७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

‘५२ आनामा मुआब्जा विवाद छ’

प्रकाश फुयाँल, वडाध्यक्ष
कागेश्वरी मनहरा नपा– ६

तपाईं वडाध्यक्ष भएपछि जनताले महसुुस गर्ने के काम गर्नुभयो ?
वर्षातका बेला जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्यौँ । नगरपरिषद्बाट योजना तर्जुमा गर्यौँ । तर, वर्षात्को समय र प्रदेशसभाको निर्वाचनका कारण योजनाहरूले मूर्तरूप लिन सकिरहेका छैनन् । पछिल्लो समय वडा कार्यालयले उपभोक्ता समितिसँग समन्वय गरेर वडास्तरीय योजना अघि बढाइरहेको छ।

केही उपभोक्ताले सक्रिय सहभागिता जनाएका छन् भने केही उपभोक्ताले योजनामा असहयोग गरिरहेका छन् । अबको केही महिनाभित्रै जनताले महसुस गर्ने काम देखिनेछन् । वडा कार्यालयले तिवारी चोकदेखि त्रिकोण स्कुलसम्मको तीन सय मिटरको बाटो ढलान गरिसकेको छ । त्यस्तैगरी, पन्थदेखि खहरेखोलासम्मको दुई सय मिटर सडक निर्माण गरेका छौँ । दलितबस्तीमा एक सय मिटरको ढल व्यवस्थापन लगायत कामलाई तीव्र गतिमा अघि बढाएका छौँ । अन्य योजनामा अहिले काम भइरहेको छ।

जनप्रतिनिधि भएर काम गर्न कतिको सहज रहेछ ?
जनप्रतिनिधि भएर काम गर्न  अप्ठेरै रहेछ । २० वर्षदेखि निर्वाचित जनप्रतिनिधि नहुँदा स्थानीय तह भद्रगोल भएको रहेछ । कर्मचारीतन्त्रमा जिम्मेवारी र जवाफदेही देखिएन । त्यसैले समस्या भएको रहेछ । अव्यवस्थित सहरीकरण, नक्सापासविनै भवन निर्माणलगायत बेथिति भएको रहेछ । त्यसैले हामी निर्वाचित भएर आएसँगै अस्तव्यस्त र भद्रगोल वडालाई सुधार्ने प्रयास गरिरहेका छौँ ।

तपाईंको वडामा जताततै फोहोरमैलाको थ्रुपो देखिन्छ नि ?
वडावासीले फोहोरमैला सार्वजनिक स्थलमा जथाभावी थुपार्ने प्रवृत्ति बढिरहेको छ । मर्निङवाकमा हिँड्ने सर्वसाधारणले सार्वजनिक स्थलमा फोहोर फ्याँक्ने गरेका छन् । वडा कार्यालयले वडावासीलाई फोहोरमैला फ्याँक्नका लागि सदस्यता बन्न बारम्बार अनुरोध गरेको छ । तर, उनीहरूले अटेरी गरिरहेका छन् । त्यसैले वडा कार्यालयले फोहोरैमला जथाभावी नफ्याँक्नका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । जबसम्म बानी–व्यहोरा सुध्रिँदैन, तबसम्म फोहोरमैला व्यवस्थापन गर्न समस्या रहन्छ ।

मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान मुआब्जा विवादले अल्झिएको छ, कसरी विवाद सल्टाउनुहुन्छ ?
लामो समयदेखि मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको जग्गा विवाद रहँदै आइरहेको छ । जसकारण मैदान निर्माणले प्राथमिकता पाउन सकेको छैन । स्थानीयले मुआब्जाको माग राख्दै निर्माण कार्यलाई अवरोध गरिरहेका छन् । वडा कार्यालयले मुआब्जा विवाद सल्टाउन राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरिरहेको छ । करिब ५२ आना जग्गाको मुआब्जा विवादले समस्या निम्त्याएको हो । वडा कार्यालयले स्थानीयलाई मुआब्जाको सट्टा जग्गा उपलब्ध गराउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकबाटै सट्टा जग्गा पारित गर्नुपर्ने देखिन्छ । त्यसका लागि समन्वय गरिरहेका छौँ ।

वडा कार्यालयले मुआब्जा विवाद सल्टाउन राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरिरहेको छ । करिब ५२ आना जग्गाको मुआब्जा विवादले समस्या निम्त्याएको हो । वडा कार्यालयले स्थानीयलाई मुआब्जाको सट्टा जग्गा उपलब्ध गराउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकबाटै सट्टा जग्गा पारित गर्नुपर्ने देखिन्छ ।

तपाईंको वडामा तीव्र गतिमा अव्यवस्थित सहरीकरण बढ्दै गइरहेको छ, रोक्ने  योजना के छ ?
लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा वडामा तीव्र गतिमा अव्यवस्थित प्लटिङ र सहरीकरण बढ्यो । जसकारण ६ फिटेदेखि १० फिटे बाटो खोलेर जग्गा प्लटिङ भइरह्यो । हामी आएपछि वडामा भवन निर्माण आचारसंहिता र नक्सापासलाई अनिवार्य बनाएका छौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणले स्मार्ट सिटीमा जग्गा कित्ताकाट गर्न रोक लगाएकाले पनि अहिले अव्यवस्थित सहरीकरण हुनबाट जोगिएको छ । नगर क्षेत्रलाई व्यवस्थित गराउन व्यवस्थित सहरीकरणको डिजिटल नक्सा तयार पार्न लागेका छौँ । नगर क्षेत्रका सम्पूर्ण पूर्वाधारको स्याटेलाइटबाट नक्सा तयार पार्न लागेका हौँ । जसमा सडकको नक्सा, बस्तीको नक्सा, उद्योगधन्दा कलकारखानाको सम्पूर्ण जानकारी दिने व्यवस्था गरिनेछ ।

तपाईंको वडामा राष्ट्रिय स्तरका सडक अस्तव्यस्त छन् नि ?
हाम्रो वडामा लामो समयदेखि राष्ट्रियस्तरका सडक अस्तव्यस्त र लथालिंग भएका छन् । समयमै काम नहुँदा सडक अस्तव्यस्त बनेको हो । ठेकेदार कम्पनी र सडक विभागको कमजोरीकै कारण पेप्सीखोला–ब्रह्मखेल सडक, खहरे गोठाटारदेखि मूलपानी सडक, तिवारीचोक–चाँगुनारायण पुल खण्डको सडक निर्माण हुन सकिरहेको छैन । हामीले बारम्बार सडक निर्माण सम्पन्न गर्न अनुरोध गरे पनि सरकारले बेवास्ता गरेको छ ।

नगरपरिषद्बबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित बजेटमध्ये ८० प्रतिशत बजेट सडक तथा ढल निर्माणमा छुट्ट्याएका छौँ । महिला, बालबालिकालगायत लक्षित समूहलाई प्राथमिकताको आधारमा बजेट छुट्ट्याएका छौँ ।
कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
मैले जनतालाई ठूलो सपना बाँडेको छैन । आफूले जे सकिन्छ, त्यही काम गर्ने उद्देश्य लिएर अघि बढिरहेको छु । मेरो कार्यकालभित्र वडामा रहेका सम्पूर्ण सडकलाई कालोपत्रे ढलान गर्ने योजनासहित काम गरिरहेको छु । बालबालिका र ज्येष्ठ नागरिकको विभिन्न स्थानमा पार्क बनाउने योजना बनाएको छु ।
प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १४ फाल्गुन २०७४ ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App