७ वैशाख २०८१ शुक्रबार
राजनीति

एक साताभित्र दलका नेता छान्ने

काठमाडौं – नेपाली कांग्रेसले एक साताभित्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदबारमा शनिबार भएको प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकले बुधबारभित्र दलको नेता चयन गर्ने निष्कर्ष निकालेको हो।

‘फागुन १५ वा १६ गतेभित्र कांग्रेसले संसदीय दलको नेता चयन गरिसक्छ,’ केन्द्रीय सदस्य एवं सांसद मीनबहादुर विकले भने, ‘पार्टीले निर्वाचन समिति गठन गर्छ । त्यसले नै दलको नेता छनोट प्रक्रिया अघि बढाउने छ।’

प्रतिनिधितर्फ ६३ सांसद रहेको कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह आकांक्षी छन् । गुटगत आधारमा प्रतिनिधिसभाको टिकट र समानुपातिक सांसद् छनोट गरेको कांग्रेसभित्र सभापति देउवा स्पष्ट बहुमतमा छन् । देउवाको पक्षमा मात्र ३६ सांसद भने नेता रामचन्द्र पौडेल (सिंह) निकट २४ मात्र छन् । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समुह निकट भनिएका तीन सांसद गगनकुमार थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरीको मत पनि देउवालाई परे ३९ हुनेछ। 

दलको नेता चयनपूर्व कांग्रेसले आइतबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकले संसदीय दलको विधान पारित गर्ने छ । प्रतिनिधि र राष्ट्रियसभा संसदीय दलको संयुक्त बैठकले दलको विधानलाई परिमाजन गरेपनि केन्द्रीय समितिले त्यसलाई अनुमोदनपछि मात्र कार्यान्वयनमा आउने छ।

२०४८ सालको संसदीय दलको विधानलाई नै निरन्तरता दिएको कांग्रेसले संवैधानिक व्यवस्था बाहेक अन्य विषयमा हेरफेर नगरेको विकले जानकारी दिए । ‘२०४८ को पार्टी संसदीय दलको विधानलाई आधार बनाएर केही संवैधानिीक विषय परिर्माजन भएका छन्,’ उनले भने । कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभाको छुट्टाछुट्टै दलको नेता चयन गर्ने छ । राष्ट्रियसभामा कांग्रेसका १३ सांसद छन्। 

कांग्रेसको आपत्ति

कांग्रेस संसदीय दलको संयुक्त बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकारले असंवैधानिक ढंगबाट राष्ट्रियसभाका तीनजनाको नाम र्फिता लिएर नयाँ सिफारिस गरेको आरोप लगाएको छ । संविधानको संरक्षक राष्ट्रपतिलेसमेत असंवैधानिक सिफारिस स्वीकृत गरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ। 

संविधानको सीमाअनुसार अघिल्लो सरकारले सिफारिस गरेका नाम स्वीकृत गर्नु पर्ने ठहर गरेको हो । ‘संविधान बमोजिम साविक मन्त्रिपरिषद्ले सिफारिस गरी राष्ट्रपतिले अनुमोदन गर्ने तीनजना राष्ट्रियसभा सदस्यको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन नगरी अर्को नयाँ सरकारको असंवैधानिक प्रस्ताव ग्रहण गर्दै अनुमोदन गरेको घटनाप्रति नेपाली कांग्रेस संसदीय दलको बैठक गम्भीर आपत्ति व्यक्त गर्दछ,’ विकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको रक्षक राष्ट्रपतिबाट संविधानको पूर्ण पालना गरी असंवैधानिक निर्णय तत्काल सच्चाउन जोडदार माग गर्दछ।’

बैठकले संबैधानीक व्यवस्थाअनुसार सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले तीन तहको निर्वाचन सम्पन्न गराई संविधान कार्यान्वयन गराउन सफल भएको भन्दै सबैलाई धन्यवाद दिएको छ। 

प्रकाशित: १३ फाल्गुन २०७४ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App