७ वैशाख २०८१ शुक्रबार
समाज

डोल्पा पुग्यो औषधि

डोल्पा – दुई महिनादेखि औषधि अभाव झेलिरहेका यहाँका ५ वटा स्वास्थ्य चौकीले मंगलबारबाट औषधि पाउने भएका छन्। त्रिपुरासुन्दरी नगरपालिकाले औषधि खरिद गरेर ल्याएसंगै दुई महिनादेखिको अभाव हट्ने भएको हो।

त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका त्रिपुराकोट, ल्हाँ, लिकु, पहाडा र सुऊ स्वास्थ्य चौकीमा मंसिरदेखि औषधि अभाव भएर सर्वसाधारणले सिटामोलसम्म नपाएको खबर नागरिक दैनिकले एक साताअघि प्रकाशित गरेको थियो। नागरिकको समाचारपछि नगरपालिकाले औषधि खरिद गरेर ल्याएको हो। 
त्रिपुरासुन्दरी नगरपालिकाको ०७४ पुस १ गते बसेको कार्यकारी बैठकले औषधि खरिदको लागि १५ लाख रुपैयाँ छुट्याएको भएपनि नगर मातहतका पाँच स्वास्थ्य चौकीहरुमा गत दुई महिनादेखि औषधि अभाव हुँदा समेत खरिद गरिएको थिएन। आइतबार मात्र नगरपालिकाले पाँच स्वास्थ्य चौकीहरुको लागि ३७ कार्टुन औषधि खरिद गरेर नगरको कार्यालयमा ल्याएको र मंगलबारबाट सम्बन्धित स्वास्थ्य चौकीका इन्चार्जलाई बोलाएर बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर धरलाले बताए। 
औषधि खरिदको लागि १५ लाख रकम छुट्याएको भएपनि पहिलो चरणमा अत्यावश्कीय र स्वास्थ्य संस्थामा निःशुल्क पाइने ३५ प्रकारका सबै औषधि खरिद गरिएको नगरपालिकाका सुब्बा चन्द्रप्रकाश बुढथापाले बताए। उनका अनुसार एकमुष्ठ रुपमा १५ लाख बराबरको औषधि खरिद गर्दा खरिद नियमावली अनुसार टेण्डर प्रकृयामा जानुपर्ने र झनै औषधि संकट झेलिदै जाने भएकाले पहिलो चरणमा ५ लाख बराबरको औषधि खरिद गरिएको छ।

प्रकाशित: १३ फाल्गुन २०७४ १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App