कथा

मुन्नी

शनिबार, १२ फागुन २०७४, ०८ : ०४ पोस्तक श्रेष्ठ

‘स्कुल हिँड्न हतार भइसक्यो । ल भात पस्किदेऊ,’ गुरुप्रसाद मास्टरसापले आफ्नी पत्नीलाई अह्राए ।
‘के हो यो, आलु मात्र ? केही हरियोपरियो छैन ?’ दाल र आलुको भुजिया मात्र देखेर मास्टरसापको रिसको पारो चढ्यो ।‘आज मुन्नी आइन त । धन्न अस्ति लिएको आलु अलिकति मात्रै बाँकी रहेछ।’

मुन्नी अर्थात् १७–१८ वर्षकी सब्जीवाली । कहिले बिहानै त कहिले अपराह्नतिर सागसब्जीको टोकरी बोकेर गाउँ घुम्छे । मुन्नी आइन भने गाउँमा धेरैको घरमा तरकारी पाक्दैन, जसरी आज गुरुप्रसाद मास्टर–सापको घरमा पाकेन । दाल र नुन–खुर्सानीसँग भात निल्नुपर्ने हुन्छ । बिहान र बेलुकी गाउँका मानिस मुन्नी कहिले आइपुग्छे भनेर घाँटी तन्काएर बाटो हेरिरहेका हुन्छन् ।नवयुवाको खेतीपातीतिर रुचि छैन । उनीहरू बरु युरोप, अमेरिका, खाडी मुलुक, मलेसिया, कोरियालगायत देश हानिन्छन् । खेती गर्नेले पनि न समयमा बीउबिजन पाउँछन्, न मल नै।

गाउँ पस्ने बाटोको छेउमा पूर्वी तराईतिरबाट एक मेहनती किसान परिवार आएर बस्यो । पति रजाम र पत्नी आविदा, दुवैको उमेर ४० वरिपरि । उनीहरुका दुई सन्तान थिए– मुनिरा र रज्जाक । रज्जाक सानै थियो । । मुनिरा जसलाई बाबुआमाले मुन्नी भन्थे, जो किशोरावस्थाकी थिई, कान सुन्न र बोल्न सक्दिनथी ।
त्यो किसान परिवारले गाउँलेको केही बाँझो जमिन भाडामा लिएर तरकारीखेती गर्न थाल्यो । तरकारी खेती राम्रो भयो । उनीहरुले बाटोको छेउमा तरकारीको घुम्ती पसल पनि राखे । पसल पनि राम्रैसँग चल्थ्यो । त्यसमाथि रजाम र आविदाले पालैपालो टोकरीमा तरकारी बोकेर गाउँमा बेच्न लैजान्थे । उनीहरू जान नपाएका बेला मुन्नी तरकारी बेच्न जान्थी । गुरुप्रसाद मास्टरसाप, पण्डित नित्यानन्द, जगन्नाथ प्रधान–बा, प्रहरी चौकी सबै ठाउँमा उनीहरूको तरकारी पुग्थ्यो।

तरकारीको टोकरी टाउकोमा राखेर हिँड्न थालेको केही वर्षमै मुन्नी हलक्कै बढी । हेर्दाहेर्दै शरीरमा यौवनका उभार देखिन थाले । वक्षस्थल पुष्ट भएर चोली टिमिक्क कसियो । छिनेको कम्मर । कलाकारले मेहनत गरेर बनाएका मूर्तिका जस्ता नितम्ब । हेर्दाहेर्दै मुन्नी तरुनी भई । मुन्नीको शरीरमा यौवनको मादकता भरियो । खासमा मुन्नी काली छ । गोरो रङलाई सुन्दरताको मानक मान्ने हो भने मुन्नी राम्री होइन । कसैले जिस्काउँदा उसको गाला सिन्दुरपोतेजस्तो लाल हुन्थ्यो ।मुन्नी व्यापार पनि राम्रो गर्थी । बाबुआमा गाउँ घुम्दा टोकरीको आधाजसो पनि बिक्री हुँदैनथ्यो । तर, मुन्नी तरकारी बेच्न जाँदा टोकरी रिŒयाएरै फर्किन्थी । तरकारीको हारालुछजस्तै हुन्थ्यो । मुन्नी हिसाबमा पनि टाठी थिई । व्यापारमा बाठी पनि रहिछे भनेर बाबुआमा मक्ख पर्थे।

पण्डितको घरमा अहिले अरु नै कोही बस्छ । त्यहाँ पनि मुन्नी कहिलेकाहीँ पुग्छिन् । चिन्नेहरू कसैले टिठ गरेर केही खान दिन्छन् । नचिन्नेहरूले पागल आइमाई कहाँबाट आई भनेर लघार्छन् । अलि पर पुगेर बिचरी फेरि फर्किन्छन् । यो क्रम चलिरहन्छ । बस्, चलिरहन्छ ।

