coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चीनतर्फका नाका खोल्ने तयारी

सुर्खेत उद्योग वाणिज्य संघको ३४औं वार्षिक साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही। तस्बिर : नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध स्थापनाका लागि चीनसँगका नाका खोल्ने तयारी भइरहेको बताएका छन् । उनले चीनसँग सीमा जोडिएका डोल्पा, मुगु र हुम्लाका नाका सञ्चालनमा ल्याउने निर्णय गरिएको बताउँदै केही महिनाभित्रै ती नाकाहरु सञ्चालनमा आउने बताए।

‘मन्त्रिपरिषद्को पहिलो बैठकबाट हामीले चीनसँग सीमा जोडिएका डोल्पा, हुम्ला र मुगुका नाकालाई अन्तराष्ट्रिय व्यापार केन्द्र बनाउने निर्णय गरिसकेका छौं,’ सुर्खेत उद्योग वाणिज्य संघको ३४ औं वार्षिक साधारण सभा उद्घाटन सत्रमा मुख्यमन्त्री शाहीले भने, ‘केही महिनाभित्रै ती नाकाहरु सञ्चालनमा आउँछन् ।’ सरकारले चीनसँगका सीमा नाका सञ्चालनमा ल्याउने बताए पनि हुम्ला र मुगु जिल्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छैनन्।

मुख्यमन्त्री शाहीले चीनतर्फबाट सडक निर्माणको काम थालिने पनि बताए । ‘हुम्ला, मुगु र डोल्पाका सदरमुकामसम्म नेपाली सेनाले सडक निर्माणको काम गरिरहेको छ, हामी चीनतर्फबाट सडक निर्माण थाल्छौं,’ उनले भने, ‘केही महिनाभित्रै अस्थायी रुपमा भए पनि सीमा नाका सञ्चालन हुन्छ।’

मुख्यमन्त्री शाहीले सरकार लगानीमैत्री वातावरण बनाउन तयार रहेको भन्दै बाह्य लगानी ल्याउन व्यवसायीलाई आग्रह गरे । ‘तत्कालका लागि सबैभन्दा गरिव र पिछडिएको प्रदेश भएपनि यहाँ संभावना धेरै छन्,’ उनले भने, ‘लगानीमैत्री वातावरण सरकारले बनाउँछन्, तपाईंहरु लगानी आकर्षित गर्ने काममा लाग्नुहोस् ।’ कर्णाली प्रदेशको समृद्धिका लागि जल, जंगल, जडीबुटी, जमिन र पर्यटन मुख्य आधार भएको भन्दै यी क्षेत्रमा लगानी भिœयाउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रकममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए । ‘कर्णाली प्रदेशमा एउटै पनि ठूलो उद्योग छैन, हामी सम्भावनाका मात्रै कुरा गरिरहेका छौं,’ उनले भने, ‘प्रदेशको समृद्धि र विकासका लागि बाह्य लगानी आउने वातावरण बनाइनुपर्छ ।’ उनले प्रदेशको समृद्धि र विकासका लागि निजी क्षेत्र सधैं सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय कार्यकारिणी सदस्य टेकबहादुर भण्डारीले व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्ने बताए । व्यवसायमा एकले अर्काको खुट्टा तान्ने काम भइरहेको भन्दै उनले समृद्ध कर्णाली प्रदेश निर्माणका लागि सबै लाग्नुपर्ने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेती, महासचिव गोपालकृष्ण गिरीलगायतले बोलेका थिए।

३४ औं वार्षिक साधारण सभाको अवसर पारेर संघले कर्मचारी सज्जत खान, दृष्टिविहीन महिला उद्यमी रेनुका कोइराला, सर्जिकल एन्ड साइन्स हाउसका श्याम विष्ट, जेपी बहुउद्देश्यीय गार्मेन्ट उद्योगका सञ्चालक धनबहादुर रावल, खबरइराका बिमला खड्कालाई सम्मान गरिएको थियो।

युट्युब च्यानल सञ्चालन
सुर्खेत उद्योग वाणिज्य संघले आफ्ना गतिविधिलाई सर्वसाधारणको पहुँचमा पु¥याउने उद्देश्यले युट्युब च्यानल सञ्चालनमा ल्याएको छ । वार्षिकोत्सवको अवसर पारेर संघले युट्युब च्यानल सुरु गरेको हो । सो च्यानलको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार उद्घाटन गरेका हुन्।

 

 

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App