coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गोलभेडा बिक्री आधा घट्यो

सर्लाहीको नवलपुर बजारमा किसानबाट संकलित गोलभेडा । (तस्बिर - टंक क्षेत्री/नागरिक)

सर्लाही – आकाशे पानीमा निर्भर रहेको सर्लाहीको लालबन्दी र नवलपुरमा यो वर्ष पानी नपर्दा गोलभेडा उत्पादन घटेको छ । उत्पादन घटेसँगै मुलुकमै चर्चित लालबन्दी र नवलपुर बजारको गोलभेडा कारोबारमा पनि कमी आएको छ।

विगत वर्षमा फागुन महिनामा नवलपुरबाट दैनिक ५० टनसम्म गोलभेडा मुलुकका विभिन्न सहरमा जाने गरेको थियो । यो वर्ष उत्पादन घटेका कारण मुस्किलले दैनिक १५ टन मात्र निकासी हुने गरेको नवलपुर कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष ब्रम्हदेव महतोले जानकारी दिए ।‘गत वर्षमा पुस वा माघमा गतिलो वर्षा भएकै हुन्थ्यो, तर यसवर्ष पानी नै परेन र गोलभेडा उत्पादन पनि ह्वात्तै घटेको छ’, महतोले भने, ‘अगाडि रोपिएको गोलभेडाको उत्पादन नै छैन, कात्तिकमा रोपिएको गोलभेडा मात्र बजारमा आइरहेको छ।’

आकाशे पानी नपर्दा गोलभेडाको उत्पादनमा निकै कमी आएको हरिवनका किसान सानु बलले गुनासो गरे । ‘गत वर्षहरुमा फागुन लागेसँगै घाम चर्केपछि टिप्नै नसक्ने गरी गोलभेडा बारी पहेलाम्मे हुन्थ्यो’, उनले भने, ‘तर यसवर्ष पर्याप्त पानी नपरेपछि गोलभेडा फल्नै छाडेको छ ।’ आकाशे पानी नपर्दा बिरुवाले नयाँ मुना हाल्न नसकेका कारण गोलभेडा उत्पादन ह्वात्तै घटेको हो।

अर्कोतिर लालबन्दी बजारमा फागुन महिनामा दैनिक एक सय मेट्रिक टनसम्म गोलभेडा निकासी हुने गरेकामा यो वर्ष आधा पनि संकलन हुन सकेको छैन । कृषि उपज बजार सञ्चालक समिति लालबन्दीका कर्मचारी जयदेव घिसिङले लालबन्दीबाट हाल दैनिक मुस्किलले काठमाडौं ३० मेट्रिक टन तथा पोखरा २० मेट्रिक टन निकासी भइरहेको जानकारी दिए । सर्लाहीको लालबन्दी र नवलपुरबाट राजधानी काठमाडौंसहित इटहरी, लाहान, सिन्धुली, बीरगन्ज, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्जलगायत मुख्य सहरमा गोलभेडा जाने गरेको छ।

सिँचाइको भरपर्दो व्यवस्था नहुने सुख्खा क्षेत्रमा बढी गोलभेडा खेती हुने गरेकाले आकाशे पानीसमेत नपर्दा यो वर्ष उत्पादनमा  कमी आएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको उत्तरी क्षेत्रस्थित इश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर र बागमती नगरपालिका क्षेत्रका दुई हजार हेक्टर क्षेत्रफलमा गोलभेडा खेती हुने गरेको छ।


 

प्रकाशित: १४ फाल्गुन २०७४ ००:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App