coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रालय र मन्त्री टुंग्याउनै सकस

जनकपुरधाम – सरकार गठन भएको दुई साता पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तारको टुंगो लाग्न सकेको छैन । मन्त्रालय कम र आकांक्षी धेरै हुँदा मन्त्री चयन गर्न ढिलाइ भइरहेको छ।

प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा बनेको सरकारलाई राजपाले बैसाखीका रुपमा साथ दिइरहेको छ । फागुन ३ गते मुख्यमन्त्रीसँगै दुवै पार्टीबाट एकएक जना मन्त्रीले शपथ लिए । प्रदेश २ मा सातवटा मन्त्रालय राख्ने निर्णय भएको छ । तीमध्ये संघीय फोरमले मुख्यमन्त्री र तीन मन्त्रालय तथा राजपाले तीन मन्त्रालय पाउने गरी भागबन्डा मिलाएका छन्।

फोरमले मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजनामन्त्रीमा पार्टी कोषाध्यक्ष विजय यादवलाई पठाए पनि आन्तरिक मामिला तथा कानुन र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली छ । राजपाले पार्टी महासचिव जितेन्द्र सोनललाई भौतिक पूर्वाधार विकासमन्त्री बनाएको छ । राजपाको भागमा परेको सामाजिक विकास र पर्यटन तथा वन मन्त्रालय रिक्त छ।

मुख्यमन्त्री लालबाबु राउतले बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने संकेत गरेका छन् । सरकारका प्रवक्ता विजय यादवले दुवै पार्टीबाट मन्त्री छनोटको टुंगो लागिसकेको जानकारी दिँदै छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताए । उपयुक्त समयको पर्खाइमा विस्तार गर्न केही विलम्ब भएको बताए पनि ढिलो हुनुको आन्तरिक कारण खुलाउन चाहेनन्।

राजपाका एक नेताले भने आकांक्षीलाई व्यवस्थापन गर्न नसक्दा मन्त्रीको टुंगो लगाउन विलम्ब भइरहेको बताएका छन् । ‘राजपाभित्र अहिले पनि ६ पार्टी जीवन्त छ,’ उनले भने, ‘पार्टीको भागमा जम्मा ३ मन्त्रालय परेको छ, कसलाई दिने कसलाई नदिने ?’ एउटै पार्टीबाट आधा दर्जनका दरले मन्त्रीका दाबेदार रहेको जानकारी उनले दिए । उनले भने, ‘अध्यक्ष मण्डलभित्रै कुरा मिलाउन धौधौ छ।’

चुनावअगाडि तत्कालीन मधेस केन्द्रित ६ दल मिलेर बनेको राजपाले अहिलेसम्म पार्टी एकताको अन्तिम रूप दिन सकेको छैन । छवटै पार्टी अध्यक्ष कायमै रहनेगरी अध्यक्षमण्डल बनाएर पार्टी सञ्चालन गरिए पनि नेतृत्व चयन गर्न सकेको छैन । हाल  प्रदेश २ को सरकारमा बराबरीको अंश पाएको राजपाले मन्त्री टुंग्याउन विवादमा अल्झिनुपरेको छ । प्रदेश सभामुख तत्कालीन सद्भावना र भौतिक पूर्वाधारमन्त्री तमलोपाले पाइसकेका छन् । अब दुई मन्त्रालय बाँकी छन् । भाग पाउन नसकेको राजपाभित्र चार पार्टी छन् । तमसपा, रामसपा, नेपाल सद्भावना र फोरम गणतान्त्रिक । यीबाहेक धेरै सिट जितेको भन्दै तमलोपा र सद्भावनाको थप भाग पाउनुपर्ने आकांक्षा पनि कायमै छ।

पार्टी अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीले मन्त्री बन्ने आकांक्षीको संख्या धेरै रहेको स्वीकारे । ‘६ पार्टी मिलेर बनेको राजपाभित्र मन्त्रीका लागि योग्य धेरै नेता छन् । उनीहरु सबैले मन्त्री बन्नुपर्ने दाबी गर्नु पनि स्वाभाविक हो,’ उनले भने, ‘तर, त्यही विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भने होइन ।’ समावेशी मन्त्रिपरिषद् गठनमन लागि पार्टीभित्र विस्तृत छलफल भइरहेको उनले बताए । उनले भने, ‘अध्यक्षमण्डलमा छ जना भए पनि पार्टी एक ढिक्का छ, मन्त्री छनोटबारे निर्णय एकमतबाट चाँडै सार्वजनिक गरिनेछ ।’ बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने उनले पनि संकेत गरेका छन् ।

 

प्रकाशित: १५ फाल्गुन २०७४ ००:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App