७ वैशाख २०८१ शुक्रबार
समाज

धुलो उडेपछि चक्काजाम !

स्थानीयको अवरोध पश्चात बरहथवा बजारमा लामवद्ध सवारी साधन। तस्बिर: टंक क्षेत्री

सर्लाही- निर्माणाधिन नयाँरोड–मधुवनी राजमार्गमा सवारी साधनले उडाएको धुलो नियन्त्रणको माग राख्दै आईतबार दिउँसो बरहथवा बजारका स्थानीयले सडक अवरोध गरेका छन्।

नगरपालिका कार्यालय तथा राजमार्ग निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले नियमित पानी नछर्कंदा सवारी साधनले उडाउने धुलोका कारण आजित बनेका सर्वसाधारणले बाध्य भएर अवरोध गरेका हुन् । ‘सवारी साधनले उडाउने धुलोले पसल छपक्कै हुन्छ’, बरहथवा बजार स्थित संजय पुस्तक पसलका सञ्चालक संजय साहले आक्रोश व्यक्त गरे, ‘दर्जनौं सवारी साधन गुड्ने राजमार्गमा नगरपालिका वा ठेकेदार कम्पनीले पानी नछ्याप्दा हामी दैनिक धुलाम्मे बनेर बस्न बाध्य छौं।’

धुलोको कारण दैनिकी नै कष्टकर बनेको भन्दै स्थानीयले दिउँसो राजमार्ग अबरुद्ध पारे । पटक–पटक नगरपालिका कार्यालय तथा ठेकेदार कम्पनीलाई सडकमा पानी छर्कन आग्रह गरेपनि वेवास्ता गरिएको स्थानीयको आरोप छ। जनताको समस्यालाई सुनुवाई नगरेको भन्दै बाध्य भएर सडक बन्द गर्नु परेको स्थानीय प्रकाश दासले बताए।

बरहथवा नगरपालिकाकी उपमेयर सिता माझी लगायत सरोकारवालासगँ भएको छलफलबाट चोर्निया पुल देखि शुभ जनता क्याम्पस सम्मको बरहथवा बजार क्षेत्रमा दैनिक दुइ पटक पानी छर्कने सहमतिमा स्थानीयले अवरोध हटाएका थिए । यातायात अबरुद्ध भएपछि सयौ यात्रु बाटैमा अलपत्र परेका थिए। नगरपालिका कार्यालय र स्थानीय बीच सहमति पश्चात अवरुद्ध यातायात सुचारु भएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए।

उक्त सडक खण्डमा स्थानीयले पटक पटक नगरपालिका तथा ठेकेदार कम्पनीले आफ्नो सर्त पालना नगरेको भन्दै सडक अबरुद्ध पार्ने गरेका छन्। विशेषगरी सडक खण्ड निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पन्नीकै कच्चा पदार्थ ओसार्ने ठूला–ठूला सवारी साधनले बजार क्षेत्र धुलाम्मे बनाउने गरेको छ।

 

 

प्रकाशित: १३ फाल्गुन २०७४ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App