coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसका प्रवक्ताकाे माइन्युटमा चलेको परिवार

सुख खोज्दै भौँतारिनेहरु अक्सर दुःखको भवसागरमै डुबिरहेका हुन्छन् तर खुशीको खोजीमा रहेकाहरुलाई भने रमाउन कुनै ठूलो बहाना चाहिन्न । साना–साना उपलब्धिले नै खुसी हुने आधार तयार पारिदिन्छन् । लामो यात्रामा कुनै विफलता आइलागे तिनले निराश पनि बनाउँदैनन् । विश्वप्रकाश शर्मा र कविता शर्माको दम्पतिको जीवन दर्शन पनि खुशीको खोजी नै हो । ‘सुखको खोजी कम गर्ने, खुशीको खोजी बढी गर्ने ध्येय हाम्रो हुन्छ,’ शर्मा दम्पतिको एकै स्वर छ, ‘हाम्रो खुशी जीवनको मूल मन्त्र नै यही हो ।’

‘सुखका लागि भव्य बंगला, गाडी, टन्न बैंक ब्यालेन्सको आवश्यकता हुनसक्छ,’ विश्वप्रकाश भन्दैथिए, ‘तर हाम्रो ध्येयमा त्यो छैन । हामी खुशीको आधार खोजिरहेका हुन्छौं । त्यसैले हामी कहिले संगीत साधनामा रमाउँछौँ, कहिले छोराछोरीको हाँसोमा पुलकित बन्छौँ । खुशी हुनलाई कुनै विलासी चिजको आवश्यकता नै पर्दैन ।’ उनले भने जस्तै उनको घर पुग्ने जोकोहीले पनि देख्न सक्छ । घरमा विलासिताका सामग्री छैनन् भने पनि हुन्छ तर पुस्तकका थाक, हार्मोनियम, गितारले आगन्तुकले सुरुमै स्वागत गर्छन् । घरको प्रवेशद्वारमै सानो मन्दिर र चिटिक्क परेको फुलबारी, उनीहरुको खुशी परिवारको शोभा बनेर बसेका छन् ।

 १६ वर्षभन्दा लामो दाम्पत्य जीवनमा शर्मा जोडीको अनुभव छ, ‘दाम्पत्य जीवन कसैले कसैका लागि गर्ने त्याग होइन, दुवैले एकअर्काका लागि गर्ने भरथेग हो । कोही पछाडि उभिने अनि कसैले अघिबाट डो¥याउने होइन, सँगै उभिने यात्रा हो ।’ दुवैलाई लाग्छ, उनीहरुको यही बुझाईले उनीहरुको यात्रा रमाइलो मात्र छैन, उत्साहले पनि भरिएको छ । यो जोडीलाई नजिकैबाट चिन्नेहरुका अनुसार ‘पारिवारिक खुशी र उत्साह’ यो परिवारको सबैभन्दा ठूलो सम्पत्ति हो । ‘उनीहरुको परिवार यो समाजकै उदाहरणीय छ,’ विश्वप्रकाशका मित्रसमेत रहेका धुलाबारी क्याम्पसका प्रमुख पुष्पराज पौडेल भन्छन्, ‘हरेक विषयमा हुने आपसी समझदारी, एकअर्काप्रतिको उच्च सम्मानकै कारण परिवारमा यस्तो सम्भव हुनसक्छ ।’

विजेताभन्दा उत्साही मुद्रामा  ‘भोट अफ थ्यांक्स’ दिँदै हिँड्ने उनी एक्ला पराजित उम्मेद्वार थिए । चुनाव जित्नुलाई मात्रै राजनीतिज्ञको ‘अन्तिम सफलता’को रुपमा अथ्र्याउन थालिएको समाजमा शर्माको यो उदाहरणीय शैलीलाई धेरैले अनुकरणीय पनि माने ।

