५ वैशाख २०८१ बुधबार
खेल

पुलिस र आर्मीद्वारा उपाधिमा दाबेदारी प्रस्तुत

मकवानपुर – विभागीय टोली नेपाल पुलिस र साविकको विजेता त्रिभुवन आर्मी क्लबले टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन्। शनिबार हुने फाइनल खेलमा दुवै टिमले आ–आफ्नो सबल पक्ष देखाउँदै उपाधी जित्ने दाबी गरेका हुन्।

शुक्रबार भएको पत्रकार भेटघाटमा यसबर्षको सर्वाधिक उपाधि बिजेता आर्मी र सशक्त टिम पुलिस क्लबले उपाधि जित्ने होडबाजी नै गरे। यसबर्ष मोफसलमा भएको ५ वटा गोल्डकप जितेको आर्मी उपाधी थप्ने सुरमा छ भने एउटा उपाधी जितेको पुलिसले दोश्रो उपाधी जित्ने तयारीमा लागेको देखिन्छ। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले प्रतिद्वन्दी टिम सशक्त भएकाले फाईनलमा थोरै अवसर पाउने र त्यो सदुपयोग गर्न कुनै कसर नराख्ने बताए। हेटौंडा गोल्ड कपको ट्रफि जित्दै छैठौं उपाधी हत्याउन आफुहरु बिशेष तयारीमा रहेको बताउँदै उनले पुलिसको लयलाई आफुहरुले परास्त गर्ने बताए। ‘फाइनलमा खेल्ने खेलाडीमा छुट्टै उमङ्ग, जोश, रणनीति र तयारी हुन्छ,’ उनले भने, ‘हामीहरु आक्रामक ढंगले फुटबल खेल्छौ र पाएको मौका सवै सदुपयोग गर्दै च्याम्पियन बन्छौं।’

पुलिसका प्रशिक्षक अनन्तराज थापाले दाङ्गमा आर्मीलाई जितेको स्मरण गर्दै उपाधी जित्नेमा विश्वस्त रहेको बताए। स्टार खेलाडीले भन्दा टिमवर्कले राम्रो प्रतिफल दिईरहेको बताउँदै उनले प्रभावकारी र समन्वयकारी टिम भएकाले आर्मीलाई हराउने दाबी गरे। फाईनलका लागि सशक्त गृहकार्य गरिसकेको बताउँदै उनले आर्मीको रणनीतिलाई निष्कृय पारि सजिलै जित्ने बताए।

आर्मीका टिम क्याप्टेन हेम तामाङ भने उपाधी जित्नेमा पूर्ण विश्वस्त देखिएनन्। गतबर्ष भन्दा चौर मर्मत नभएको र सानो भएकाले खेल्न कठिनाई रहेको भन्दै खेल ५०–५० रहेको बताए। निर्धारित ९० मिनेटमा निर्णय नभए १०–१० मिनेट समय थप्दा खेलाडीले थप कला र क्षमता प्रस्तुत गर्न पाउने र दर्शकले मज्जा लिन पाउने उनको भनाई छ। प्रतिउत्तरमा पुलिसका प्रशिक्षक थापाले ट्राईब्रेकरमा जाँदा खेलाडीले आराम गर्ने अवसर पाउने भएकाले समय थप्नु उपयुक्त नभएको बताए। ‘तपाईहरुले आर्मीलाई ट्राईब्रेकरमा जित्छौं भन्ने हो?’ पत्रकारको प्रश्नमा प्रशिक्षक थापाले भने ‘हामी ९० मिनेटमै जित्छौ।’ पुलिसका टिम क्याप्टेन भरत खवासले भने उपाधी जित्ने राम्रो अवसर र सम्भावना रहेको प्रतिक्रिया दिए।

सेमिफाइनलमा पुलिसले ‘ए’ डिभिजन संकटा क्लबलाई २–० गोलले रोक्दै फाईनलमा प्रवेश गरेको हो। उता, पहिलो संस्करणको विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई सेमिफाइनलमा १–० गोलअन्तरले पराजित गरि आर्मी फाईनलमा पुगेको थियो।

पहिलो खेलमा सुदुरपश्चिमलाई टाइब्रेकरमा हराएको आर्मीले निर्धारित समयमा २ गोल गरेको छ भने १ गोल खाएको छ। पहिलो खेलमा हेटौंडाको विजय युथलाई ०–३ गोलअन्तरले जितेको पुलिसले ५ गोल गरेको छ भने गोल खाएको छैन।

गणितीय आधारमा हेर्दा आर्मी भन्दा पुलिस प्रतियोगितामा बलियो देखिन्छ। तर, यसबर्ष आर्मीले मोफसलमा भएको ५ वटा गोल्डकपको उपाधी जित्दै सर्वश्रेष्ठ टिमको रुपमा उभ्याएको छ। यता, पुलिसले यसवर्ष एउटा प्रतियोगिताको उपाधी कब्जा गर्दै आफ्नो छरितो प्रस्तुतीलाई तिखार्ने अवसरको रुपमा हेरेको छ।

यसवर्ष पहिलो पटक आर्मी र पुलिस मोफसलमा भएको नकाउट फुटबलको फाईनलमा भिड्दैछन्। यसकारण दुवै टिमले प्रतियोगिता जितेर आफुलाई शक्तिशाली प्रस्तुत गर्नुपर्ने अवसरको रुपमा लिएको देखिन्छ। आर्मीका भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की फाईनलमा जादु देखाउन सक्ने खेलाडी हुन् भने पुलिसका नीरकुमार राई, सुमन लामा र अभिषेक रिजाल सशक्त खेलाडी हुन्। यसवर्ष आर्मीले बीरगञ्जको विशाल स्मृति, सताक्षी गोल्डकप, मेची नेत्रालय गोल्डकप, खप्तड गोल्डकप र सिमरा गोल्डकप जितेको छज्ञ। पुलिसले भने यसवर्ष आहा रारा गोल्डकप मात्र जितेको छ। यसवर्ष आर्मी मोफसलको ८ वटा प्रतियोगिताको फाईनलमा पुग्न सफल भएको थियो भने पुलिस ४ वटा प्रतियोगिताको मात्र फाईनलमा पुगेको थियो।

सुमन भोम्जन स्मृती प्रतिष्ठानले हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा गत शनिबारदेखि प्रतियोगिता सञ्चालन गरिरहेको छ। प्रतियोगितामा प्रथम हुने टिमले उपाधीसहित नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ५ विधा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवर्ड र उत्कृष्ट प्रशिक्षकले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने छन् । नकआउटका आधारमा सञ्चालन भईरहेको प्रतियोगिताको हरेक खेलको म्यान अफ दी म्याचले नगद ५ हजार रुपैंया समेत प्राप्त गर्नेछन्। ‘ए’ डिभिजन क्लबहरु थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, आर्मी, सशस्त्र प्रहरीको एपीएफ, संकटासहित ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिता सञ्चालन खर्च करिब ६० लाख रुपैंया हुने आयोजकले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०७४ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App