८ वैशाख २०८१ शनिबार
खेल

प्रधान सेनापति भलिबलमा आर्मी च्याम्पियन

काठमाडौं – साबिक विजेता आयोजक त्रिभुवन आर्मी क्लबले शनिबार प्रधान सेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको फाइनल भिडन्तमा पश्चिमाञ्चल विकास क्षेत्रलाई ३–१ सेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो।

लगातारका दुई सेट २५–१४,२५–१३ ले जितेको आर्मी तेस्रो सेटमा पराजित भयो । तेस्रो सेटको सुरुआतमा ७–१ अंकले पछि परेको आर्मी १९ र २१ अंकमा  बराबरीको स्थितिमा थियो । त्यसपछि पश्चिमाञ्चलले निरन्तर अंक बटुल्दैै २५–२३ ले तेस्रो सेट आफ्नो बनाएको थियो । २४–२३ को स्थितिमा स्पाइकमा आएका अमृत केसीले अन्तिम अंक पश्चिमाञ्चललाई दिलाएपछि खेल २–१ सेटको स्थितिमा पुगेको थियो । निकै प्रतिस्पर्धात्मक खेलको चौथो सेट आर्मीले २५–१२ ले जित्दै उपाधि पक्का ग¥यो।

आर्मीका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले खेलाडी उच्च आत्मविश्वासी बन्दा सुरुआती दुई सेट जिते पनि तेस्रो सेट गुमाउनुपरेको बताए । श्रेष्ठले भने, ‘हामीले प्रतिद्वन्द्वीको ब्लकलाई रोक्ने रणनीति बुनेका थियौं र सोहीअनुसार खाली ठाउँमा बल फाल्दै अंक बटुल्नु थियो र सफल पनि भयौं।’

यस्तै, आर्मीका कप्तान मानबहादुर श्रेष्ठले आर्मीलाई उपाधि दिलाउन सकेकोमा खुसी व्यक्त गरे । श्रेष्ठले भने, ‘लगातारका दुई सेट सहज तरिकाले हात पारे पनि तेस्रो सेटमा पश्चिमाञ्चलको सुरुआती अग्रताले खेलमा फर्किन केही अप्ठ्यारो भयो।’
उता दोस्रो बनेको पश्चिमाञ्चलका प्रशिक्षक रमेश केसीले आर्मीमा अधिकांश राष्ट्रिय खेलाडी छन् भन्ने मानसिकताले आफ्ना खेलाडी

खुलेर खेल्न नसकेको बताए।
‘टोलीमा सुरुआतबाटै तालमेल अभाव देखियो,’ केसीले भने, ‘तेस्रो सेट जित्दै खेलमा फर्कने संकेत गरे पनि चौथो सेटमा टोली पुनः चुक्यो ।’

जितसँगै साबिकको च्याम्पियन त्रिभुवन आर्मीले ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । दोस्रो भएको पश्चिमाञ्चलल१ लाख ५० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र हात पा¥यो।

नेपाल इन्भेस्टमेन्ट बैकको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा अर्को विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भयो । शनिबारै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले ७५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र हात पा¥यो । २५–२१, २५–२० र २५–११ ले पराजित भएको एपिएफले सान्त्वनामा चित्त बुझायो।

तीन विभागीय र पाँच विकास क्षेत्र गरी ८ टोलीको सहभागिता रहेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ईश्वर थापामगर उत्कृष्ट खेलाडी घोषित भए । उनले उत्कृष्ट खेलाडी भएबापत बजाजको पल्सर मोटरसाइकल हात पारे । यस्तै, त्रिभुवन आर्मीकै मानबहादुर श्रेष्ठ उत्कृष्ट स्पाइकर घोषित हुँदा आर्मीकै भैरब बम ब्लकर घोषित भए । पश्चिमाञ्चलका अमृत केसी उत्कृष्ट सर्भर बन्दा पश्चिमाञ्चलकै दीपक थापा उत्कृष्ट डिफेन्डर घोषित भए । नेपाल पुलिसका इमबहादुर रानामगर उत्कृष्ट लिफ्टर भए भने उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मीका कपिलकिशोर श्रेष्ठ घोषित भए । उत्कृष्ट सबैले १० हजार रुपियाँ हात पारे।

लिग कम नकआउटमा सञ्चालन गरिएको प्रतियोगिताको आयोजकले भलिबलमा लामो समय योगदान पु¥याएका तीन अवकाश प्राप्त भलिबल खेलाडीलाई सम्मान ग¥यो । भवदेव भण्डारी, छविलाल ओली र इन्द्रकुमार श्रेष्ठ सम्मानित भए।

प्रकाशित: १३ फाल्गुन २०७४ ०३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App