा उपलब्धि हासिल भएका पनि छन् । जानेको भए अझ बढी उपलब्धि हासिल हुन सक्थ्यो होला । राजनैतिक रूपमा मुलुकले संघीय शासन पद्धति अवलम्बन गरिसक्यो । सांस्कृतिक पक्षमा पनि धेरै थोरै परिवर्तन आइसक्यो । आर्थिक पक्षमा पनि केही सकारात्मक परिवर्तन आएकै छन् । विद्यार्थी भर्नादर र साक्षरतामा परिवर्तन आएको पनि छ, तर नागरिकको आम प्रवृत्ति र व्यवहारमा कति परिवर्तन आयो होला ?

नेपालको सार्वजनिक प्रशासनमा अहिले सार्वजनिक सेवा प्रभावकारी रूपबाट हुन नसकेको टिप्पणी धेरै कोणबाट आएको छ । सार्वजनिक प्रशासनमा रहनेहरूले पाउने तलब भत्ता तथा अन्य सुविधा जनताले तिरेको करबाट जम्मा हुने गर्छ । कर्मचारी कार्यालयमा नभेटिने, शिक्षक विद्यालय तथा कक्षाकोठामा नभेटिने, सेवाग्राहीबाट अनुचित लाभको अपेक्षा गर्ने, अनुशासन पालना नगर्ने, सार्वजनिक नियम मिच्दा वा नमान्दा ठूलो ठान्नेजस्ता विषयहरूलाई कदापि पनि सदाचार मान्न सकिँदैन । यस्तै, व्यवहार प्रदर्शन गर्नेले सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमा सदाचारबारे लामो टिप्पणी तथा भाषण दिनुलाई के भन्ने ?

जबसम्म नागरिक चेतनासम्बन्धी पक्षहरूमा परिवर्तन आउँदैन, भौतिक परिवर्तनले मुलुक विकास हुन सम्भव छैन । बानी व्यवहार, संस्कार र भावनामा परिवर्तन सार्वजनिक पद धारणा गर्ने र नागरिक दुवैतर्फबाट हुनुपर्छ । सुधारका लागि व्यक्तिको आचरण, बानी व्यहार र संस्कारमा परिवर्तन आउनुपर्छ । यस्तो परिवर्तन मुख्यतः दुई किसिमबाट हुन सक्छ भन्ने गरिन्छ, तलबाट माथितिर सर्ने र माथिबाट तलतिर सर्ने । पहिलो व्यक्ति व्यक्तिमा परिवर्तन ल्याएपछि समाजमा परिवर्तन ल्याउन सकिन्छ भने दोस्रो अवधारणा समाज परिवर्तन गरेपछि व्यक्तिमा स्वतः परिवर्तन आइहाल्छ भन्ने हो । यी दुवै सँगसँगै जान सके अति राम्रो।

परिवर्तनलाई संस्कार (कल्चर) र संरचना (स्ट्रक्चर)को दृष्टिकोणबाट पनि व्याख्या गर्न सकिन्छ । माथिबाट गरिने परिवर्तन संरचना र प्रणालीमा सुधार ल्याउन उपयोगी हुन्छ भने व्यक्तिबाट सुरु हुने परिवर्तनले समाजमा परिवर्तन त ल्याउँछ तर यसको असर देखिन समय लाग्छ । यस अवधारणा बमोजिम व्यक्ति व्यक्ति परिवर्तित हुँदै संस्था निर्माण हुन्छ, त्यसपछि समाज परिवर्तन हुन्छ, अनिमात्र मुलुकमा परिवर्तन हुन्छ । आखिर दुवै तर्फबाट सुधार वा परिवर्तन सुरु गर्न सके मुलुक बन्न धेरै समय लाग्दैन । मुलुक बदल्ने हो भने हामी बदलिन जरुरी छ । सार्वजनिक पदाधिकारी मात्र बदलिने हो भने पनि नेपालमा धेरै क्षेत्रमा सुधारका लक्षण तत्कालै देखिन सक्छन्।

धेरैले आफूलाई तोकिएको कामबाहेक बाँकी सबै काम गर्छन् भन्ने भनाइलाई गलत साबित गर्न पनि हामीमा परिवर्तन चाहिएको छ । राजनैतिक, सरकारी र गैरसरकारी क्षेत्रका व्यक्तिहरूले सामाजिक सञ्जाल र भनाइमा सुशासन र आर्थिक अनुशासनबारे धेरै अर्ति उपदेश दिन्छन् । यदि यिनै सामाजिक सञ्जाल रंगाएका व्यक्तिहरूले मैले यस काममा सुधार गरेँ भनेर सोको प्रबोधीकरण गर्ने हो भने पनि अहिलेको अवस्थामा परिवर्तन आउन सक्छ । यसरी सबैले आआफ्नो क्षेत्रबाट सुधारका काम सुरु गर्ने हो भने मुलुक बन्ने क्रम स्वतः सुरु हुन्छ । अब भनेर पत्याउने बेला छैन, गरेर देखाएपछि सबैले स्वीकार्न बाध्य हुन्छन् । तसर्थ अब भन्नेमात्र भन्दा पनि भनेको कुरा गर्ने बेला आएको छ।

