८ वैशाख २०८१ शनिबार
खेल

सिटी लिग कप च्याम्पियन

लन्डन – म्यानचेस्टर सिटीले आइतबार आर्सनललाई ३–० ले पराजित गर्दै इङ्लिस लिग कपको उपाधि जितेको छ । पेप ग्ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले जितेको यो पहिलो उपाधि हो । स्ट्राइकर सर्जियो अग्विरो, भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको गोलमा सिटीको जित पक्का भएको थियो । सिटीले इङ्लिस लिग कपको उपाधि जितेको यो पाँचौं पटक हो।

गत सोमबार विगानलाई सेमिफाइनलमा नतिजा सुम्पँदै एफए कपबाट बाहिरिएको इङ्लिस प्रिमियर लिगको शीर्ष टोली सिटीले आइतबारको जितसँगै उक्त चोटमा मलम लगाएको छ।

‘यो महत्वपूर्ण उपाधि हो,’ ग्वार्डिओलाले भने, ‘हामी सबै खुसी छौं । सिटीका सम्पूर्ण खेलाडी र समर्थकलाई विशेष बधाई । यो उपाधि सिटीले जितेको हो, मैले होइन । हामीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सकेनाैं तर दोस्रो हाफमा हाम्रो प्रदर्शन राम्रो रह्यो । जुन उपाधि जित्न पर्याप्त बन्यो।’

वेम्बलीमा सम्पन्न खेलको १८औं मिनेटमा अग्विरोले सिटीलाई अग्रता दिलाएका थिए । गोलकिपर क्लाउडियो ब्राभोले लिएको लामो पास नियन्त्रणमा लिँदै अग्विरोले आर्सनलका गोलकिपर डेभिड ओस्पिनासँग वान भर्सेस वानको अवस्थाबाट बललाई जाली चुमाएका थिए।

५८औं मिनेटमा कोम्पनीले एलके ग्युडोगानको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । त्यसको ७ मिनेटपछि सिल्भाले गोल गर्दै सिटीको अग्रता बढाएपछि इङ्लिस लिग कपको उपाधि पहिलो पटक जित्ने आर्सनलका प्रशिक्षक आर्सेन वेंगरको लक्ष्यमा पूर्णविराम लागेको थियो । सिल्भाले ड्यानिलोको पासलाई पोस्टको दिशा दिएका थिए।

१०औं मिनेटमा पिरे इमेरिक औबामेयाङले गोलको सुनौलो अवसर पाएका थिए । तर औबामेयाङको प्रहार ब्राभोले विफल पार्दा आर्सनल निराश बनेको थियो । लगत्तै अग्विरोले पनि गोल गर्ने राम्रो मौका पाएका थिए । तर उनको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो।

‘हामीले सुरुआती १० मिनेटमा पाएको एउटा सहज अवसरमा गोल गर्न सकेनौं,’ वेंगरले भने, ‘रक्षापंक्ति र गोलकिपरबीचको तालमेल अभावको फाइदा उठाउँदै सिटीले पहिलो हाफमा अग्रता लियो । पहिलो हाफको तुलनामा सिटी दोस्रो हाफमा पूर्ण रूपमा हाबी बन्यो । सिटीले गरेको दोस्रो गोल अफसाइड थियो र रेफ्रीले त्यसलाई गोलको मान्यता दिए, जुन दुर्भाग्यपूर्ण थियो । तर सिटी जितका लागि हकदार टोली हो ।’ स्ट्राइकर सर्जियो अग्विरो, भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको गोलमा सिटीको जित पक्का भएको थियो।

प्रकाशित: १५ फाल्गुन २०७४ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App