८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कार्यान्वयन हुनेमा अमेरिकी शंका

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा सिरियाली युद्धविरामबारे मतदान हुँदै। एजेन्सी

सयुक्त राष्ट्रसंघ – गएका केही दिनदेखि चरम रुपमा हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने समाचार प्राप्त भएको छ । उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले अनुमोदन गरेको छ । उक्त परिषद्ले सिरिया देशभर नै ३० दिने युद्धविरामका लागि अपिल गर्दै शनिबार एक प्रस्ताव पारित गरेको जनाइएको छ।

सिरियाली राजधानी दमास्कसको बाहिरी क्षेत्रमा पर्ने एक विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा यसै महिनाको सुरुवातदेखि ठूलो हिंसा मच्चिएको छ । त्यसमा परी सयौं नागरिक मारिएका छन् । उक्त क्षेत्रमा गएको हप्तादिनसम्म व्यापक मात्रामा बमबारी भइरहेको छ । सो बमबारीमा परी सयौं मानिस मारिएपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्कै पहलमा यो निर्णय लिइएको समाचारमा जनाइएको छ ।उक्त क्षेत्रमा मानवीय सहायताका लागि आवश्यक सामाग्री र स्वास्थ्य उपचारका लागि उद्धारका कदमहरू पनि चलाउन सकिएको छैन । त्यसैले उक्त युद्धविरामको समयावधिमा यहाँ चेपुवामा परेका र हिंसाको चपेटमा परेका कैयौं नागरिकलाई सहायता सामग्री वितरणको कार्यक्रम चलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

सिरियामा जारी गर्न लागिएको यो पछिल्लो युद्धविरामको प्रस्तावले सबैभन्दा ठूलो जिहादी समूह र उनीहरूका सहयोगीलाई भने सम्बोधन नगरेको गुनासो बढेको छ । यसले गर्दा त्यसको वास्तविक परिणाम कस्तो हुनेछ भन्ने प्रश्न तेर्सिएको पनि कतिपयले बताएका छन् । तर उक्त समूहको प्रतिक्रिया भने अहिलेसम्म आएको छैन । तर उक्त प्रस्ताव पारित भएपछि पनि राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाको सरकारी सैन्यबल सो युद्धविरामको पक्षमा उभिनेमा शंका रहेको बताइन् ।
उक्त प्रस्तावको पक्षमा रुस नरहेको अमेरिकाको आरोप थियो । तर पनि प्रस्तावको भने पक्षमा नै रुसले मतदान गरेका छन् । तर अमेरिकाले भने सो मतदानलाई ढिलो गराउनमा रुसले नै भूमिका खेलेको भन्दै रूसको आलोचना गरेको बताइएको छ।

त्यसैगरी रुसी राजदूतले पनि सुरक्षा परिषद्को प्रस्तावमा हुन लागेको भनिएको सो युद्धविराम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेको प्राप्त अर्काे एक समाचारमा जनाइएको छ ।उता प्राप्त एक पछिल्लो समाचारअनुसार अभियानकर्ताहरूले सुरक्षा परिषद्ले मतदान गरेपछि पनि गुटा क्षेत्रमा हवाई आक्रमण जारी रहेको जानकारी दिएका छन् । सिरियाली सरकारी सैन्यबलको नेतृत्वमा जारी सो हवाई आक्रमण शनिबार साँझ नै पनि भएको थियो।

पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा निकै आक्रामक रुपमा नै आक्रमण गरेको छ । सो आक्रमणमा परी पछिल्लो दुई हप्तामा मात्र पनि करिब ५०० जना सर्वसाधारण मारिएका छन् । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीले बताएअनुसार सो क्षेत्रमा यसै महिनाको सुरुदेखि नै सिरियाली सेनाको अगुवाइमा रहेका सुरक्षाकर्मीले हवाई र स्थलगत कारबाही गरेका छन् । मारिनेमा १ सयजनाभन्दा बढी बालबालिका पनि परेका छन्।

नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर रहेको र चेपुवामा परेका नागरिकको अवस्था निकै नै नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भएपनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो । सुरुमा यस प्रस्तावमा रुसको विरोध भएपछि लम्बिएको थियो । मानवअधिकारबादीले मानवीय सहायता पुर्याउनका लागि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेका बताइएको थियो । सोही बमोजिम संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा उक्त प्रस्तावमा छलफल भएको थियो।

सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै जनआन्दोलन सुरु भएको थियो । त्यो आन्दोलनले केही वर्षयता आएर भने हिंसाको रुप लिएको छ । जारी सो द्वन्द्वमा परी हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यस्तै लाखौं नागरिक घाइते भएका छन् । तर शान्तिपूर्ण समाधानका प्रयास भने सफल हुन सकेको छैन।

प्रकाशित: १४ फाल्गुन २०७४ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App