७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद्मा थारु प्रतिनिधित्व ‘सन्तोषजनक’

दाङ – कमलरीबाट मुक्त भएपछिको राजनीतिक यात्राले दाङकी शान्ता चौधरीलाई पहिलो संविधानसभामा सभासदको हैसियतमा उभ्याइदियो । संविधान निर्माण जिम्मेवारी बोकेर एमालेबाट २०६४ सालमा संविधानसभामा प्रवेश गरेकी शान्ताले त्यसको ‘जस’ भने पाउन सकिनन् । कारण पहिलो संविधानसभा संविधान निर्माण गर्न नसकेरै विघटन भइदियो । पहिलो संविधानसभामा समानुपातिक कोटाबाट सभासद बनेकी शान्ता दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाको साबिक निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि कांग्रेसकी सुशीला चौधरीबाट पराजित भइन्। 

२०७० मा उनले भोगेको पराजयको पीडालाई मंसिरको निर्वाचनले बिर्साइदिएको छ । उनी समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य चुनिएकी छिन् । शान्ता थारु समुदायबाट सांसदमा दोहोरिएकी एमाले नेत्री हुन्।

पहिलो संविधानसभा, २०६४ मा निर्वाचित ईन्द्रजित थारु पनि दाङबाट पुनः सांसदमा दोहोरिएका थारु समुदायका अर्का प्रतिनीधि हुन् । पहिलो संविधानसभामा कांग्रेस नेता खुमबहादुर खड्कालाई पराजित गरेका थिए उनले । पहिलो संविधानसभा विघटन भएपछि उनी एकाएक संसदीय व्यवस्थाको खारेजी अभियानमा होमिए । तत्कालीन एकीकृत नेकपा माओवादीबाट विभाजित मोहन वैद्य समूहको केन्द्रीय नेता बनेका उनी दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा निर्वाचन बहिष्कारवादी बनेका थिए । वैद्य समूहसँग चिढिएर पुनः माओवादीमै फर्किएका रामबहादुर थापासँग ईन्द्रजित पनि जोडिए । थापासँगै माओवादी फर्किएका उनलाई फलीफाप नै भयो । माओवादीबाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका उनी जिल्ला क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भए। 

नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी राप्ति अञ्चलमै कांग्रेसबाट निर्वाचित एकमात्र सांसद हुन् । दाङ क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित डिल्ली यो प्रदेशमा कांग्रेसका चुनाव जित्ने एक्ला हिरो मात्रै हैनन्, लगातार दोस्रोपटक सांसदको माला पहिरिने थारु नेता पनि हुन् । दोस्रो  संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सभासद चुनिएका डिल्ली यसपटक वामगठबन्धनलाई चिरेर निर्वाचित भए।  

कांग्रेसकै पार्वती डिसी चौधरी पनि थारु समुदायबाट लगातार दोस्रोपटक सांसद बनेकी नेत्री हुन् । दोस्रो संविधानसभा सदस्यमा उनी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित भइन् । अहिले उनी समानुपातिकअन्तर्गत जनजाति कोटामा प्रतिनिधिसभा सदस्य छिन्।  

थारु समुदायका एक माओवादी नेताले त चुनावी जितमा ह्याट्रिक नै गरेका छन् । बर्दियाका माओवादी नेता सन्तकुमार चौधरी पहिलो संविधानसभा (२०६४) मा निर्वाचित सदस्य भए । दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी विजयी भए । यसपटक उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।

थरुहट तराईपार्टी नेपालबाट दोस्रो संविधानसभामा समानुपातिक सभासद बनेकी गंगा थारु यसपटक एमालेबाट प्रतिनिधिसभा सदस्य बनेकी छिन । थरुहट आन्दोलनबाट राजनीतिक यात्रा थालनी गरेकी उनि समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी हुन्। 

