८ वैशाख २०८१ शनिबार
राजनीति

‘गुटबन्दीले एमाले कमजोर'

काठमाडौं- नेकपा एमालेका नेताहरूले गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदै लगेको बताएका छन्। एमालेका जारी स्थायी कमिटीको बैठकमा बोल्दै उनीहरूले संस्थागत निर्णय हुन छाडेर गुटको राजनीति मौलाएको भन्दै आगामी चुनावमा त्यसको परिणाम देखिने चेतावनी दिएका हुन्। बुधबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव गोकर्ण विष्ट र स्थायी कमिटीको सदस्य मुकुन्द न्यौपानले यस्तो धारणा राखेका थिए।

खनालले संविधान कार्यान्वयन, आगामी निर्वाचनका लागि पार्टीभित्र र बाहिर दुवैतिर एकता आवश्यक भएको बताए। 'संविधान कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णायक पात्र राजनीतिक दल नै हुन्, बाहिरको शक्ति भनेका सहायक मात्रै हुन्,' खनालले भने, 'संविधान कार्यान्वयनका लागि पनि अन्तःपार्टी र अन्तर पार्टी एकता आवश्यक छ।'

बैठकमा सचिव गोकर्ण विष्टले पार्टी नेताहरूको नाममा स्थापित संस्थामार्फत गुटबन्दी सुरु भएको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए। 'पार्टीभित्रको संवैधानिक माध्यमबाट गतिविधि सञ्चालन हुनुपर्नेमा नेताहरूको नाममा सञ्चालन गरेको संस्थाबाट गुटगत गतिविधिको काम भएको छ,' सचिव विष्टले बैठकमा  भने, 'नेताहरूको नाममा कार्यकर्ताको भावना खेलवाड गर्ने काम भएको छ। त्यसलाई तत्काल रोक्न आवश्यक छ।'

सचिव विष्टले मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी अध्यक्ष केन्द्रले नेताहरूको नाममा पार्टीका कार्यकर्ताको भावनामाथि खेलवाड गर्ने काम गरेको सचिव विष्टले आरोप लगाएका थिए।

सात वटा विषयलाई समेटेरमा छलफल जारी रहेको बैठकमा समसायिक राजनीतिक परिस्थितिबारे केही दिनदेखि समीक्षा भइरहेको छ। बैठकमा सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि धारणा राखेका थिए। 'व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतले संविधानको कार्यान्वयन र तहगत निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक स्थायित्वमार्फत मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्न संसद्मा सशक्त र प्रभावकारी भूमिका खेल्नुपर्ने कुरामा बैठकले जोड दिएको छ,' प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २ भाद्र २०७३ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App