नेपाली कांग्रेस पार्टीका प्रवक्ता विश्वप्रकाश  राजनीतिमा फरक व्यवहार–संस्कारका कारण चिनिएका र प्रशंसा बटुलेका नेता हुन् ।  राजनीतिमा अरु धेरैले नगर्ने वा गर्नै नचाहने काम शर्माले गर्दै आएका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा होस् वा यसपटकको प्रतिनिधि सभा निर्वाचन, दुवै निर्वाचनमा उनी पराजित बने । यी दुवै नतिजामा विश्वप्रकाशको मुहारमा हारको निराशा क्लेस पनि नभेटिँदा उनका विरोधीसमेत चकित छन् । झापा १ बाट चुनाव लडेका उनले दुवैपटक विजेता उम्मेद्वारलाई पहिलो माला आफैँले लगाइदिए । विजेताभन्दा तीव्र गतिमा गाउँ–गाउँ पुगे । आफूलाई मतदान गर्ने र नगर्ने सबै मतदातालाई धन्यवाद र आभार प्रकट गरे । विजेताभन्दा उत्साही मुद्रामा  ‘भोट अफ थ्यांक्स’ दिँदै हिँड्ने उनी एक्ला पराजित उम्मेद्वार थिए । चुनाव जित्नुलाई मात्रै राजनीतिज्ञको ‘अन्तिम सफलता’को रुपमा अथ्र्याउन थालिएको समाजमा शर्माको यो उदाहरणीय शैलीलाई धेरैले अनुकरणीय पनि माने ।

प्रेम अनि विवाह

जसरी राजनीतिमा फरक व्यवहार र संस्कारले विश्वप्रकाश चिनिएका छन्, उनको प्रेमजीवनको शुरुआत पनि यस्तै फरक शैलीमै शुरु भएको थियो । यो २०५६  को कुरा थियो । गृहजिल्ला झापामै छँदा कविता शर्मासँग भएको चिनजान विस्तारै मित्रतामा बद्लिँदै थियो । मित्रता पनि यति गाढा हुँदै थियो कि त्यसले उनीहरुलाई प्रेमी–प्रेमिका बनाइदिने सम्भावनाको नजिकै पु¥याउँदै थियो । त्यही क्रममा विश्वप्रकाशले कवितालाई बिपी मेलमिलाप दिवसमा आयोजना भएको एउटा कार्यक्रममा सहभागी हुन निम्ता दिए । कार्यक्रम सकियो, नजिकैको रेस्टुराँमा खाजा खाने सल्लाह भएपछि दुवै त्यतै लागे ।

‘संसारमा सबैभन्दा मीठो के लाग्छ ?’ मेनु पल्टाउँदै विश्वप्रकाशले सोधे ।  कविताको उत्तर सरल थियो, ‘चाउमिन ।’

‘मलाई चाहिँ बोलीवचन मीठो लाग्छ,’ हाँस्दै उनले सुनाए ।

गफ अघि बढ्दै थियो । कविताले सोधिन्, ‘तपाईं एक्लै कि काठमाडौंमा परिवारसहित बस्नुहुन्छ ?’

‘म र मेरी श्रीमती !’

‘श्रीमती ?’ कविता छक्क परिन् ।

‘हो, त्यस्तै बाध्यतामा परेर हतारमा बिहे गर्नुप¥यो, कसैलाई खबर पनि गर्न पाइनँ,’ विश्वप्रकाश भन्दै गए, ‘तर हेर्नुस् मैले एउटा ठूलै र अप्रिय निर्णय लिनुपर्ने भयो । त्यसैले तपाईंको सल्लाह चाहियो ।’

भर्खरै बिहेको कुरा सुनेकी कविता अचानक डिभोर्सको कुरा पनि सुनेपछि झनै छक्क परिन् । ‘त्यस्तो निर्णय गर्नुअघि एकपटक तपाईंहरु एकपटक अझै राम्ररी सोच्न सक्नुहुन्छ,’ कविताले सुझाव दिइन्, ‘एकअर्कालाई अझै बुझ्न सक्नुहुन्छ ।’

