८ वैशाख २०८१ शनिबार
राजनीति

आज मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नवनियुक्त मन्त्रीलाई सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गराउने तयारी छ । अहिले एमालेका दुई मन्त्रीसहित तीन सदस्यीय मन्त्रिपरिषद् छ। 

‘भोलि (सोमबार) बिहान ९ बजे सत्ता साझेदार दुवै दल (एमाले र माओवादी केन्द्र) का अध्यक्षहरुबीच छलफल हुने कार्यक्रम छ । त्यसपछि मात्रै सरकारमा थपिने मन्त्रीहरुको नाम टुंगो लाग्ने छ,’ एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘सोमबार दिउँसो शपथग्रहणको तयारी छ ।’

एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘सोमबार दिउँसो शपथग्रहणको तयारी छ ।’

दुवै पार्टीबीच केन्द्रमा १७ वटा मन्त्रालय बनाउने तथा  एमालेले १० र माओवादीले सात मन्त्रालय लिने सहमति भएको छ । मन्त्रालय भाडबन्डा गरिए पनि आइतबार अबेरसम्म सरकारमा मन्त्री भएर जाने केही नेताबाहेक अन्यको टुंगो लागेको छैन । अर्थ र परराष्ट्र एमाले तथा गृह र ऊर्जा मन्त्रालय माओवादी केन्द्रले लिने सहमति भए पनि बाँकी कुन कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लागेको छैन । मन्त्रालयको अन्तिम टुंगो पनि सोमबार बिहानै लाग्ने स्रोतले बतायो । संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल चलिरहेकाले मन्त्रालय भागबन्डालाई अन्तिम रुप दिन विलम्ब भएको बताइएको छ। 

एमालेबाट महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली सरकारमा जाने निश्चित भएको छ । अरु कस–कसलाई सरकारमा लैजाने भनेर टुंगो लाग्न बाँकी रहेको एमाले स्रोतले जनाएको छ । मन्त्री बन्ने आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न गम्भीर गृहकार्य गर्नुपरेको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ । एमाले स्थायी कमिटीको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई नै मन्त्री छनोट गर्ने जिम्मेवारी दिएको छ। ओलीले मन्त्री छनोट गृहकार्यमा व्यस्त छन् । यस विषयमा ओलीले आइतबार एमाले शीर्ष नेताहरु तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै छलफल गरे । ‘प्रधामन्त्रीले पार्टीका वरिष्ठ नेताहरुसँग छलफल गर्नुभएको छ,’ प्रेससंयोजक चेतन अधिकारीले भने। 

ओलीले पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल तथा माओवादी अध्यक्ष दाहालसँग परामर्श गरेका छन् । कार्यक्रममा सहभागी हुन रौतहट पुगेका दाहाल साँझ राजधानी फर्किएका थिए।

प्रकाशित: १४ फाल्गुन २०७४ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App