कार्यालयमा नभेटिने वा समय पालनामा ध्यान नदिने कर्मचारी, कक्षा कोठामा नभेटिने शिक्षक वा प्राध्यापक, राम्रोभन्दा आफ्नोलाई प्राथमिकता दिने राजनीतिज्ञ, नियम विपरीतको बाटो अवलम्बन गरी छिटो कमाउन खोज्ने व्यापारी, लक्षित वर्गभन्दा आफ्नोमा बढी ध्यान दिने गैरसरकारी क्षेत्र सबैले आफूले अर्ति र उपदेशमा उल्लेख गरेकामध्ये कुनै एक कामबाट आफैँले सुधार सुरु गर्ने हो भने परिवर्तनतर्फको सुधारले गति लिने निश्चित छ । अनि मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम हुने क्रम बढ्छ । यसका लागि अरूलाई अर्ति होइन, आफैँबाट सुधार सुरु गर्नुपर्छ । अनि मात्र भनाइ र गराइमा तालमेल हुन्छ।

नेपालमा नियम नभएर अवस्था बिग्रेको होइन, भएका नियम कार्यान्वयन नभएर हो । कतिपय पक्षमा नयाँ नियम आवश्यक पनि हुन्छन् होला । तर पहिलो आवश्यकता भएका नियम कार्यान्वयनका लागि हाम्रो मानसिकतामा परिवर्तन गर्नु नै हो । उदाहरणका लागि सार्वजनिक स्थानमा धूमपान गर्न हुँदैन भनेपछि कसैले देखेको छैन भनेर धूमपान गर्ने संस्कार रहँदासम्म अवस्था सुध्रदैन । प्रहरी छैन भनेर लेन अनुशासन मिचेर अगाडि गइहालौँ भन्ने मानसिकता रहँदासम्म सुधार सम्भव छैन । यो नियम म आफैँले पहिला पालना गर्नुपर्छ भनेर स्वयं व्यक्तिले पालना गर्न सुरु गरे बिग्रेको अवस्थामा सुधार आउनेक्रम सुरु हुन्छ । आफूले नियम पालना गरेर अर्कोका कामबारे प्रश्न उठाउन सके जिम्मेवार नागरिक बन्न सकिन्थ्यो, अधिकार र कर्तव्य दुवै पूरा गर्न सक्ने नागरिक । तसर्थ विकासका लागि पहिलो सर्त व्यक्तिको मानसिकतामा परिवर्तन हो । यो भनाइ आदर्श जस्तो पनि देखिन्छ तर वास्तविकता यही नै हो । आफू आफू नबदलिइकन केही हुनेवाला छैन । सबैले नियम आफैँ मानेर आजको भोलि नै रामराज्य हुन्छ भन्ने पनि होइन । समाजमा नियम आफैँ मान्ने वा स्वशासित हुनेको संख्या बढ्दै गएमा सुधार सुरु हुन्छ,  शान्ति र स्थायित्व हासिल हुन्छ, अनि समृृद्धितर्फ लाग्ने क्रम सुरु हुन्छ । भनेर समृद्धि हासिल हुने होइन, गरेर हासिल हुने हो।

व्यक्तिमा परिवर्तन ल्याउनका लागि सबैभन्दा महत्वपूर्ण साधन शिक्षा हो भन्नेमा दुईमत छैन तर यस्तो शिक्षा गुणस्तरीय भने हुनुपर्छ । यस्तो परिवर्तनका लागि औपचारिक शिक्षामात्र नभएर विभिन्न किसिमका अन्तक्र्रिया, छलफल, बैठक, भेटघाट आदि पनि महत्वपूर्ण हुनसक्छन् । आज हामी यस्ता हुनुमा विगतमा हामीले लिएको शिक्षा र आजका दिनमा हुने गरेका अन्तक्र्रियाकै असर हुन् । आजका बालबालिका भोलि कस्ता बन्लान् भन्नेमा आज हामीले दिएको शिक्षाको गुणस्तरमा भर पर्ने निश्चित छ । तसर्थ गुणस्तरीय शिक्षा नै नागरिकको आचरण, बानी व्यवहार र संस्कार बदल्ने महत्वपूर्ण साधन हो । परिवर्तन ल्याउनमा महत्वपूर्ण भूमिका खेल्ने अन्य अनौपचारिक साधनहरूमा राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक संस्थाहरू पर्छन् । यस्ता संस्था जति बलिया र प्रभावकारी हुन्छन्, सकारात्मक परिवर्तन त्यति छिटो सम्भव हुनसक्छ । मुलुक बनाउने हो भने आजैबाट संस्था निर्माणतर्फ पनि लाग्नुपर्ने हुन्छ, किनकि, संस्थाले निश्चित मूल्य, मान्यता र सूचकमा आधारित भएर लोकतान्त्रिक मूल्य, मान्यता, समता, निष्पक्षता, तटस्थताका सिद्धान्तअनुरूप काम गर्ने हुन्छन्, जुन आज हामीलाई सबैभन्दा बढी चाहिएको छ।
                                                                                                                         (सहसचिव, शिक्षा मन्त्रालय)  

 







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...