६ वैशाख २०८१ बिहीबार
राजनीति

बिजेनश नपाएपछि संसद् बैठक स्थगित

बुटवल– प्रदेश ५ को संसद्ले विजनेस नपाएपछि आइतबारका लागि डाकिएको चौथो बैठक फागुन २७ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सरकारले विजनेश नदिएपछि पूर्वनिर्धारित मितिमा बैठक हुन नसकेको संसद् सचिवालयका कर्मचारीले बताएका छन्। 

संसद सचिवालयका सचिव मानबहादुर विश्वकर्माले सूचना टाँस गरी अर्को बैठक २७ गते १ बजे बस्ने जानकारी गराएको बताए । यसअघि फागुन ६ मा बसेको बैठकले आइतबारका लागि बैठकको मिति तोकेको थियो त्यही बैठकले उपसभामुख चयन गरेको थियो। 

विभिन्न कानुन अभावमा प्रदेश सरकारले गति लिन सकेको छैन । सरकारको कामले गति लिनका कानुन आवश्यक भएकाले कानुन निर्माण गर्न सरकारको ध्यान जाने मुख्यमन्त्री शंकर पोखरेलले बताइसकेका छन् । कानुन निर्माणका लागि विधेयक दर्ता हुने अपेक्षा गर्दै बैठकको मिति तय गरिएको भए पनि दर्ता नहुने जानकारी आएपछि कार्य व्यवस्था परामर्श समितिको सल्लाहमा बैठक स्थगित गरेको संसद् सचिवालय सचिव विश्वकर्माले बताए।

सरकारका विषयगत मन्त्रालयले कानुन मन्त्रालयको परामर्शमा प्रदेश सञ्चालनका लागि कानुन र नियमावली मस्यौदा तयार गरी मन्त्रिपरिषद्मार्फत संसद् बैठकमा पेस गर्नुपर्छ । अहिले आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रीबाहेक अरु मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेका छैनन् । मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइले मन्त्रालयको कामले गति लिन सकेको छैन । मन्त्रालयमा प्रयाप्त कर्मचारी नआउँदा पनि उस्तै समस्या छ।

 फागुन ३ मा  तीन सदस्यीय मन्त्रीमण्डल गठन भएपछि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । मन्त्रालयका लागि भवन अभाव भएकाले मन्त्रिमण्डल विस्तार ढिलाइ भएको बताइए पनि आकांक्षीको व्यवस्थापनमा मुख्यमन्त्रीको ध्यान गएकाले विस्तारमा ढिलाइ भएको हो।   

प्रदेश ५ का लागि एमाले संसदीय दलका नेता शंकर पोखरेल फागुन २ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संसद्बाट ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिनकै लागि फागुन २७ गतेको मिति कार्य व्यवस्था परामर्श समितिको सल्लाहमा तय भएको संसद् सचिवालयका अधिकारीहरुले बताएका छन्।

कार्य व्यवस्था परामर्श समितिको शुक्रबार भएको बैठकले प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिको सभापति चयन गर्न र नियमावली तयार गर्ने काम अघि बढाउने निर्णय गरेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

प्रकाशित: १४ फाल्गुन २०७४ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App