८ वैशाख २०८१ शनिबार
समाज

नवौं पटक हात्तीपाईले विरुद्धको औषधि खुवाउन शुरु

बागलुङ- जिल्लामा दुई लाख ५७ हजारलाई हात्तीपाईले विरुद्धको औषधि खुवाईने खुवाउन शुरु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले बागलुङ बजारको समिट चोककमा एक कार्यक्रमको आयोजना गरी हात्तीपाईले विरुद्ध अभियान शुरु गरेको हो। हात्तीपाईले रोग उन्मुलन कार्यक्रम अन्तर्गत जिल्ला यो वर्ष नबौं पटक यो औषधि खुवाउन लागिएको हो । साविकको पश्चिमाञ्चलका १६ जिल्लामध्ये बागलुङ सहित चार जिल्लामा यो कार्यक्रम जारी छ। बागलुङमा हात्तीपाईलेको प्रकोप ९ प्रतिशत रहेकोमा अहिले १.७ प्रतिशतमा झरेको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्नीसियन अनन्त न्यौपानेले बताए । ‘हामी करिब लक्ष्य नजिक पुगेका छौं,’ उनले भने,‘यस वर्ष सबै जनालाई औषधि खुवाउन सकियो भने अर्को वर्ष कार्यक्रम सञ्चालन गर्नुपर्दैन।’

बागलुङमा यो अभियान सम्पन्न गर्नका लागि औषधि खुवाउन दुई हजार एक सय १३ जना स्वास्थकर्मी र स्वयंसेवक आठ सय ९७ केन्द्र तोकिएको छ । बागलुङ सदरमुकाम भित्र ८० स्थानमा बुथ राखेर औषधि खुवाईने जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । क्यूलेक्स नामक लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग निवारणका लागि फागुन १२, १३ र १४ गते बागलुङ जिल्लाको ४ नगरपालिका ६ गाउँपालिकामा वडा वडामा यो औषधि खुवाउन शुरु गरिएको  जिल्ला जनस्वास्थ्य कार्यालयका चुडामणी कँडेलले जानकारी दिए । हात्तीपाईलेको औषधिले कुनै हानी नगर्ने भएकाले निर्धक्क भएर औषधीको सेवन गर्न धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरीटेन्डेन्ट डा. सागर राजभण्डारीले आग्रह गरे।

‘यो औषधिले कुनै हानी गर्दैन भन्ने प्रमाणि भैसकेको छ,’ उनले भने,‘त्यसैले निर्धक्क भएर सबैले औषधि खानुपर्छ। खाना खाएपछि मात्रै औषधि सेवन गर्नुपर्छ।’ हात्तीपाईले रोग लागेपछि हुने हाईड्रोसिलको मात्रै केही उपचार सम्भव भए पनि खुट्टा सुन्निने लगायतका समस्या देखिन थालेपछि उपचार सम्भव नभएको उनको भनाई थियो। ‘अहिले औषधि सेवन नगर्दा जीवनभरलाई अपाङ्ग बन्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने,‘हात्तीपाईले लाग्ने नदिनु नै यसको रोकथाम हो । यो रोग लागेपछि उपचार गर्न सकिदैन ।’ माईक्रो फाईलेरिया नामक जिवाणुबाट लाग्ने यो रोग जिवाणु शरिरमा प्रवेश गरेको २० वर्ष अवधीसम्म पनि नदेखिन सक्ने भएकाले औषधि खानुको विकल्प नभएको उनले बताए।

हात्तीपाईले रोगको जीवाणु शरिरमा भएकालाई औषधि सेवनपछि सामान्य वान्ता हुने, घुमाउने समस्या हुनसक्ने उनको भनाई छ । ‘यदि तपाईको शरिरमा हात्तीपाईलेको जिवाणु छ भने हल्का घुमाउने, वान्ता हुने जस्तो सामान्य समस्या देखिन सक्छ,’ उनले भने,‘यदि त्यस्तो समस्या भयो भने औषधिले असर गर्यो भन्ने होईन औषधिले जिवाणु मार्यो भनेर बुझ्नुपर्छ।’  विगतमा आठ वर्षसम्म अभियान सञ्चालन गर्दा पनि लक्ष्य अनुसार औषधि खुवाउन नसकिएका कारण पाँच वर्षमा सकिने अभियान ९ वर्षसम्म लम्बिएको जिल्ला जनस्वाथ्य कार्यालयका वरिष्ठ जनस्वास्थय प्रशासक दीपकप्रसाद तिवारीले बताए। ‘यो अभियान पाँच वर्षमै पूरा हुनुपर्थ्यो, यहाँ कागजमा धेरै देखिने तर औषधी सेवन कम भएको कारण नवौं वर्षसम्म आईपुगेको छ,’ उनले भने,‘यस पटक अभियान सफल भयो भने हाम्रो लक्ष्य पूरा हुन्छ ।’ विगतको समस्या दोहोरिन नदिन अहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने व्यवस्था मिलाईएको उनले बताए।

प्रकाशित: १२ फाल्गुन २०७४ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App