 कविताबाट ‘खोजेको’ सल्लाहका बारे उनले भन्दै गए, ‘बिहे त गरेँ तर उनीसँग मेरो कुरा मिल्ला जस्तो लागेन । म राजनीतिमा लागेको मान्छे, घरमा मान्छेको आवतजावत बाक्लो भइरहन्छ तर उनी त्यो मन पराउँदिनन् । कामको सिलसिलामा राति अबेर घर फर्कँदा झर्को मान्छिन् । आमा बिरामी हुनुहुन्छ । उहाँको स्याहार हामीले गर्ने हो तर उनी यसका लागि पनि राजी हुँदिनन् । मैले यसरी हिँडेको, काममा लागेको उनलाई मन पर्दैन । यसरी त हामी दुवैको जिन्दगी नचल्ने भयो । त्यसैले हामी डिभोर्स गर्दैछौं । तपाईं के सल्लाह दिनुहुन्छ ?’

भर्खरै बिहेको कुरा सुनेकी कविता अचानक डिभोर्सको कुरा पनि सुनेपछि झनै छक्क परिन् । ‘त्यस्तो निर्णय गर्नुअघि एकपटक तपाईंहरु एकपटक अझै राम्ररी सोच्न सक्नुहुन्छ,’ कविताले सुझाव दिइन्, ‘एकअर्कालाई अझै बुझ्न सक्नुहुन्छ ।’ खाजा खाइसक्दै गर्दा विश्वप्रकाशले कवितालाई भने, ‘मेरो घरमा गएर एकपटक तपाईंले उनलाई सम्झाइदिनु भए ठूलो सहयोग हुने थियो ।’

 त्यसअघिका भेटमा सधैँ सबैलाई उत्साही बनाउने, मञ्चमा आत्मविश्वासपूर्वक आफ्ना कुरा राख्ने विश्वप्रकाशले सहयोगका लागि गरेको आग्रह कविताले टार्न सकिनन् । उनको घर गएर पत्नीलाई एकपटक सम्झाइदिन राजी भइन् । घर पुग्नासाथ विश्वप्रकाशले बोलाए ‘अञ्जना !’ सायद उनको पत्नीको नाम अञ्जना रहेछ, कविताले मनमनै लख काटिन् ।

भित्र भाउजुहरु थिए । त्यहाँ पनि सोधे ‘खै त अञ्जना ?’ कसैले कुनै जवाफ दिएनन् । फेरि सोध्दा चाहिँ भाउजुले भनिन्, ‘को अञ्जना खोज्नु भा बाबु ?’ कुराकानीको क्रममा कविताले थाहा पाइन्, घरमा अञ्जना नामकी कोही महिला थिइनन्, विश्वप्रकाशको बिहे पनि भएको थिएन तर वाकपटुताका धनी उनले कुरा मिलाएर विषय अन्तै मोडे, परिवारमा कविताको चिनजान गराए । केहीबेरपछि उनलाई पु¥याउन जाँदा फेरि उही कुरा निकाले, ‘हेर्नु न तपाईं आएको थाहा पाएर होला अञ्जना कोठाबाहिर नै निस्किनन् !’ कविता र विश्व दुवै मज्जाले हाँसे ।

कवितालाई उनको गन्तव्यमा पुर्याएर फर्किने बेलामा विश्वप्रकाशले भने, ‘मैले आज भनेका सबै कुराहरु एकपटक राम्ररी सोच्नुहोला अनि अञ्जनाको ठाउँमा तपाईं आफू भए के गर्नुहुन्थ्यो भन्नुहोला है !’

