७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाली राष्ट्रिय क्रिकेट टोली आज जिम्बाव्बे जाँदै

काठमाडौं – जिम्बाव्बेमा यही फागुन २० गते बाट आयोजना हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार (आज) राति ११ बजे दुवई हुँदै जिम्बाबे प्रस्थान गर्दैछ।

नेपाली टोलीको बिदाइ शुक्रबार नै भइसकेको छ। अघिल्लो हप्ता नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता बन्दै नेपाल र नेपालीको शीर उच्च बनाएको नेपाल आज सोही मनोवलका साथ जिम्बाबे प्रस्थान गर्दैछ। प्रतियोगिताको समूह बीमा रहेको नेपालले जिम्बाव्बे,अफगानस्तान, स्कटल्याण्ड र हङकङसंग प्रतिस्पर्धा गर्नेछ।

नेपालले आफ्नो पहिलो खेलमा फागुन २० गते बलियो टोली आयोजक जिम्बाव्बेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। त्यस्तै नेपालले दोस्रो खेलमा फागुन २४ गते स्कटल्याण्ड, तेस्रो खेलमा फागुन २६ गते अफगानस्तान र अन्तिम खेलमा फागुन २८ गते हङकङसँग खेल्नेछ।

प्रतियोगिताको समूह एमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन्। दुवै समूहका शिर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् भने समूहको पुछारमा रहने २ टीम डिभिजन २ मा झर्नेछन्। डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ।

नेपाली टोलीलाई सरकारले शुक्रबार तीन/तीन लाख र मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनही एक/एक लाख रूपैयाँ प्रदान गर्दै नेपाली टोलीको बिदाई गरेका थिए।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिमको उपकप्तानमा ज्ञानेन्द्र मल्ल छन्। त्यस्तै अन्य खेलाडीहरुमा सन्दीप लामिछाने, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी र  शक्ति गौचन रहेका छन्। यस्तै, बिनोद भण्डारी, सिद्धान्त लोहनी, सुनिल धमला, किशोर महतो बैकल्पिक खेलाडीका रुपमा टीममा छन्।

 

प्रकाशित: १२ फाल्गुन २०७४ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App