७ वैशाख २०८१ शुक्रबार
समाज

‘सरकारले किनिदिए मात्रै उद्योग चल्छ’

काठमाडौं –वर्ष दिनअघि पुनर्जीवन पाएको नेपाल औषधि लिमिटेडले पछिल्लो पटक उत्पादन थालेको सिटामोल सरकारले किनिदिएमात्र उद्योग सञ्चालन गर्न सकिने अवस्था छ । हाल सरकारले वार्षिक झन्डै १३ करोड ट्याब्लेट सिटामोल निजी क्षेत्रबाट खरिद गर्दै आएको छ।

यही परिमाणमा सरकारले औषधि लिमिटेडसँग औषधि किनिदिने हो भने उद्योगले खुवाउनुपर्ने तलब खर्च धानिन्छ । सात वर्षदेखि बन्द यो उद्योग करिब १० महिनाअगाडि सञ्चालनमा आएको हो । पुनर्संञ्चालनमा आएपछि जीवनजल उत्पादन सुरु गरेको उद्योगले बुधबारदेखि सिटामोट उत्पादन पनि थालेको छ।

उद्योगलाई दीर्घजीवन दिन सरकारले यहाँबाट उत्पादित सिटामोल किनिदिए मात्र पुग्ने लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदीले बताए । ‘सरकारले हाल किन्दै आएको सिटामोल औषधि लिमिटेडबाट किनिदिएमा हाम्रो सम्पूर्ण तलब धानिन सक्छ,’ सुवेदीले भने, ‘सिटामोल र जीवनजलजस्ता औषधि खरिद गरेमा यो उद्योगलाई राम्रोसँग सञ्चालन गर्दै प्रतिस्पर्धामा लैजान सकिन्छ।’

हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले वार्षिक १३ करोड ट्याब्लेट सिटामोल निजी औषधि उद्योगबाट खरिद गर्दै आएको छ । विभागले वार्षिक १ करोड प्याकेट जीवनजल पनि खरिद गर्दै आएको छ । यी दुवै औषधि नेपाल औषधी लिमिटेडबाट सरकारले किन्ने प्रक्रिया मिलाउन छलफल भइरहेको सुवेदीले बताए । उनका अनुसार यस उद्योगले उत्पादन गर्ने सम्पुर्ण औषधि सरकारले खरिद गर्ने विषयमा समझदारी पत्र (एमओयू) तयार पार्न सामग्री व्यवस्थापन शाखा (एलएमडी) सँग छलफल भइरहेको छ । ‘यसो हुन सकेमा सरकारलाई औषधि खरिद गर्न सजिलो हुनेछ भने उद्योग पनि सजिलै सञ्चालन हुनेछ’, सुवेदीले शुक्रबार नागरिकसँग भने।  

बजारमा निजी क्षेत्रका औषधि उद्योगको दरो उपस्थितिका कारण लिमिटेडलाई प्रतिस्पर्धा गर्न सजिलो छैन । यस्तो अवस्थामा लिमिटेडलाई दीर्घजीवन दिन सरकारले निःशुल्क वितरण गरिने औषधि यसैसँग किन्न सक्छ । हाल स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रबाट खरिद गरेर वार्षिक १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको औषधि निःशुल्क वितरण गर्दै आएको छ।

औषधि लिमिटेड पुनः सञ्चालनमा आइसकेपछि यसको बजार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको सुवेदीले बताए । उद्योग सञ्चालन गर्न सरकारी सहयोगको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले थपे, ‘औषधि बिक्रीवितरण गर्न कस्तो संयन्त्र बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’ कम्पनीले अब जुकाको औषधि उत्पादन गर्ने योजना बनाएको छ । त्यसपछि क्रमशः अरु औषधि पनि उत्पादन गर्ने योजना रहेको सुवेदीले बताए।

सुवेदीका हाल सिटामोलको परीक्षण उत्पादन भइरहेको जानकारी दिँदै भने, ‘परीक्षणका लागि ८० हजार ट्याब्लेट सिटामोल उत्पादन गर्छौं । यसबाट आएको प्रतिक्रियापछि आगामी सातादेखि व्यावसायिक उत्पादन थाल्छौं ।’ परीक्षण अवधिमा सम्पूर्ण मापदण्ड पूरा भएपछि व्यावसायिक उत्पादन सुरु हुनेछ । सिटामोलको व्यावसायिक उत्पादन सफल भएपछि अन्य औषधि उत्पादन थाल्ने कम्पनीको योजना छ ।
नेपाल औषधि लिमिटेडले विगतमा १ सय २० प्रकारका औषधि उत्पादन गथ्र्यो । उद्योग बन्द भएको सात वर्षपछि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा वैशाखमा पुनः सञ्चालनमा ल्याइएको हो।

त्यति बेला दुई वर्षभित्र आधारभूत आवश्यकताका सम्पूर्ण औषधि उत्पादन गर्ने र कम्पनीलाई नाफामा लैजाने योजना सार्वजनिक गरिएको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उद्योगलाई जिएमपी मोडलमा परिवर्तन गरी सञ्चालनमा ल्याइएको हो । २०२९ सालमा स्थापना भएको यो उद्योगले २०६६ सालमा उत्पादन बन्द गरेको थियो । उद्योग बन्द गर्नुको प्रमुख कारण विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार जिएमपी मोडलमा जान नसक्नु थियो । औषधि उत्पादन गर्ने उपकरण र कोठा पूर्णतः कीटाणुरहित हुने तथा हावा छिर्न नसक्ने अवस्थालाई जिएमपी मोडल भनिन्छ ।
 

प्रकाशित: १२ फाल्गुन २०७४ ००:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App