७ वैशाख २०८१ शुक्रबार
राजनीति

भागबन्डा पुर्‍याउन फुटाइएका थिए मन्त्रालय

काठमाडौं – २०४८ सालको आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रालयको संख्या २१ थियो । केही समयपछि उनैले मन्त्रालय संख्या २१ बाट २३ पुर्‍याए । अनि त मन्त्रालय फोडेर संख्या बढाउने परम्परा नै भयो। राजनीतिक भागबन्डा पुर्‍याउन र आफ्ना मान्छेलाई मन्त्री बनाउन मन्त्रालय फुटाउने काम गरियो।

कोइरालाले २०४८ सालमै मन्त्रालयको संख्या २१ बाट २३ पुर्‍याएका थिए । यो संख्या हालका प्रधानमन्त्री केपी ओली यसअघि प्रधानमन्त्री हुँदा ३१ पुग्यो । अहिले भने मन्त्रालयको संख्या घटाएर १८ मा झार्ने निर्णय भएको छ । नेपालको संविधानले केन्द्रमा मन्त्रीको संख्या बढीमा २५ हुने सीमा निर्धारण गरेपछि मन्त्रालयको संख्या घटाउनुपर्ने बाध्यता आएको हो। 

कोइरालाले सुरु गरेको मन्त्रालय संख्या बढाउने अभ्यासलाई शेरबहादुर देउवाले पनि निरन्तरता दिए। देउवाले संयुक्त सरकारको नेतृत्व गर्दा २०५३ मा मन्त्रालयको संख्या २६ पुर्‍याए । यो परम्परालाई प्रधानमन्त्री हुँदा माधव नेपालले पनि कायम राखे । २०६६ मा प्रधानमन्त्री भएपछि नेपालले मन्त्रालयको संख्या २८ पुर्‍याए । नेपालले ऊर्जा र सिँचाइलाई अलगअलग मन्त्रालय बनाएका थिए । यसैगरी उद्योग र वाणिज्य मन्त्रालय पनि उनका पालामा अलगअलग भए । यही परम्परालाई निरन्तरता दिँदै ओलीले साढे दुई वर्षअघि मन्त्रालयको संख्या ३१ पुर्‍याएका थिए । उनले खानेपानी तथा सरसफाइ र पशुविकास  नामका दुई नयाँ मन्त्रालय थपेका थिए।

नेपालको संविधान कार्यान्वयन गर्न मन्त्रालयको संख्या घटाउनैपर्ने बाध्यता भएपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले काशीराज दाहालको नेतृत्वमा प्रशासन पुनर्संरचना समिति गठन गरेको थियो । यसैगरी शेरबहादुर देउवा नेतृत्व सरकारले  तत्कालीन सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको संयोजकत्वमा अधिकारसम्पन्न प्रशासनिक पुनर्संरचना समिति बनाएको थियो । दुवै समितिले केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय राख्न देउवा नेतृत्वको सरकारलाई सुझाव दिएका थिए। देउवा सरकारले प्रदेशमा रहने मन्त्रालयको संख्या निर्णय गरे पनि केन्द्रमा रहने मन्त्रालयबारे  निर्णय गरेन। 

प्रशासन पुनर्संरचना समितिका संयोजक  दाहालले भने, ‘हामीले १५ वटा मन्त्रालय राख्न सिफारिस गरेका थियौं । त्यसमा केही हेरफेर गरी  वर्तमान सरकारले मन्त्रालयको संख्या १८ बनाएको सुनेका छौं ।’ यतिसम्मलाई उनले स्वाभाविकै बताए। उनले भने, ‘१८ सम्म राख्नु स्वाभाविक हो तर भागबन्डा पुर्‍याउनकै लागि ३१ पुर्‍याउनु उचित थिएन।’

 

प्रकाशित: १२ फाल्गुन २०७४ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App