७ वैशाख २०८१ शुक्रबार
अर्थ

हिमशृखला हेर्न कोतडाँडा

ललितपुर – ललितपुरको गोदावरी नगरपालिकाको कोतगाउँबाट धौलागिरिदेखि अन्नपूर्ण हुँदै पूर्वको महालंगुर शृंखलासम्मको हिमाल देखिन्छ । कोतगाउँलाई पर्यटन व्यवसायीले ‘सुन्दर कोतडाँडा’ समेत भन्ने गरेका छन्।

काठमाडौं उपत्यबाट नजिकै रहेको कोतडाँडालाई हिमशृंखला हेर्ने उपयुक्त ठाउँको रुपमा लिने गरेको पर्यटन व्यवसायी राजेन्द्र लामा बताउँछन् । ‘यहाँबाट मनास्लु, गणेश, लाङटाङ, सिसापाङ, दोर्जेलाक्पा, गौरीशंकर, आमाग्याजिन र नमर हिमाल हेर्न सकिन्छ,’ पर्यटन व्यवसायी तथा फ्रेन्डस एडभेन्चर प्रालिका अध्यक्ष लामाले भने, ‘कोतगाउँ पर्यटकीय दृष्टिकोणले उपत्यकाको उत्कृष्ट ठाउँ हो ।’
उनका अनुसार कोतगाउँ हाइकिङका लागि पनि उपयुक्त छ । सात दोबाटोबाट करिब दुई घन्टामा कोतडाँडा पुग्न सकिन्छ।

कोतगाउँको प्रसिद्ध धार्मिकस्थलको रुपमा बिसंखुनारायण मन्दिर छ । यहाँ हिन्दु तथा बौद्ध धर्मावलम्बी दर्शनका लागि आउने गरेका छन् । यही रुट भएर कोतडाँडा पुग्न सकिन्छ।

गोदावरी हुँदै मन्दिरको बाटो भएर हाइकिङ गर्न सकिन्छ । यस्तै, लाकुरी भन्ज्याङ हुँदै डेढ घन्टामा कोतडाँडा पुग्न सकिन्छ । काठमाडौंबाट लगेनखेल हुँदै बढीगाउँ भएर बिसंखुनारायण मन्दिरबाट समेत कोतडाँडाको रुट तय गर्न सकिन्छ । कोतडाँडाको उचाइ १७४१ मिटर छ।

कोतगाउँमा अहिले होमस्टे सञ्चालनमा छन् । यस ठाउँलाई पछिल्लो समय पिकनिक स्थलको रुपमा चिनिन थालेको छ । उपत्यकाभित्रबाट नजिकै जाने सोच भएकाहरुका लागि कोतगाउँ उपयुक्त रहेको स्थानीयको भनाइ छ।

यहाँ २०७१ सालबाट होमस्टे सञ्चालनमा आएको हो । २०७२ को भूकम्पले होमस्टेको व्यवसाय फस्टाउन भने सकेको थिएन । अहिले पर्यटकको चापका कारण होमस्टे भरिभराउ हुने एकजना होमस्टे सञ्चालक कर्ण तामाङ बताउँछन् । उनका अनुसार काठमाडौं, भक्तपुरका पर्यटन व्यवसायीले नै प्याकेजमा पर्यटक कोतडाँडा पठाउने गरेका छन्।

‘आन्तरिक पर्यटकको चाप बढी छ । कोतडाँडाँको प्रचार्रसार हुन सकेको छैन । जहाँबाट हिमशृंखला सजिलै देखिन्छ,’ उनले भने, ‘एकपटक आएपछि दोहो¥याउनेहरु धेरै छन्।’

कोतडाँडाका होमस्टेमा स्थानीय रुपमा उत्पादित खाद्यवस्तु प्रयोग गरिने सञ्चालकहरु बताउँछन् । स्थानीय तरकारीलाई विशेष प्राथमिकतामा राखेको होमस्टे सञ्चालक कर्ण तामाङले बताए।


 

 

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App