८ वैशाख २०८१ शनिबार
समाज

तीन दशकमा ९ किमी सडक

निर्माणाधीन सिल्लेगडा–देथला सडकखण्ड। तस्बिर : बिरा/नागरिक

बैतडी – बैतडी–दार्चुला जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको सिल्लेगडा–देथला सडक  निर्माण कार्य सुरु हुँदा दोगडाकेदार गाउँपालिका–२, कटौजपानीका प्रताप महरा चार वर्षका थिए। अहिले उनी ३६ वर्षका भइसक्दा पनि ९ किलोमिटर मात्रै  सडक निर्माण हुँदा अचम्मित भएका छन् । ‘पहिला त बजेट थिएन तर पछिल्लो दुई वर्षयता बजेट आएर पनि समयमा काम हुँदैन, यस्तो प्रवृत्तिले स्थानीयको विकासमा कहिले पहुँच पुग्ला?

बजेट अभाव र स्थानीयबीचको विवादका कारण निर्माण कार्यले गति लिन नसक्दा ३२ वर्षमा ९ किलोमिटर मात्रै  सडक खनिएको छ। २०४३ सालमा निर्माण कार्य सुरु गरिएको सडकमा सुरुमा बजेट विनियोजन नहुँदा र पछिल्लो समय स्थानीयबीच विवादका कारण निर्माणकार्य सुस्त हुँदा सडक निर्माण कार्य अघि बढ्न नसकेको डिभिजन सडक कार्यालय पाटनका इन्जिनियर अर्जुन पौडेलले बताए। आर्थिक वर्ष २०७०–०७१ मा मात्रै सो सडकमा ४ करोड रकम विनियोजन भएको थियो। १८ किलोमिटर सडक खन्न ठेक्का भए पनि सडक कुन ठाउँबाट लैजाने भन्ने विषयमा स्थानीयबीच विवाद हुँदा काम अघि बढन नसकेको बताइएको छ।

दोगडाकेदार गाउँपालिका–८, कालागाउँ र पुर्चौडी नगरपालिका–१०, गोरागाउँका स्थानीयबीच सडक कुन गाउँबाट लैजाने भन्ने विषयमा विवाद हुँदा दुई वर्षसम्म सडक निर्माणको काम अघि बढ्न नसकेको निर्माण कम्पनी चन्दा एन्ड वसन्त जेभीका प्रतिनिधि सुरेश चन्दले बताए। ‘अहिले ठेक्काको म्याद पनि सकिएको छ,’ उनले भने, ‘६ महिनाका लागि म्याद थप भएको छ, विवाद सुल्झेको सुनेको छु, सर्वे सकिएलगत्तै काम सुरु हुन्छ।’

लामो समयको विवादपछि सडकको विषयमा सहमती भएको र सर्वेको काम भइरहेको सडक डिभिजन कार्यलयले जनाएको छ। पञ्चेश्वर बहुद्देश्यीय परियोजना बनेपछि महाकाली राजमार्ग सतबाँज–दार्चुला सडक खण्ड डुवानमा पर्ने भएपछि दार्चुला जोडने वैकल्पिक मार्गको रुपमा यो सडक निर्माण हुन थालेको हो। सडक निर्माण सुरु भएको २८ वर्षसम्म केन्द्रबाट बजेट नआउँदा काम अघि बढन सकेन भने बजेट आएपछि पनि काम नहुँदा अघि नबढ्दा  सडक निर्माण कार्य सुस्त भएको हो।

‘लामो समयसम्म बजेट नआउँदा सडक निर्माणले गति लिन सकेन,’ तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले भने, ‘बजेट विनियोजन भएपछि पनि काम भएन, यसले स्थानीय निरास बनेका छन्।’

यो सडक चमेलिया जलविद्युत् आयोजना पुग्ने वैकल्पिक र छोटो मार्ग पनि हो। देथलादेखि दार्चुला सदरमुकाम जोड्ने भएकाले यो सडकलाई बैतडी दार्चुला जोड्ने छोटो  मार्गको रूपमा लिइन्छ। यो सडक निर्माण भएमा तीन वटा स्थानीयतह सडक सञ्जालमा जोडिनेछन्। तर, सडक निर्माणका लागि सम्बन्धित निकायले नै चासो नदिँदा सडक निर्माण कार्य अलपत्र परेको स्थानीय बताउँछन्।

बैतडीको सिल्लेगडादेखि दार्चुलाको खलंगासम्म एक सय १५ किमी लम्बाइ रहेको सो सडकको ९० किमिसम्मको डीपीआर र ४० किमीको वातारणीय प्रभाव मूल्यांकन भएको छ। चालु आर्थिक वर्षमा सिल्लेगडादेखि ६ किमी र दार्चुलाको कर्कलेदेखि ६ किमीका लागि कालोपत्रे गर्ने कार्य सुरु हुने इन्जिनियर पौडेलले बताए। उनले भने, ‘यो सडकलाई हामीले फिडर मार्गका रूपमा लिएका छौं। सकेसम्म काम अघि बढाउने तयारीमा छौं। कालोपत्रेका लागि ३५ करोड रकम विनियोजन भएको छ।’

 

प्रकाशित: १३ फाल्गुन २०७४ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App