यसपछि कविता र विश्वप्रकाश बिदा भए । ‘म अचम्ममा परेकी थिएँ’, झापाको धुलाबारीस्थित घरमा कविताले सुनाइन्, ‘केहीअघि बिहेको, डिभोर्सको कुरा गरेको मान्छेले अहिले घुमाएर मेरो विचार सोध्दै हुनुहुन्थ्यो ।’ तर, कवितालाई सकारात्मक उत्तर दिन कुनै असजिलो थिएन किनभने दुवैको चिनजानले बिस्तारै प्रेमको रुप लिँदैथियो । दुवै एकअर्कालाई मन पराउन थालेका थिए । मुख खोल्ने कुरामा विश्वप्रकाशले घुमाएरै सही, काम फत्ते गरिसकेका थिए । साँझमा विश्वले फोन गरे, ‘तपाईंले के सोच्नुभयो कुन्नि ! हामी परिवारका सबै जना भोलि बिहान मनकामना दर्शनका लागि जाँदैछौँ । त्यो टिममा तपाईं पनि भए परिवारका सबै सदस्य हुन्थ्यौं हामी ।’ कविताले पनि जवाफ दिइन्, ‘हुन्छ, म पनि जान्छु मनकामना !’ कविताका अनुसार मनकामना मन्दिरमा पुगेर १ हजार ८ वटा बत्ती बालेर परिवारका सबै सदस्यको उपस्थितिमै उनीहरुले वैवाहिक सम्बन्ध कायम गर्ने प्रण गरेका थिए । २०५८ फागुन २३ मा उनीहरु प्रणयसूत्रमा बाँधिए । ५१ जना जन्तीको साथमा र बाजागाजा बेगरै उनीहरुको विवाहको संस्कार पूरा भयो ।

त्यसो त कविताका अभिभावकको चाहना छोरीले जागिरे ज्वाइँ पाए हुन्थ्यो भन्ने थियो । त्यसैले शुरुमै ‘हुनेवाला ज्वाइँ’ राजनीति गर्ने मान्छे भनेको सुन्दा बुबाआमा केही हच्किएका थिए तर कविताका दाइहरु, जो विश्वप्रकाशका साथी पनि थिए, उनीहरु भने खुशी थिए । ‘दाइहरुका कारण बुबाआमालाई सम्झाउन समस्या भएन,’ कविताले भनिन्, ‘मलाई उहाँको व्यवहारले, बोलीवचनले  प्रभाव पारेको थियो ।’ कविताले ठट्टा गरिन्, ‘जतिबेला उहाँ राजनीति गर्ने मान्छे हो भन्ने थाहा पाएँ, त्यसबेला हामी प्रेममा परिसकेका थियौँ ।’ विश्वप्रकाशले कविता रोज्नुको कारण उनको सरल र सबलपन नै भएको सुनाए । ‘सबै सरल सबल नहुन सक्छन्, सबै सबल सरल पनि नहुन सक्छन्,’ उनले भने, ‘यी दुवै गुण उनमा देखेँ ।’

रमाइलो घरसंसार

बिहे भएपछिको आठ वर्ष यो जोडी काठमाडौंमै रमायो । नर्सिङ पेसाकी कविता काम गर्थिन् । पूर्णकालीन राजनीतिक काममा विश्वप्रकाश व्यस्त हुन्थे । पत्रपत्रिकामा लगातारजसो लेखिरहने लेखबाट आउने पारिश्रमिकले घरखर्च चलिरहेको थियो । २०६१ मा छोरी जन्मिइन् । छोरीको आगमनपछि कविताले काममा भन्दा उनकै स्याहारमा आफूलाई व्यस्त बनाउँदै लगिन् । घरको सबै जिम्मेवारी आफूले लिएर पतिलाई राजनीतिक अभियानमा सहभागी हुन सजिलो बनाइदिइन् । छोरी स्कुल जाने भइसकेकी थिइन् । राजधानीको राम्रै स्कुल पढ्दैथिइन्, छोरी स्वीकृति । त्यहीबेला २०६६ सालमा शर्मा दम्पतिले जिल्ला फर्कने अठोट गरे । छोरीको पढाइ लगायतको दृष्टिले हेर्दा काठमाडौं नै ठीक थियो तर त्यहाँ बस्दाको आर्थिक पाटो, शर्माको राजनीतिक गतिविधि आदि कारणले जिल्ला फर्कनुपर्ने अवस्था बन्दै गएको थियो । काठमाडौंबाट जिल्ला फर्केपछि विश्वप्रकाश राजनीतिक काममा झनै व्यस्त रहे । ‘चार दिन रोटीलाई, तीन दिन पार्टीलाई’ भन्ने अभियान जिल्लाव्यापी बनाए । उनी यी काममा व्यस्त रहँदा कविताले घर सम्हालिन् ।