पहिले पण्डित नित्यानन्द मुन्नीलाई छुँदैनथे । मुन्नीले तरकारी जोखिसकेपछि पोलिथिनको झोलामा राखेर अलक्क भुइँमा राखिदिन्थी र पण्डितले पनि पैसा भुइँमै राखिदिन्थे । मान्छे छुन नहुने तर त्यही मान्छेले उत्पादन गरेको तरकारीचाहिँ खान हुने उनको धार्मिक आडम्बर बुझिनसक्नुको थियो । तर, उनको धर्मको खोल उत्रँदै गयो । उनी मुन्नीको हात छुन लालायित हुन थाले । उनका आँखा टोकरीका काउली, बन्दातिर भन्दा मुन्नीका अवयवतिर बढी जान थाले । मुन्नीको गलाबाट चुनरी चिप्लिँदा खुला हुने वक्षस्थलको अन्तरालमा पण्डितको नजर छेड्लाजस्तो गरी गढ्न थाल्यो।

गुरुप्रसाद मास्टरसाप पनि अहिले तरकारीको मोलतोल गर्न आफैँ तम्सन थाले । जब बाहिर मुन्नी आएको चाल पाउँथे, उनी श्रीमतीलाई कुनै निहुँले भित्र पठाउँथे र आफू बाहिर निस्कन्थे । मुन्नीका मादक वक्षमा आँखा गाड्दै बन्दा र फर्सीलाई मुसार्थे । ट्युसन पढ्न आउने अल्लारे ठिटा पनि मास्टरसापको आँखा छलेर मुन्नीलाई खराब नियतले हेर्थे । मुन्नीप्रति चौकीका सिपाहीले पनि कुनियत दर्शाउँथे । असईसाप हुँदा भने कुनै सिपाही मुन्नीको नजिक ढिम्किनै पाउँदैनथ्यो । मुन्नीसँग जिस्किने, छिल्लिने, तरकारीको झोला समात्दा हातै समात्ने एकलौटी अधिकार मानौँ असईसापले मात्र पाएका थिए ।अरु त अरु नाति–नातिनी भइसकेका विधुर जगन्नाथको सुषुप्त भइसकेको पुरुषत्व पनि मुन्नीलाई देख्दा फेरि चलमलाउन थालेको थियो । पञ्चायतकालीन प्रधानपञ्च भएकाले सबैले उनलाई प्रधान–बा भन्थे, सबैले सम्मान गर्थे।

मुन्नी तरकारी लिएर आँगनमा छिर्नेबित्तिकै बूढा परेवालाई दाना खुवाउने बहानामा बाहिर निस्कन्थे र मुन्नीको सौन्दर्यको चक्षुपान गर्थे । ससुराको हर्कत देखेर बुहारीहरू लाजले घुम्टो ओढी घरभित्र पस्थे ।
अरू जवान अल्लारे ठिटाहरूको त कुरै नगरौँ । भमराहरू फूलवरिपरि मडारिएजस्तै मडारिन्थे । मुन्नीको घुम्ती पसलवरिपरि साइकल कुदाइरहन्थे । मुन्नीका बाबुआमालाई वास्ता थिएन, छोरीले जो व्यापार राम्रो गरिरहेकी थिई।

रजाम–आविदाको सबै कामधन्दा ठीकै चलिरहेको थियो । अकस्मात् मुन्नीको रजस्वला बन्द भयो । आमा आविदाले यसलाई सुरुमा सामान्य रूपमा लिइन् । आफ्नो रजस्वला अनियमित हुने, कहिले दुई–चार दिन छिटै हुने र कहिले दुई–चार दिन ढिला हुने भएकाले छोरीको पनि त्यस्तै भएको होला भन्ने सोचिन् ।
हप्ता हुँदै महिना बित्यो । मुन्नीको मासिक धर्म सुचारु भएन । बरु ऊ त मोटाउन थाली । गाला भुक्क भयो । कम्मर सोलोडोलो हुन थाल्यो । स्तनको आकार बढेर चोली फुट्लाजस्तो भयो । खानामा अरुचि हुन थाल्यो । पिसाब फेर्न पनि तारन्तार जान थाली । पहिलाजस्तो हाँस्ने, रमाउने गर्न छाडी । काम गर्दा पनि छिटै गल्न थाली । विवाह नभएकी छोरी गर्भवती भएको स्पष्ट लक्षण देखिन थाल्यो । आमा आविदा आत्तिन थालिन्।