दोहोरिएका मात्र हैनन, यसपटक यो प्रदेशबाट १६ जना सांसद थारु समुदायबाट चुनिएका छन् । यसलाई थारु समुदायको ठूलो उपलब्धिका रुपमा विश्लेषण् गर्छन् थारु नेताहरु । १६ मध्ये ५ जना प्रतिनिधिसभा र बाँकी प्रदेशसभा सदस्य छन् । सबैभन्दा बढी एमालेबाट थारु समुदायका तीनजना प्रतिनिधिसभा सदस्य चुनिएका छन् । मेटमणि चौधरी, शान्ता चौधरी र गंगा थारु यो प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट चुनिएका छन् । यी तीनैजना दाङका हुन् । शान्ता र गंगा दोहोरिएका सांसद हुन् भने मेटमणि पहिलो पटक सांसद बनेका हुन् । थारु समुदायका ५ जना एमालेबाट प्रदेशसभा सदस्य चुनिएका छन् । बर्दियाकी कृष्णी थारु, दाङकी धमकली चौधरी, नवलपरासीका बैजनाथ थारु, रुपन्देहीका तुलसीप्रसाद चौधरी र बर्दियाका कविराम चौधरी एमालेबाट चुनिएका प्रदेशसभा सदस्य हुन् । बर्दियाकी कृष्णि पाँच नम्बर प्रदेशको उपसभामुख बनेकी छिन्।  

यसैगरी थारु समुदायका एकजना माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका  छन् । बर्दियाका सन्तराम चौधरी माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा चुनिएका यो प्रदेशका थारु नेता हुन् । यस्तै सोही पार्टीबाट तीनजना थारु नेता प्रदेशसभा सदस्य बनेका छन् । माओवादीबाट दाङका ईन्द्रजित थारु, बर्दियाका दीपेश चौधरी र बर्दियाकी लौटी चौधरी प्रदेशसभा सदस्य बनेका हुन्। 

यसैगरी कांग्रेसबाट पार्वती डिसी चौधरी मात्रै यो प्रदेशबाट प्रतिनिधिसभा सदस्य बनेकी थारु नेत्री हुन् । कांग्रेसबाट थारु समुदायका तीनजना  प्रदेशसभा सदस्य बनेका छन् । दाङका डिल्लीबहादुर चौधरी र रुपन्देहीकी पुष्पा थरुनी र बर्दियाका भुवनेश्वर चौधरी कांग्रेसबाट प्रदेशसभा सदस्य हुन्। 

प्रतिनिधिसभा र प्रदेशसभामा थारु समुदायको यो प्रतिनिधित्वलाई थारु नेताहरुले सन्तोषजनक भनेका छन् । थारु समुदायमा आएको चेतनाले यो नतिजा आउन सकेको  प्रदेशसभा सदस्य ईन्द्रजित थारु बताउँंछन् । उनले भने, ‘२०४६ पछि हाम्रो समुदायमा राजनीतिक चेतनाको विकास हुँदै आयो र पछिल्लो चुनावी नतिजा हेर्ने हो भने थारु समुदायबाट प्रतिनिधि र प्रदेशसभामा विभिन्न पार्टीबाट भएको प्रतिनिधित्वलाई सन्तोषजनक मान्नुपर्छ।’ 

अहिलेको संसद्मा थारु समुदायको प्रतिनिधित्वलाई थरुहट आन्दोलनको एउटा माग कार्यान्वयका रुपमासमेत हेरिएको छ । उक्त आन्दोलनको माग संसद्मा थारुहरुको प्रतिनिधित्वसमेत थियो । ‘अहिले थारु सांसदहरुको संख्याले थरुहट आन्दोलनको एउटा अजेन्डा पूरा गरेको भन्न सकिन्छ,’ यो आन्दोलनकी अगुवामध्येकी गंगा थारुले भनिन्, ‘थारुहरुको प्रतिनिधित्व अहिले एकदमै राम्रो भएको छ।’ 

दुईतहका संसद्मा थारु समुदायको यो प्रतिनिधित्व थारु समुदायमा आएको ठूलो परिवर्तन मात्रै हैन, कमलरी, कमैयाका लागि पनि यो सहभागिता ऊर्जा बनेको पूर्वकमलरी तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी बताउँछिन् । अहिले पाँच नम्बर प्रदेशबाट प्रतिनिधिसभा सदस्य शान्ता र पाँच नम्बर प्रदेश उपसभामुख कृष्णी थारु पूर्वकमलरी हुन् । ‘कमलरी दासताबाट मुक्त भइसकेपछि अब के गर्ने भन्ने अन्योलमा रहेका पूर्वकमलरी बहिनीहरुलाई हाम्रो यो प्रतिनिधित्व ऊर्जाका रुपमा रहन्छ नै,’ शान्ता भन्छिन्।  

प्रकाशित: १२ फाल्गुन २०७४ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App