उनीहरुको घरमा कुनै संघसंस्थाको जस्तै बैठक पुस्तिका छ, जहाँ हरेक महिना पारिवारिक निर्णयहरुको माइन्युट हुन्छ । ‘हामी परिवारका सबै सदस्यले एकअर्काको कुरा टिपोट गरेर राख्छौं अनि हरेक महिनाको परिवारको बैठकमा पेस गर्छौं,’ विश्वप्रकाशले भने, ‘बैठकमा कमजोरीहरु सच्याउने निर्णय गरेपछि सच्याउँछौं ।’

 जसरी कविताले छोरीको जिम्मा लिएर पतिलाई जिम्मेवारी पूरा गर्न साथ दिइन्, छोरा हुर्किँदै गर्दा कवितालाई पनि विश्वले उस्तै ढंगको साथ दिए । कविता जेसिज अभियानमा लागेकी थिइन्, मेचीनगरमा लेडी जेसिज स्थापना हुँदै थियो । त्यहीबेला २०६९ मा छोरा शीर्षक जन्मिए । अभियानको अगुवाई गरेका कारण उनी नै संस्थापक अध्यक्ष बनिन् । उनी जेसिज गतिविधिमा व्यस्त रहँदा घरको सबै जिम्मेवारी विश्वले निर्वाह गरे । कविताले नेतृत्व गरेको लेडी जेसिज उदाहरणीय बन्यो, राष्ट्रिय रुपमा पुरस्कृत पनि भयो । अहिले भर्खरै कविता जेसिजको राष्ट्रिय सल्लाहकार छिन् । ‘हामी एकअर्काको सहयोगी बनेर रहेका छौं, रहने छौं,’ विश्वप्रकाशले भने, ‘एकअर्काको सफलतामा हामी रमाउने गर्छौं । यसले हामी र हाम्रो परिवारलाई सधैँ खुशी रहने ऊर्जा दिन्छ ।’

डेढ दशकभन्दा लामो सहयात्रा पूरा गरिसकेको शर्मा जोडीबीच कहिलेकाहीँ ठाकठुक पर्छ कि पर्दैन ? उनीहरुका अनुसार निश्चयै पर्छ । तर, आपसी गुनासो, रिस लगायतलाई व्यवस्थापन गर्ने सजिलो सूत्र छ उनीहरुसँग । उनीहरुको घरमा कुनै संघसंस्थाको जस्तै बैठक पुस्तिका छ, जहाँ हरेक महिना पारिवारिक निर्णयहरुको माइन्युट हुन्छ । ‘हामी परिवारका सबै सदस्यले एकअर्काको कुरा टिपोट गरेर राख्छौं अनि हरेक महिनाको परिवारको बैठकमा पेस गर्छौं,’ विश्वप्रकाशले भने, ‘बैठकमा कमजोरीहरु सच्याउने निर्णय गरेपछि सच्याउँछौं ।’

यही क्रममा पाँच वर्षअघिको एउटा बैठकको घटना उनले सम्झिए । बैठकमा छोरीको कुरा राख्ने पालो आयो । त्यसक्रममा छोरीले भनेकी थिइन्, ‘बाबाले आफ्नो कोट जहाँ बस्यो, त्यहीँ खोल्नुहुन्छ, यहाँको यो बानी मलाई मन परेन ।’ त्यस दिनदेखि आफूले त्यस्तो गल्ती नदोहो¥याएको उनले बताए । यस्तो शैलीले जस्तोसुकै ठूलो समस्या पनि परिवारमा शान्तपूर्वक हल गर्न सकिने उनको भनाइ छ । राजनीतिज्ञले कुनै न कुनै आयमूलक काम गर्नुपर्ने मान्यताका प्रखर पक्षपाती हुन्, विश्वप्रकाश । त्यसैले काठमाडौंमा उनले केही साथीसँग मिलेर ट्राभल व्यवसाय चलाएका छन् । पुख्र्यौली सम्पतिमा पाएको जमिनमध्ये केही बिक्री गरेर बिर्तामोडको मनकामना कलेज र केही बैंक तथा हाइड्रोमा सेयर पनि हालेका छन् ।

