७ वैशाख २०८१ शुक्रबार
समाज

आवास निर्माणमा पर्म प्रणाली

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर १३ आङथाङ बोलन्टारकी सीतामाया तामाङ घर बनाउनका लागि छिमेकीको गिटी कुट्न, ढुंगा, इँटा, बालुवा बोक्न मेला जान्छिन्, पर्म लगाउँछिन् । पर्म लगाइराखे आफ्नो घर बनाउँदा पनि उनीहरू आउँछन् र गरिदिन्छन् भन्ने विश्वास लिएर फुर्सदको समय सदुपयोग गरिरहेकी छिन् उनी। 

विनाशकारी भूकम्प २०७२ ले घर भत्काएपछि अहिले नुवाकोटमा आवास निर्माणको काम धमाधम भइरहेको छ। सरकारले निर्धारण गरेको मापदण्डभित्र घर निर्माण गर्न सकिन्छ कि सकिँदैन भन्नेमा चिन्तित छन् भूकम्प प्रभावित । दक्ष जनशक्तिको अभाव जताजतै छ । घर बनाउनका लागि आर्थिक अभाव पनि उत्तिकै रहेको सुनाउँछन् भूकम्प प्रभावित । तर, घर बनाउनका लागि अर्मपर्मले आर्थिक संकट हटाउन केही हदसम्म सहयोग गरेको घर बनाइरहेकाहरू बताउँछन्।

साल्मे भाल्चेका भूकम्प प्रभावित घर बनाउँन डकर्मी तालिम लिएका महिला र पुरुष सँगसँगै घडेरी सम्याउने, जग खन्ने, घरको गाह्रो लगाउने, घर छाउने काममा व्यस्त छन् ।

‘खेतबारीको काम गर्दादेखि नै अर्मपर्म चलाउँदै आएका थियौं ।  घर बनाउने काम पुरुषको हो भन्ने सोच्छन् हाम्रो समाज तर हामी महिला सक्नेजति काममा नै पर्म गरेर  पुरुषलाई सघाइरहेका छौं,’ सीता तामाङले भनिन्, ‘घरको डिबिसी गरेर छोडेका छौं । दोस्रो किस्ता पनि आइसक्यो । अहिले सरसामानको जोरजाम गरिरहेका छौं । समय मिलाएर गिटी कुट्न, ढुंगा, इँटा, बालुवा बोक्न मेला जाने गरेकी छु ।’ सीतामायाको गाउँमा मात्र होइन, जिल्लाका बस्तीबस्तीमा पर्म गरेर घर बनाइरहेका छन् । 

साल्मे भाल्चेका भूकम्प प्रभावित घर बनाउँन डकर्मी तालिम लिएका महिला र पुरुष सँगसँगै घडेरी सम्याउने, जग खन्ने, घरको गाह्रो लगाउने, घर छाउने काममा व्यस्त छन् । सिकर्मी तालिम लिएका महिला र पुरुष सँगसँगै आरो तान्ने, बन्चरो चलाउने, करौती रेट्नमा व्यस्त भएको भेटिन्छ । 

पहिलेदेखि नै घर बनाउँदै  हिँड्ने गरेका र उमेर ढल्किसकेकाहरू पनि अहिले सक्रिय रूपमा घर बनाउन लागिपरेका छन् । उमेर ढल्किसकेको भए पनि अनुभवी भनेर काममा आइदिए हुन्थ्यो भन्ने छिमेकीहरू धेरै छन् । बेलकोटगढी ७ का जितबहादुर बुढाथोकी उमेरले ७० पार गरिसके तर हरेक दिन छिमेकीको घर बनाउन काठको काम गरिरहेको भेटिन्छन् । “हातमा सीप छ । त्यतिकै बस्न मनले मान्दैन । आफ्नो पनि घर बन्दैछ । आलोपालो गरेर घर बनाउँदा सजिलो हुन्छ,’ बुढाथोकी भन्छन्, ‘पहिलेदेखि सबैले रुचाएको कर्मी भएर पनि होला छिमेकीहरू दाइ यस्तो गर्नुथियो भन्छन् । जाने गरेको छु । आउँछन् उनीहरू पनि ।’ 

मिलेर पालैपालो काम गर्दा दुःखसुख साट्न पाइने, अनुभव साटासाट हुने, थोरै दिनमा धेरै काम हुने, मेलमिलापको भावना उत्पन्न हुने  र समाजमा एकता स्थापना हुने गरेको उनी बताउँछन् । छिमेकीछिमेकी मिलेर समूह नै बनाएर आपसी सहयोगका साथ घर बनाइरहेका छन् सूर्यगढी ४ हल्देकालीकाका भूकम्प प्रभावित । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको समयभित्र घर बनाइसक्न त्यहाँका भूकम्प प्रभावित तल्लीन देखिन्छन् । नेपाल रेडक्रस र गाउँपालिकाबाट तालिम लिएका जनशक्तिले नजानेकालाई सिकाउँदै र सक्नेजतिको काम गर्दै आवास निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको वडाध्यक्ष रामकुमार गिरीले बताए । ‘काम गर्नेहरू नेपाल रेडक्रस सोसाइटी र गाउँपालिकाबाट घर बनाउने तालिम लिएका छन् । जनशक्ति बाहिरबाट त्यति आएका छैनन् । मिस्त्रीको काम गर्न नसक्नेले लेबरको काम गरिरहेका छन्,’ वडाध्यक्ष गिरीले भने, ‘८० प्रतिशत घर पर्म प्रणालीबाट चलिरहेको छ । भूकम्प प्रतिरोधी बलियो घर बनाउनेमा सबै सचेत भएर लागेका छन् ।’  

प्रकाशित: १४ फाल्गुन २०७४ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App