४ वैशाख २०८१ मंगलबार
समाज

गुनासो सुन्दै जनप्रतिनिधि गाउँतिर

सूर्योदय नगरपालिकाको गोर्खेका सर्वसाधारणसँग गुनासो सुन्दै र छलफल गर्दै जनप्रतिनिधि। तस्बिर : नागरिक

इलाम – चुनावका बेला आश्वासनमा ठेली बोकेर मतदातासम्म पुग्ने जनप्रतिनिधिलाई चुनाव जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप लाग्छ। अधिकतर मतदाताको भावनालाई आधार मान्ने हो भने उनीहरूको गुनासो पनि असत्य होइन। तर, सूर्याेदय नगरपालिकाका जनप्रतिनिधि भने मतदाताका टोल–टोलमै पुगेर सर्वसाधारणको चाहना, आवश्यकता र गुनासो सुन्दैछन्।

स्थानीय तहको निर्वाचन सकिएको ७ महिनापछि यहाँका जनप्रतिनिधि ‘गुनासो चौतारी’ अभियान नै चलाइरहेका छन्। निर्वाचन हुनुअघि जनप्रतिनिधिले के आश्वासन बाँडेका थिए, चुनावी घोषणापत्रमा लेखिएका विकासे आयोजना कार्यान्वयनको सम्भाव्यता र भइरहेका प्रयासबारे गुनासो चौतारीमा छलफल हुने गरेको छ। नगरपालिकाका मेयर रणबहादुर राईले चुनावताका उम्मेदवारले बाँडेका आश्वासनलाई कुन अवधारणामा समेट्न सकिन्छ भन्नेबारे पनि सर्वसाधारणसँग टोलमै पुगेर छलफल हुने गरेको बताए। ‘विभिन्न वडाका टोलमा पुगेर हिजोका सुधार्नुपर्ने र अब गर्नुपर्ने कामका बारेका छलफल गरिरहेका छौं,’ मेयर राईले सुनाए, ‘जनतालाई जागरुक बनाउन सके मात्र हामी सफल हुनसक्छौं भन्ने सोचले उनीहरूसँग प्रत्यक्ष छलफलमा जुटेका हौं।’

नगरपालिकाका मेयर, उपमेयर, सम्बन्धित वडाका वडाध्यक्ष र वडासदस्यसमेत सहभागी गराएर नगरले नागरिकसँग प्रत्यक्ष छलफल गराइरहेको छ। ‘एक चरण जनताको गुनासो सुन्दै नगरपालिकाका १४ मध्ये आधा संख्याका वडामा पुगिसकिएको छ,’ मेयर राईले भने, ‘टोल–टोलसम्म पुगेर सर्वसाधारणका गुनासो सुन्ने, सुझाव लिने र त्यहीअनुसार नीति–कार्यक्रम बनाउने योजनामा छौं।’

पहिलो चरणमा प्रत्येक महिना टोल–टोलमा गुनासो चौतारी लैजाने र पछि प्रत्येक साता यो अभियान चलाउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ। गुनासो चौतारीमा सर्वसाधारणले सक्रियतासाथ भाग लिइरहेका छन्। ‘स्थानीयले सडक, बिजुली, खानेपानी, सहरी विकास, कृषि, पशुलगायत क्षेत्रको विकासका लागि भारी सुझाव दिइरहनुभएको छ,’ मेयर राई भन्छन्, ‘अब गर्नुपर्ने कामका लागि मात्र होइन, हिजो जनप्रतिनिधिविहीन अवस्थामा स्थानीय तहमा भएका अनियमितताबारे पनि सर्वसाधारणले खुलेर सूचना दिनुभएको छ।’

चुनाव जितेर गएका जनप्रतिनिधि फेरि फर्केर समस्या, योजनाबारे सुझाव लिँदै आउँदा सर्वसाधारण पनि खुसी छन्। दुई दशकसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको थियो। स्थानीय तहमा त जनप्रतिनिधि थिएनन् नै, यसबीचमा सम्पन्न भएका संविधानसभाका दुई निर्वाचनमा आफैंले भोट दिएर जिताएका प्रतिनिधिको अनुहारसमेत उनीहरू वर्षाैंपछि मात्रै देख्न पाउँथे। सर्वसाधारणका समस्या उनीहरूको घर र टोलसम्म पुगेर सोधीखोजी गरिदिने कोही थिएनन्। नगरपालिकाको समाल्बुङ गाउँका सोम राईले भने, ‘जितेर गएका नेता गाउँ फकिँदैनथे तर अहिले नगरपालिकाका जनप्रतिनिधि गाउँ आएर सन्चो–बिसन्चो मात्रै सोध्दा पनि आनन्द हुँदोरहेछ।’

नगरपालिकाले नागरिकको गुनासो सुनुवाईका लागि ‘हेल्लो सूर्याेदय’ अभियान पनि चलाउने भएको छ। यसअन्तर्गत सर्वसाधारणले आफूलाई लागेको जिज्ञासा र सुझाव नगरपालिकासम्म पु¥याउने संयन्त्र तयार गरिनेछ। ‘जनताले प्रत्यक्ष रूपमा दिएको सुझाव र योजनाले आउँदा कार्यक्रम बनाउन हामीलाई निकै सजिलो हुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले भने, ‘नागरिकका वास्तविक आवश्यकता के छन् भन्ने बुझेर बनाएका योजना, नीति र कार्यक्रम नै सबैभन्दा प्रभावकारी हुन्छन्।’

नगरपालिकाले सर्वसाधारणसँग सम्बन्ध स्थापना र सेवाग्राहीको काम छिटो–छरितो गर्न सबै कामलाई डिजिटल प्रविधिमा लैजाँदै छ। डिजिटल प्रविधि प्रयोगले काम छिटो र मितव्ययी हुने अनुभव कर्मचारीको छ। ‘नागरिकको सूचनाको हक स्थापित गर्दै सबैजसो योजनामा सहभागिता जुटाउन सर्वसाधारणसँग प्रत्यक्ष जोडिएर काम गर्नेछौं,’ मेयर राईले भने।

 

 

प्रकाशित: १३ फाल्गुन २०७४ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App