पार्टीको राष्ट्रिय जिम्मेवारी, कांग्रेसभित्र प्रभावशाली वाक क्षमताका नेता भएकाले विश्वप्रकाशलाई कुनै एउटा जिल्ला वा राजधानीमा मात्रै केन्द्रित हुने सुविधा छैन । कहिले मेची, कहिले महाकाली, कहिले हिमाल, कहिले तराई, कहिले विदेश गरिरहनुपर्छ । यति हुँदाहुँदै पनि उनले सम्झने केही विशेष दिनहरु छन्, जुन दिन उनी संसारको जुनै कुनामा पुगे पनि घर आइपुग्छन् । ‘बिहे भएको दिन, श्रीमती, छोरी र छोराको जन्मदिन, दसैँतिहारजस्ता चाडपर्वहरुमा म परिवारको साथमा हुन्छु, परिवारसँग ती दिनको आनन्द लिन्छु,’ विश्वप्रकाशले भने, ‘त्यसैले घरमा कति समय दियो भन्ने चिन्ता मेरो परिवारलाई हुँदैन ।’ उनका अनुसार परिवारलाई कति दिन समय दिइयो भन्ने भन्दा पनि आफू उपलब्ध हुँदा कसरी समय दिइयो भन्ने महŒवपूर्ण हुन्छ । ‘त्यसैले म जति उपलब्ध हुनसक्छु, त्यो समय सम्पूर्ण रुपले परिवारका लागि उपलब्ध हुन्छु,’ उनले भने, ‘त्यसैले हरेक वर्ष कतै न कतै परिवार घुम्न जाने, महत्वपूर्ण दिनहरुमा सँगै हुने गरिरहेका हुन्छौं ।’

यो जोडीको अर्को रमाइलो विशेषता पनि छ । विश्वप्रकाश गीतकार तथा संगीतकार पनि हुन् भने कविता गायिका । पतिले गीत लेखेर संगीत भर्छन्, कविता त्यसमा स्वर थप्छिन् । ‘त्यसैले हाम्रो पारिवारिक उत्पादनका रुपमा धेरै वटा गीत जन्मिएका छन्,’ विश्वले भने । अहिले जेसिजले देशव्यापी रुपमा बजाउने गीतहरु विश्वप्रकाशकै सिर्जना हुन् । उनीहरुकै संयुक्त प्रयासमा केही एल्बम पनि बजार पुगेका छन्, जहाँ देशका चर्चित गायक–गायिकाको स्वर छ । यति मात्रै होइन, झापामा यस्ता धेरै स्टेजहरु पनि छन्, जहाँ शर्मा दम्पति मात्रै होइन, उनीहरुका छोरीले पनि गीत गाएर दर्शक–स्रोताको मन जितेका छन् । राजनीतिकभन्दा धेरै सांगीतिक माहोल शर्मा परिवारको घरको अर्को विशेषता बनेको छ ।

राजनीतिक यात्रा

पञ्चायतविरोधी आन्दोलनमा सहभागी हुँदा कक्षा ९ मा पढ्दा–पढ्दै प्रहरी हिरासतमा पुगेका विश्वप्रकाश हिरासतबाट छुटेर फेरि स्कुल आइपुग्दा उनका गुरुहरुले जिस्क्याएका थिए– ओहो, हाम्रो विशु पनि अब नेता भयो !

 आफ्ना गुरुहरुको त्यही आशीर्वाद मिश्रित व्यंग्यलाई उनले वास्तविकतामा अनुवाद गरेर देखाइदिए । स्कुल इकाईको नेविसंघ सभापतिबाट शुरु भएको उनको राजनीतिक यात्रा नेविसंघको केन्द्रीय सभापति हुँदै यतिबेला पार्टी प्रवक्ताको रुपमा शिखरमा छ । यहाँबाट अघि बढेर पार्टीकै नेतृत्व गर्ने स्वाभाविक सपना उनीसँग नहुने कुरै भएन । 

