८ वैशाख २०८१ शनिबार
खेल

पूर्वाञ्चल र एपिएफबीच उपाधि भिडन्त

धनगढी – धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि पूर्वाञ्चल र एपिएफले प्रतिस्पर्धा गर्ने भएका छन्।

शनिबार भएका सेमिफाइनलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनले तथा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिमलाई ८१ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

काजोल श्रेष्ठले अविजित ५५ रन बनाएपछि धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ थालेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय १९ रन बनायो । पूर्वाञ्चलका लागि अप्सरी बेगमले ३२ र कप्तान रुबिना क्षेत्रीले अविजित १४ रन जोडे । काजोलले अप्सरासँग तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेकी थिइन् । मध्यमाञ्चलकी रोजी कडारीले १ विकेट लिइन्।

१ सय २० रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले २० ओभरमा सबै विकेट गुमाएर ६६ रन मात्रै बनायो । मध्यमाञ्चलका लागि कञ्चन श्रेष्ठले २१ र सीता श्रेष्ठले १७ रन बनाए । पूर्वाञ्चलकी कप्तान रुबिना क्षेत्रीले ४ ओभरमा एक मेडन राख्दै ६ रन दिएर ३ विकेट लिइन् । सबनम राई, सन्तोषी चौधरी र संगीता राईले समान १ विकेट लिए।

शनिबारै दोस्रो खेलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको एपिएफले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रन बनायो । एपिएफका लागि सीता रानामगरले ५१, सरिता मगरले ३७ र ज्योति पाण्डेयले १८ रन बनाए । सुदूरपश्चिमका लागि सुमन विष्ट, लक्ष्मी साउद र निशा भट्टले समान १ विकेट लिए।

१ सय ३२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभरमा ५१ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिमका लागि निशा भट्टले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपिएफकी सीता मगर र करुण भण्डारीले समान ३ विकेट लिए भने अन्जली चन्दले २ तथा सीता रानामगरले १ विकेट लिए।

 

प्रकाशित: १३ फाल्गुन २०७४ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App