बाबुआमाले मुन्नीलाई लिएर अस्पताल गए । अब भने गर्भ बसेको पक्का भयो । बाबु रजामले रिसको झोँकमा मुन्नीलाई मरणासन्न हुने गरी कुटे । कसले यस्तो ग¥यो भनेर सोध्दा गाउँतिर देखाउँथी मुन्नी । बिचरा बोल्नै सक्दिनथी, कसको नाम लेओस् ?भोलिपल्ट रजाम र आविदाका लोग्ने–स्वास्नी गाउँतिर निस्किए । मास्टरसापको घरमा गएर रोकिए । उनका कुनै विद्यार्थीले इज्जत लुटेछन् कि भन्ने प¥यो । टयुसन पढ्न आउने सबै केटालाई जम्मा गरेर मास्टरसापले हकारे । केटाहरू सबैले अनभिज्ञता प्रकट गरे । त्यसपछि मेरा विद्यार्थीहरू त्यस्ता छैनन् भनेर मास्टरसापले उनीहरुलाई पठाए।

उनीहरु पण्डितका घरतिर गए । उनी तुलसीको मठमा पानी चढाउँदै थिए । ‘राम राम के सुन्नुप¥यो ? यस्ती लाटी बोल्न नसक्नेको इज्जत कसले लुट्यो होला ? त्यसको नर्कवास होस्,’ पण्डितले सहानुभूति प्रकट गरे ।रजाम र आविदा त्यसपछि प्रहरी चौकी गए । कुनै सिपाहीले पो मुन्नीलाई पेट बोकायो कि हजुर भनेर असईसँग हात जोडे । असईले उल्टै हप्कीदप्की गरे । प्रहरीलाई दोष लगाए थुनिदिने धम्की दिए । उनीहरू भयभीत भएर फर्किए।

त्यसपछि उनीहरू प्रधानबाको घर गए । प्रधानबाको रबैया पनि उस्तै थियो । ‘यो कहाँ–कहाँ जान्छे ? को–कोसँग लसपस गर्छे ? मैले के जानू ?’ उनको भनाइ थियो ।आशाको अन्तिम बिन्दु गाउँमा एउटा आमा–समूह थियो । आमा समूहले गाउँमा मदिरा नियन्त्रण गर्ने, झै–झगडा मिलाउने, सुलह गराउने काम गथ्र्याे । गाउँमा होहल्ला गर्नेहरू आमा समूहको नाम सुन्नेबित्तिकै थर्कमान हुन्थे । प्रहरीले पनि आमा समूहको काममा दखल गर्दैनथ्यो । मुन्नीका बाबुआमा आमा समूहकी अध्यक्ष दुर्गादेवीको घर पुगे ।दुर्गादेवीले अर्को हप्ता गाउँका सबै पुरुषलाई भेला हुन उर्दी जारी गरिन् । रजाम–आविदाले मुन्नीलाई लिएर आए । ठूलो भीड जम्मा भयो ।

‘ल मुन्नी, देखा, यिनीहरूमध्ये कसको गर्भ तेरो पेटमा छ ?’ दुर्गादेवीले मुन्नीलाई भनिन् ।
मुन्नीले भीडतिर हेरी । दोहोर्याइतेहर्यार्ई नजर घुमाई । त्यहाँ नभएको सङ्केत गर्दै मुन्टो हल्लाई ।
भीडमा प्रहरी चौकीका सबै सिपाही थिए । असईसाप थिएनन् । उनी जिल्ला प्रहरी कार्यालय गएका रहेछन् । कानुनका पालक, जनताका सुरक्षामा समर्पित प्रहरीका हाकिमलाई शंका गर्ने कुरै भएन । प्रधानबाका छोरा सबै थिए तर प्रधानबा थिएनन् । उनलाई हनहनी ज्वरो आएकाले ओछ्यान परेका रे ! त्यस्ता बुज्रुक, नातिनातिनी भइसकेका बूढा, सबैले मानेका व्यक्तित्वबाट त्यस्तो कुकर्म कसरी होला र ?

गुरुप्रसाद मास्टरसापसँग ट्युसन पढ्न आउने सबै केटा थिए तर मास्टरसाप भने थिएनन् । त्यही दिन शिक्षा कार्यालयमा जरुरी काम परेको भनेर सदरमुकाम गएका रे ! ज्ञानगुन बाँड्ने, चेतनाको ज्योति छर्ने र नैतिकता सिकाउने शिक्षकबाट त्यस्तो अनैतिक कार्य कसरी भयो होला र ?पण्डित नित्यानन्द एउटा जजमानको घरमा एकाह लगाउनुपर्ने भएकाले नआएका रे ! त्यस्ता बाल–ब्रह्मचारी, धर्मग्रन्थका ज्ञाता, पाप–धर्म के हो भन्ने राम्रो जानेका व्यक्तिबाट सीधै नर्क जाने काम भयो होला र ? नर्कमा भकभक उम्लिएको तातो तेलमा डुब्ने रहर यिनलाई होला र ?