२०४० सालमा धुलाबारी माविको कक्षा आठमा हुँदै उनी स्कुल नेविसंघ इकाईको सभापति थिए । त्यही क्रममा उनी आन्दोलनमा सहभागी हुन्थे, कहिले पक्राउ पर्थे, कहिले जोगिन्थे । स्कुलदेखि क्याम्पसका धेरै दिन प्रहरीसँगको लुकामारीमै बित्थे । ‘मुलुकमा स्वतन्त्रता चाहिएको त्यो बेला कुनै डरत्रासले केही प्रभाव पार्दैनथ्यो,’ शर्माले सम्झिए, ‘पञ्चायतविरुद्धको त्यो लडाईंमा हामी स्कुलदेखि नै जागरुक बनेका थियौं ।’ २०४३ मा एसएलसी पास गरेर मेची बहुमुखी क्याम्पस पुगेपछि पनि उनी कक्षाकोठामा सीमित भएनन् । आइए प्रथम वर्षमा हुँदा नै नेविसंघ क्याम्पस इकाईको सभापति बनेर सक्रियता बढाए ।

मेची क्याम्पसमा छँदाको एउटा रोचक प्रसंग उनी कहिल्यै भुल्दैनन् । त्यसबेला मेची क्याम्पस मात्रै होइन, मेची अञ्चलका सबैतिर वाम विद्यार्थीको दबदबा थियो । मेची क्याम्पसको स्ववियु निर्वाचनमा एउटा ‘रुटिन’ नै थियो । स्ववियु चुनाव हुने, नेविसंघ हार्ने अनि हारेको नेविसंघले विजेता अखिलसँग झगडा गरिहाल्ने । लामो समयदेखिको यो परम्परा उनकै नेतृत्वमा तोडियो । उनी इकाई सभापति थिए, स्ववियु चुनाव फेरि आयो ।

त्यसबेला पनि पहिलेका दुई दृश्य दोहोरिए, चुनाव भयो, नेविसंघ फेरि हा¥यो तर हारेको नेविसंघले यसपटक झगडा गरेन । बरु विजेता अखिलका सबै पदाधिकारी र सदस्यलाई बोलाएर नेविसंघले बधाई कार्यक्रम आयोजना ग¥यो । अबिर लगाइदिएर शुभकामना दियो । ‘तर, अखिलका विजेता साथीहरु कति संशकित थिए भने नेविसंघले बोलाएर केही गरि पो हाल्छ कि भनेर कार्यक्रमस्थल वरिपरि आफ्ना कार्यकर्ता परिचालन गरेका थिए,’ उनले पुराना दिन सम्झिए, ‘त्यो अस्वाभाविक थिएन । इतिहास नै त्यस्तै थियो । तर, त्यसयता त्यस्तो अप्रिय घटना कहिल्यै भएन ।’

स्कुल, क्याम्पस हुँदै उनी नेविसंघको जिल्ला सभापति बने । केन्द्रीय सदस्य, महामन्त्री र उपसभापति हुँदै केन्द्रीय सभापतिसम्म भए । जतिबेला उनी नेविसंघको केन्द्रीय सभापति थिए, त्यसबेला एउटा संगठन अर्कोसँग मित्रवत् सम्बन्धमा थिएनन् । उनैले अन्य विद्यार्थी संगठनहरुसँग छलफल र सहकार्यको शुरुआत गराएका थिए । यसबाहेक उनले यतिबेला गौरवपूर्वक सम्झना गर्ने अर्को विषय पनि छ । ‘स्कुलदेखि केन्द्रसम्म नेतृत्व गर्दा म कहीँ पनि निर्धारित समयभन्दा एक दिन पनि बढी पदमा बसिनँ,’ उनले भने, ‘निर्वाचित भएर कार्यकाल सात दिन बाँकी छँदै मैले नेविसंघको नेतृत्व हस्तान्तरण गरेको थिएँ ।’ 

सधैँको ‘एन्टी करेन्ट’ शैलीलाई उनले यस पटक पनि निरन्तरता दिए । चुनावमा वाम गठबन्धन हुँदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवादेखि अन्य हेभिवेट नेताहरुसमेत मुलुकमा ‘अधिनायकवाद’ आउने भन्दै भाषण गरिरहेका थिए ।

