७ वैशाख २०८१ शुक्रबार
अर्थ

सहकर्मीको नजरमा अर्थमन्त्री खतिवडा

काठमाडौं – वित्तीय क्षेत्रका सुधारकका रुपमा लिइएका पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं पूर्वगभर्नर युवराज खतिवडा अर्थमन्त्री भएका छन् । कुशल नेतृत्वका कारण उनी राष्ट्र बैंकमा सुशासन कायम गर्न सफल थिए।

खतिवडासँग अर्थतन्त्रको विषयगत ज्ञानका साथै दातृ निकायसँग पनि राम्रो सम्बन्ध भएकाले आगामी दिन अझै सहज हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सोमबार नागरिकलाई बताए । ‘खतिवडाले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्दा विदेशी लगानी आकर्षित गर्न सहज हुनेछ,’ खतिवडा गभर्नर हुँदा डेपुटी गभर्नरको जिम्मेवारीमा रहेका अधिकारीले भने, ‘सबैलाई मिलाएर लान सक्ने कुशल नेतृत्व उहाँसँग छ।’

प्रत्यक्ष वैदेशिक लगानीबिना नेपालको पूर्वाधार निर्माणमा ठोस केही पनि गर्न नसकिने धारणा खतिवडाको छ । नेपालको हित हुने क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई )भित्र्याउने नीति हुनुपर्ने खतिवडाको धारणा छ।

अर्थतन्त्र अप्ठेरो परिस्थितिमा रहेका बेला खतिवडा गभर्नर भएका थिए । खतिवडाकै कुशल नेतृत्वका कारण अर्थतन्त्र ट्र्याकमा आएको थियो । ‘अर्थतन्त्रमा संकटमा परेको बेला सफलतापूर्वक सुधार गर्न सफल हुनुभएको थियो,’ अधिकारीले भने, ‘घर–जग्गामा अत्यधिक ऋण गएको थियो, त्यसलाई नियन्त्रण गर्न सफल हुनुभएको थियो ।’

खतिवडा गभर्नर हुनुअघि बैंक तथा वित्तीय संस्था खोल्न लाइसेन्स दिने काम भएको थियो । त्यसलाई रोक्ने काम भएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले बताए । ‘वित्तीय क्षेत्रमा धेरै लाइसेन्स बाँड्ने काम भएको थियो, उहाँले त्यसलाई नियन्त्रण गर्नुभयो,’ खतिवडासँगै राष्ट्र बैंकमा अधिकृत तहबाट जागिर खान सुरु गरेका ज्ञवालीले भने, ‘त्यसबेला बैंक तथा वित्तीय संस्थाले सेयर बजार र घरजग्गामा अन्धाधुन्द लगानी बढाएका थिए । त्यसलाई नियन्त्रण गर्न खतिवडा र म लगायतको टिम सफल भएका थियौं ।’ खतिवडालाई अर्थतन्त्र मात्र होइन वित्तीय क्षेत्रका सुधारकका रुपमा लिन सकिने ज्ञवालीले बताए।  

खतिवडा गभर्नर हुनुअघि घरजग्गामा अधिक ऋण प्रवाह भएका कारण बैंक तथा वित्तीय संस्था धराशयी हुने अवस्थामा पुगेका थिए । ‘लिकबाहिर गइसकेको लगानीलाई ट्र्याकमा ल्याउन उहाँको महत्वपूर्ण योगदान छ,’ अधिकारीले भने, ‘लगानीयोग्य पुँजीको अभाव (तरलता) बैंक तथा वित्तीय संस्थाले खेपिरहेका थिए ।’ खतिवडाको कुशल नेतृत्वका कारण तरलताको समस्या समाधान भएको उनले बताए । ‘बैंक तथा वित्तीय संस्थामा सुशासनको अभाव थियो,’ अधिकारीले भने, ‘सुशासन कायम गर्न उहाँको महत्वपूर्ण योगदान छ।’

खतिवडाकोे नेतृत्वमा अर्थतन्त्र सही ट्र्याकमा आउने विश्वास लिइएको छ । ‘लिक’ बाहिर जान लागेको अर्थतन्त्रलाई लिकमा ल्याउने अपेक्षा गरिएको छ । विकास निर्माणका लागि आवश्यक पर्ने पर्याप्त स्रोत जुटाउन सहज हुने अधिकारीको भनाइ छ।

 राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका खतिवडालाई अर्थमन्त्री बनाउनुलाई ‘उपयुक्त छनोट’ भन्छन् अधिकारी । ‘अर्थमन्त्रीमा खतिवडाको नियुक्तिले लगानीकर्ता र सर्वसाधारणको विश्वास जित्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘सबै खालका अप्ठेरा समाधान गर्न सक्ने क्षमता भएकाले पनि उहाँलाई अर्थमन्त्रीमा गरिएको नियुक्तिलाई सकारात्मक रुपमा लिइएको छ ।’

खतिवडालाई खरो व्यक्ति मानिन्छन् । संस्थागत रुपमा र बलियो नियमनमा बस्नुपर्छ भन्ने मान्यता राख्ने उनलाई केही व्यक्तिले घमण्डी भन्ने गर्छन् । तर अधिकारी सँगै काम गर्दा कहिल्यै त्यस्तो अनुभव नभएको बताउँछन्।खतिवडासँग अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको ज्ञान छ । ‘ज्ञानको कमी छैन,’ ज्ञवालीले भने, ‘राजनीतिक गन्ध नआउने गरी काम गर्न सक्नुभयो भने उहाँ सफल हुनुहुनेछ ।’ नेपालको समसामयिक अर्थतन्त्र बुझेर हाँक्न सक्ने क्षमता खतिवडासँग भएको ज्ञवालीको भनाइ छ।

अनुत्पादक क्षेत्रमा गएको लगानीले परनिर्भरता बढाउने भन्दै खतिवडाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन जोड दिने गरेका छन् । कृषि तथा पशुपालनलाई बढावा दिनुपर्ने मान्यता खतिवडाको छ । साना तथा मझौला उद्यमबाटै देशको आर्थिक उन्नति गर्नुपर्छ भन्ने खतिवडाले सेवा क्षेत्रको विकासमा समेत जोड दिने गरेका छन् ।


 

 


 

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App