coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इपिजी प्रतिवेदन तयारी चरणमा

काठमाडौं – सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहितका विषयमा दुवै पक्ष सन्तुष्ट हुनेगरी नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले  प्रतिवेदन तयार गर्ने भएको छ। 

काठमाडौंमा शनिबार र आइतबार भएको इपिजीको सातौं बैठकपछि दुवै देशका संयोजकले सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहितका विषयमा छलफल सकारात्मक र सहमतिका साथ अघि बढिरहेको बताए। 

बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय टोलीका संयोजक भगतसिंह कोसियारीले दुवै पक्ष सन्तुष्ट हुनेगरी प्रतिवदेन आउने बताए । ‘अहिलेसम्म दुवै पक्षबाट समग्र विषय समेट्ने गरी लिखित र मौखिक संवाद र छलफल भएको छ, द्विपक्षीय सम्बन्ध अझ प्रगाढ र उचाइमा पुर्‍याउने काम भएको छ’, कोसियारीले भने, ‘म भारतीय सरकारको पक्षबाट यो प्रतिबद्धता व्यक्त गर्छु कि प्रतिवदेनबाट दुई पक्ष खुसी हुनेछन्, कोही निराश हुनुपर्ने छैन।’

उनले सन् १९५० को सन्धि, व्यापार तथा पारवहन सन्धि, जलस्रोत, वातावरणसहित समग्र विषयमा दुवै पक्षका धारणा सुन्ने काम बैठकमा भएको बताए । अब प्रतिवदेन लेख्न सुुरु हुने दुवै पक्षले जनाएका छन्। 

दुवै देशबीच भएका शान्ति तथा मैत्री सन्धि, व्यापार, सीमा, पारवहनसहित समग्र विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार हुने जानकारी समूहमा नेपाल संयोजक भेषबहादुर थापाले दिए। 

१९५० को सन्धि, सीमा सुरक्षा विषयलाई समयसापेक्ष बनाउने विषयमा अहिलेसम्मका छलफल सकारात्मक र सही दिशातर्फ अघि बढेको बताइएको छ । समूहले तयार पार्ने प्रतिवेदनले दुवै सरकारलाई उत्साह थप्ने भारतीय पक्षका संयोजक कोसियारीको भनाइ छ । ‘अहिलेसम्म सन् १९५० को शान्ति तथा मैत्री सन्धिदेखि सीमासम्मका विषयमा धारणा सुन्ने काम भएको छ’, थापाले भने, ‘यसमा सकारात्मकबाहेक केही कुरा भन्न सकिँदैन।’ 

समूहलाई तोकिएको २ वर्षे कार्यअवधि असार तेस्रो साता सकिनेछ । समूहको आठौं बैठक एक महिनापछि भारतको नयाँदिल्लीमा बस्नेछ । ‘मार्च अन्तिममा अर्को बैठक गर्ने भनिएको छ । दुवै पक्षलाई  अनुकूलताअनुसार मिति तोकिने छ’, समूहका नेपाल सदस्य राजन भट्टराईले भने। 

प्रकाशित: १४ फाल्गुन २०७४ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App