कांग्रेसभित्र सधैँ फरक काम गर्दै आएका उनले त्यसलाई सधैँ निरन्तरता दिँदै आएका छन् । २०४६ सालको परिवर्तनपछि नेपालका वामशक्तिले देशव्यापी रुपमा सांगीतिक अभियान चलाएर एक खालको तरंग मात्रै ल्याएनन्, ठूलो जनमतको बोली गीतमार्फत बोलिदिएर जनमत पनि बटुले । वाम पक्षले चलाएको यस्तो अभियानलाई कांग्रेस नेताहरु खिसी गर्थे । ‘गितार बोकेर हिँडेर, गीत गाएर राजनीति हुन्छ ?’ भन्दै उच्च तहका कांग्रेस नेता नै व्यंग्य गर्थे तर २०४७ मा पहिलोपटक विश्वप्रकाशकै नेतृत्वमा झापाबाट ‘प्रजातन्त्रका सुसेली’ अभियान शुरु गरे । कलाकारहरुसहितको टोलीले झापा मात्रै होइन, काठमाडौंका विभिन्न कलेज, प्रज्ञा प्रतिष्ठानसम्म पुगेर सांस्कृतिक अभियान चलाएको थियो । ‘बिर्सन्नौं हामी इतिहासका झरना, बगेका रगतका धाराले भन्ने मनीष प्रसाईंको युगीन गीत त्यहीबेला जन्मेको हो,’ शर्माले सम्झिए ।

२०६६ सालमा शर्मालाई केन्द्रीय सदस्यका रुपमा पार्टीभित्र चुनाव लड्न ठूलो दबाब थियो तर पहिले जरा बलियो पार्ने भन्दै उनी जिल्ला सभापति लड्ने निश्चयमा पुगे । कृष्णप्रसाद सिटौला, केशवकुमार बुढाथोकीदेखि तत्कालीन कांग्रेसको संस्थापन पक्षका सबै नेता विपक्षमा हुँदा उनी थोरै अन्तरमा पराजित बने । अहिले कांग्रेस कार्यकर्ताहरु उनलाई जिल्ला सभापतिमा हराउनु सिटौलाको राजनीतिक भूल भएको बताउँछन् ।

सधैँको ‘एन्टी करेन्ट’ शैलीलाई उनले यस पटक पनि निरन्तरता दिए । चुनावमा वाम गठबन्धन हुँदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवादेखि अन्य हेभिवेट नेताहरुसमेत मुलुकमा ‘अधिनायकवाद’ आउने भन्दै भाषण गरिरहेका थिए । तर, झापाको चुनावी मैदानबाटै उनले त्यस्तो सम्भावना नरहेको मात्रै बताएनन्, आफ्ना नेताहरुले त्यस्तो रोइलो गर्न छाड्नुपर्ने पनि बताए ।

चुनावमा कांग्रेस पराजित भएलगत्तै कांग्रेसका युवा नेताहरुमध्ये धेरैले पुराना नेताहरुले नेतृत्व त्याग्नुपर्ने बताए । त्यहीबेला पार्टी प्रवक्तामा मनोनित उनले ‘पार्टी एजले होइन, एजेन्डाले चल्ने’ भन्दै पुरानो नेतृत्वको बचाउ गरे । त्यसो त उनलाई यतिबेला चुनाव हारेर पनि सत्ता हस्तान्तरणको इच्छा नदेखाएका शेरबहादुर देउवाको सहयोगी बनेको आरोप छ । देउवाका गलत क्रियाकलापको रक्षक बनेको भन्दै आलोचना गर्नेहरुको संख्या पनि कम छैन तर उनी त्यस्ता आलोचनाहरुलाई आफूले स्वागत गर्ने बताउँछन् । ‘पार्टीका लागि उमेर नै सबैथोक होइन,’ उनी भन्छन्, ‘यदि कलिलो मष्तिष्कमा मलिलो एजेन्डा रहेछ भने उसलाई उमेरकै कारण निषेध गरिनुहुन्न तर उमेर पाको भयो भन्दैमा उमेरकै कारण पाखा लगाउनुपर्छ भन्ने पनि होइन ।’ 

प्रकाशित: ११ फाल्गुन २०७४ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App