८ वैशाख २०८१ शनिबार
समाज

किताब नदेखी वार्षिक परीक्षाको तयारीमा

रुकुम - पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन्।

आठबीसकोट नगरपालिका– २ स्यालाखदीस्थित ज्ञानोदय मावि कक्षा १० का भूपेन्द्र विष्टले पनि शैक्षिक सत्रको अन्त्यमा हुने वार्षिक परीक्षा आउन एक महिनाभन्दा कम समय हुँदासम्म ऐच्छिक भूगोल र शिक्षालगायत किताब पाएका छैनन्।

यहाँका प्रायः सबै सामुदायिक विद्यालयका विद्यार्थीको त्यही समस्या छ । वर्षिक परीक्षा दिने समय नजिकै आए पनि आफूहरुले अहिलेसम्म नयाँ किताब देख्नसम्म नपाएको ज्ञानज्योति मावि गोतामकोटका विद्यार्थीको गुनासो छ । “किताब ल्याइदिनका लागि बारम्बार विद्यालयमा कुरा गरेको हुँ”, कक्षा १० की छात्रा रमिता यरीले भनिन्, “हामीले अनिवार्य नेपाली, स्वास्थ्य तथा जनसंख्या र ऐच्छिक भूगोल र शिक्षा किताब अहिलेसम्म पनि पाएका छैनौँ ।” आफूहरुले किताब नै नदेखेर परीक्षा दिने तयारी गरिरहेको उनीहरुको भनाइ छ।

गाउँमा रहेका विद्यालयमा किताब र पढाइसमेत नभएपछि केही विद्यार्थी पढ्नका लागि सदरमुकाम मुसीकोट आएका छन् । परीक्षा आउनलाग्दा समेत आफ्नो विद्यालयमा किताब नपुगेपछि आफूहरु कोठा भाडामा लिएर तीन महिनाका लागि ट्युसन पढ्न सदरमुकाम आउन बाध्य भएको विद्यार्थी सन्दीप केसीले बताए।

जिल्ला शिक्षा कार्यालयले विद्यार्थी अनुपातमा किताब खरिद गर्न प्राप्त रकम नदिँदा सबै विद्यार्थीलाई नयाँ किताब पुर्याउन नसकिएको शिक्षकको भनाइ छ । केही नयाँ र केही पुराना किताब गरेर पढाइ सञ्चालन भने गरिरहेको ज्ञानज्योति माविका शिक्षक लालबहादुर पुनले बताए । गत वर्ष पनि यहाँका प्रायः सबै सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाएका थिएनन्।रासस
 

प्रकाशित: १२ फाल्गुन २०७४ ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App