आमा समूहले यी अनुपस्थित व्यक्तिबारे एकरति पनि शंका गरेन । रजाम र आविदा मुन्नीलाई लिएर निराश हुँदै फर्किए । बाटोमा मुन्नी पण्डितको घरअघि पुगेपछि टक्क अडिई । पण्डितको घरको ढोका बन्द थियो । बाहिरबाट ताल्चा मारेको थियो । मुन्नी मास्टरसापको घरअगाडि पनि रोकिई र आँगनमा के ओर्लिएकी थिई, मास्टर्नी कुचोले ठटाउँछु भनेर जाई लागिहालिन् । प्रधानबाको घरको गेट नै खुलेन । चौकीमा पनि मुन्नी अडिई । सिपाहीले गेटबाट भित्र छिर्नै दिएनन् । थकित अनि बदनामीले लज्जित उनीहरू आफ्नै कर्मलाई दोष दिँदै फर्किए।

त्यसको केही दिनपछि मुन्नीको परिवार एकाएक हरायो । उनीहरूको घुम्ती पसल खुलेन । झुपडीको ढोका ढप्किएको थियो । न त उनीहरूलाई कसैले तरकारीको टोकरी बोकेर हिँडेको देखे । कहाँ गए थाहा भएन । उनीहरूको बारीमा फलेका तरकारी त्यत्तिकै पाकेर कुहिन थाले । कोही गाउँलेले टिपे । केही गाईवस्तुले खाए । उनीहरूको कच्ची घरको भित्तामा भ्वाङ पर्न थाल्यो । आँगनमा लेउ पर्यो । पालीको छाना खस्यो । पछि त जमिनवालाले त्यो झुपडी पनि भत्काएर त्यहाँ एउटा पक्की घर ठड्याए । त्यसपछि मुन्नीको परिवारको अवशेष केही बसेन । गाउँलेले मुन्नीलाई बिर्सिए । रजामको परिवार कुनै समय त्यहाँ बस्थ्यो भन्ने कुरो उनीहरूको मानसपटलबाट विलीन भयो।समय बित्दै जाँदा त्यो गाउँ बिस्तारै एउटा बजारमा विकसित भयो । पहिला लडिया, साइकल चल्ने कच्ची सडक पिच भएर मोटरसाइकल र गाडी गुड्न थाले । सडक दायाँबायाँ सटर भएका पक्की घर खडा भए । पसल थपिँदै गए । बिजुली आयो । फोन र इन्टरनेट चल्यो।

पुराना थुप्रै मानिस बजारले विस्थापित भए । धेरै नयाँ मानिस आए । प्रधानबा परलोक भए । असईसापको सरुवा भइसकेको थियो । पण्डित देवघाटतिर गए । उतै आश्रममा बस्छन् रे ! मास्टरसाप पनि ‘रिटायर्ड’ भए । रोगले थलिएर ओछ्यान परेका छन्।बजारका रूपमा विकसित भएको त्यो गाउँमा अहिले एउटी पागल महिला देखिन्छिन् । जगल्टा परेको कपाल, फाटेको, मयलले कटकटिएको लुगाले बेरिएको अर्धनग्न शरीर लिएर उनी सडकमा ओहोरदोहोर गर्छिन् । उनीसँग हमेसा एउटा टोकरी हुन्छ।

टोकरीमा ढुंगा र टिनको बट्टा यस्तै के–के हुन्छन् । कहिले चौकीको अघि पुग्छे त कहिले प्रधानबाको घरको गेट खटखटाउँछिन् । मास्टरसापको घरको आँगनमा पनि घरीघरी पुग्छिन् । मास्टर्नी सदाझैँ कुचो लिएर जाइलाग्न छाड्दिनन् । पागल महिला आफ्नो टोकरी सम्हाल्दै भाग्छिन् ।पण्डितको घरमा अहिले अरु नै कोही बस्छ । त्यहाँ पनि उनी कहिलेकाहीँ पुग्छिन् । चिन्नेहरू कसैले टिठ गरेर केही खान पनि दिन्छन् । नचिन्नेहरूले पागल आइमाई कहाँबाट आई भनेर लघार्छन् । अलि पर पुगेर बिचरी फेरि फर्किन्छन् । यो क्रम चलिरहन्छ । बस्, चलिरहन्छ ।





यसमा तपाईको मत

अन्य समाचार

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

Ncell Footer Ad