८ वैशाख २०८१ शनिबार
अर्थ

आलु खेतीबाट लाखौ भित्र्याउँदै टाहटिम

गुल्मी – जिल्लाको रुरु गाउँपालिका ५ टाहटिमका कृषक आलु खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। आलुखेती बाटै उनीहरु बार्षिक लाखौं रुपैयाँ भित्र्याउन सफल हुने गरेका छन्। 

रुरु गाउँपालिका ५ बम्घा टाहटिमका आलु किसान लक्ष्मण गिरी ३० बर्षदेखि निरन्तर आलु खेती गदै आएका छन्। गिरीले आलु खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएको बताएका छन्। आलु खेतीबाटै उनी वर्षभरीको घर खर्चको जोहो गर्छन्। गिरी जस्तै टाहटिमका २ दर्जनबढी किसानले आलु खेती गरिरहेका छन्। आलु खेतीबाट उनीहरुले राम्रै आम्दानि पनि गरिरहेका छन्। 

आलुखेति गरेर यहाँका कृषकले न्यूनतम २५ हजारदेखि १ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्ने गरेका छन्। ५ रोपनी जग्गामा आलु खेती गरेका गिरीले अघिल्ला वर्षको तुलनामा यस वर्ष कम आम्दानि भएको बताए। ‘अघिल्लो बर्षहरुमा जस्तो यस बर्ष आलु उत्पादन हुन सकेन’, गिरीले भने, ‘बढी चिस्यानले उत्पादनमा कमी आयो।’ 

अघिल्लो बर्ष ३० कुन्टलबढी आलु उत्पादन भएको बताउदै उनले यस बर्ष २० कुन्टलजति उत्पादन हुने बताए। गिरी जस्तै टाहटिमका सवैभन्दा धेरै आलु खेती गर्ने ज्ञान प्रसाद श्रेष्ठले पनि यस बर्ष आलु उत्पादन कमी आएको बताए। ‘मैले करिव ८ रोपनी जग्गामा आलु खेती गरेको छु’ श्रेष्ठले भने, ‘अहिले २५ रुपैयाँ प्रतिकेजी विक्रि गर्दा १ लाखभन्दा बढी आम्दानी हुन्छ।’ उनले आलु खेती र पशुपालन आफ्नो मुख्य पेशा भएको बताए। श्रेष्ठ वार्षिक आलु र पशुपालनवाट करिव ३ लाख आम्दानी गर्छन्। आलु खेती गरेरै केटाकेटीहरुलाई पढाउनुका साथै घर चर्च चलाउने गरेका छन्। 

३५ बर्षदेखि आलु खेती गदै आएका सोही गाउँकी गोमा गिरीले पनि आलु खेतीबाटै बार्षिक १ लाख बचत गर्ने गरेकी छन्। यस बर्ष मात्र उनले ५ कुण्टल वीउ लगाएको बताइन्। ‘केही वर्ष पहिलेसम्म थोरै जग्गामा मात्र आलु खेती गरेर अन्यमा गहूँ खेती गर्थ्यौं’, गोमाले भनिन्, ‘आलु खेतीलाई विस्तार गरेपछि गहुँ खेतीको भन्दा आलुबाट १० औ गुणा बढी आम्दानी हुन थालेको छ।’ 

टाहटिमका ५० भन्दाबढी घरधुरीमध्ये ब्यवसायिक रुपमा ३५ घरधुरीले आलु खेती गर्दै आएका स्थानीय चेतनारायण श्रेष्ठले बताए। आलुको राम्रो उत्पादन हुने भएकाले यसलाई आलुको पकेट क्षेत्र घोषणा गरिनु पर्छ, उनले भने। आलुखेतीमा उच्च प्रविधि प्रयोग गरेर मनग्य आम्दानि गर्न सम्वन्धित निकायले ध्यान दिनु पर्ने उनले बताए।

यहाँ उत्पादित आलु पैचो पसल प्रालिलले खेतमै पुगेर २५ रुपैयाँ प्रतिकेजी खरिद गर्ने गरेको छ।  आलुबाट १५ लाखबढी रकम गाउँमा भित्रिने अनुमान गरिएको छ। 
‘यहाँ लामो समयदेखि किसानहरुले गाउँभरी नै आलु खेती गदै आउनु भएको रहेछ,’ जिल्ला कृषि विकास कार्यालय गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणि पन्थीले भने, ‘यसलाई विशेष पकेट क्षेत्र घोषणा गर्न सके किसानहरुको जिवनस्तर अझ धेरै माथी उठने छ।’ यता रुरु गाउँपालिकाले पनि टाहटिमलाई आलु खेतीका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने जनाएको छ। 

गाउँपालिकाले आलुखेती गर्ने किसानहरुका लागि विभिन्न तालिम र प्राविधिक सहयोगका लागि बजेट छुट्टाएको गाउँपालिका प्रमुख निलकण्ठ गौतमले बताए। टाहटिममा उत्पादन भएको आलु अहिले पैचौ पसल प्रालि मार्फत सदरमुकाम तम्घास, पाल्पा, वुटवल, पोखरा, काठमाडौ, नेपालगञ्ज, नारायणगढ लगायतका शहरमा पुग्ने गरेको छ।

प्रकाशित: १४ फाल्गुन २०७४ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App