६ वैशाख २०८१ बिहीबार
राजनीति

‘एकीकृत कम्युनिष्ट पार्टीको आकारबारे छलफल भएको छैन्’

नेपालगन्ज – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत कम्युनिष्ट पार्टीको आकारको विषयमा कुनै छलफल नै नभएको दाबी गरेका छन्। नेपालगन्जमा आइतबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले धेरै नेतालाई व्यवस्थापन र मुल्यांकन गर्नुपर्ने भएका कारण आकार ठुलो हुन सक्ने बताए। 

‘एमाले र माओबादी केन्द्रबीचमा सहमति भएको छैन, मिडियामा यो र त्यो भनि समाचारहरु आए, यसले म पनि आश्चर्यमा परेको छु,’ नेपालले भने। दुबै पार्टीका विषयमा सञ्चारमाध्यामा आएका कुरामा सत्यता नभएको उनले जिकिर गरे। दुई पार्टीबीच चाँडै एकीकरण हुने तयारी भइरहेको उनले बताए। 

नेपालले अब बन्ने एकिकृत कम्यूनिष्ठ पार्टीले पूर्णतया लोकतान्त्रिक मूल्य, मान्यतालाई अंगिकार गरेर अगाडी बढ्ने उद्घोष गरे। ‘कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक नै होइनन् भन्नेहरुले आफ्नो नाम मात्रै लोकतान्त्रिक राखेका छन्, काम चाही गैर लोकतान्त्रिक खालको गरिरहेका छन्,’ उनले थपे। आफूहरुले वैज्ञानिक खालको लोकतान्त्रिक मुल्य, मान्यतालाई अंगिकार गरेर अगाडि बढ्ने बताए।

पाटी एकताले देशको विकासमा टेवा पुग्ने जिकिर गर्दै मुलुकको समृद्धि र विकासका लागि एकिकरण गर्न आवश्यक रहेको ठोकुवा पनि गरे। जनताको बहुदलीय जनवाद निरन्तर चलिरहने बताउँदै उनले भने– ‘जबजको पहिलो चरणको च्याप्टर क्लोज भएपछि दोश्रो चरणको सुरुवात हुन्छ, यो निरन्तर चलिरहन्छ।’ उनले एकै पटकमा समाजवादमा नपुगिने टिप्पणी पनि गरे। पार्टी एकतामा धेरै बिलम्ब नहुने भन्दै नेपालले बिना बाधा र अवरोध पार्टी एकताको काम सम्पन्न हुने दाबी गरे।

सरकार विस्तारमा भएको ढिलाईबारे पूर्वप्रधानमन्त्री नेपालले संघीय समाजवादी फोरम र राजपालाई पनि सहभागी गराउने प्रयासका कारण ढिलाई भएको प्रष्ट्याए। एमाले वरिष्ठ नेता नेपालले सोमबार मन्त्रिपरिषदले पनि पूर्णता नपाउने बताए। ‘संघीय समाजवादी फोरम र राजपालाई ल्याउने गृहकार्य चलिरहेको छ, त्यसकारण अझै केहीदिन समय लाग्न सक्छ,’ उनले भने।

सरकार सञ्चालनका लागि एमाले र माओबादी केन्द्रबीच १७ वटा मन्त्रालय मात्र बनाउने कुरा भएको जिकिर गर्दै भने, ‘अहिले नै यो र त्यो मन्त्रालय भनेर माओबादी केन्द्र र हामीबीच भाग बन्डा भएको छैन, गठबन्धन बाहिरबाट पनि सरकारमा सहभागी एक्ससाईज भइरहेको हुँदा थोरै अलमल भएको हो।’ एमाले र माओबादी केन्द्रबीच अहिले नै राष्ट्रपति, उप–राष्ट्रपति, सभामुख, उपसभामुख जस्ता पदका विषयमा छलफल नभएको जिकिर गरे।

प्रकाशित: १३ फाल्गुन २०७४ १५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App